सुनसान सामुदायिक विद्यालय

सुनसान सामुदायिक विद्यालय
सुन्नुहोस्

कर्णाली प्रदेशका सामुदायिक विद्यालय विद्यार्थीविहीन हुन थालेका छन् । त्यसको प्रमुख कारण भनेको निजी विद्यालयतर्फको आकर्षण र विद्यालय जाने उमेरका केटाकेटीसमेत कामधन्दाका लागि थातथलोबाट बाहिरिनु पनि हो । प्रदेश सदरमुकाम सुर्खेतमै समेत सामुदायिक विद्यालयमा विद्यार्थी कम छन्, छेउछाउका निजी विद्यालयमा भने खचाखच । राज्यले सामुदायिक विद्यालयको व्यवस्थापन र त्यसको गुणस्तरमा गरिरहेको बेवास्तामात्रै होइन, चरम लापरबाहीको उपज नै विद्यार्थी अभाव हो । सामान्यतः एउटा कक्षामा ४० जना विद्यार्थी राखेर पढाउने मान्यता हुन्छ । त्यसभन्दा ज्यादा भए दुइटा कक्षा बनाइन्छ ।

तर, यहाँ त विद्यालयभरिका सबै कक्षाका विद्यार्थीको संख्या पनि ४० नभएका विद्यालय एक÷दुई उदाहरण होइन, प्रशस्त छन् । प्रदेशभर ३० भन्दा कम विद्यार्थी भएका विद्यालय ९ सयको संख्यामा छन् । कतिपय विद्यालयमा शिक्षक र कर्मचारीभन्दा विद्यार्थी कम हुने अवस्था सिर्जना भएको छ । यस्तो प्रवृत्ति देशैभर पनि देखिँदा सरकारले विद्यालय गाभ्ने अभियान नै चलायो । हो, विद्यार्थी नै छैनन् भने त्यो उपाय ठीक हो । तर, थोरै भएकैले गाभ्दा र टाढाटाढा विद्यालय हुँदा भने गाउँगाउँमा कैयौं केटाकेटी विद्यालय शिक्षाबाट बञ्चित भइरहेका छन् । सक्ने र हुनेखानेले निजीमा पढाउने वा सदरमुकाम लगेर पनि पढाउने गर्दा विपन्न अभिभावकका बालबच्चालाई आधारभूत शिक्षाबाट बञ्चित हुने वातावरण सिर्जना भएको छ । संविधानले शिक्षालाई निःशुल्क र त्यसलाई राज्यको दायित्व मानेको छ । आधारभूत शिक्षाको मौलिक हकबाट बालबालिकालाई बञ्चित गरिनु भनेको राज्यमा फेरि अशिक्षामात्रै होइन, निरक्षरता बाँकी राख्नु पनि हो ।

शिक्षाका हकमा यो हदसम्मको लापरबाही र गैरजिम्मेवारीपन राज्यले देखाउनु हुँदैन । कर्णालीका ५ देखि १२ वर्ष उमेरका १८ हजार ५ सय ४३ बालबालिका विद्यालय नै जाँदैनन् । जसले राष्ट्रलाई सक्षम र योग्य नागरिक विकास गर्न हामी कति चुकेका छौं भन्ने देखाउँछ । सरकार चलाउनेहरूले विकास र निर्माणको जतिसुकै चर्का कुरा गरे पनि शिक्षा जबसम्म नजरअन्दाज गरिरहन्छन्, देश उँभो लाग्दैन । चाहे राजनीतिक नै किन नहोस्, यो देशको अर्थतन्त्र होस् या समाज अथवा जुनसुकै क्षेत्रको उन्नति र प्रगतिका लागि सबैभन्दा विकास गर्नुपर्ने नै शिक्षाको हो ।  तसर्थ कर्णालीका सामुदायिक विद्यालय सुनसान हुनु सामान्य होइन, निकै संवेदनशील हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.