लुम्ले
चिस्यान फ्याँकिरहेको माटो
प्रत्येक घुम्ती र मोड
विस्फारित फैलिँदै जान्छ
यो पहराको गीत हो
यो पहाडसितको प्रीत हो
ढुंगा, माटो र काठले
युगौं युग काटेको घरको
जगले पालुवा फेर्छ
नवनिर्माण रुचाउँदैन यो
प्राकृतिक स्वरूपमै आकार फेर्छ।
उत्तर र दक्षिण दिशामा
पहाड सधैं उन्मुक्त र वयष्क छ
पूर्व र पश्चिमको खुल्लापन
बादल पहाडसँग आलिङ्गन गर्दै
महाभारतमा स्वर्गमा छाडिएका
मन्त्रहरू उच्चारण गर्दै जलभिषेक गर्छ
यो उन्मुक्तिको गीत हो
यो कर्मको हर्षोल्लास हो
विभाजनका रेखाहरू कहिल्यै
नकोरिऊन् यो भूमिमा
जहाँ थोपा थोपा पसिनाले भारी बिसाउँछ
संकल्पका छिटाहरूले लहरो फैलाउँछ।
सपनाको जागृतिमा उडिहिँड्दा
कुहिरोले प्रकृति सिँगार्छ
हृदयको शोक, भोक र समयले
टाढा बनाउँदा फर्कन चाहनेहरूको
शान्तिपूर्ण प्यास मेटियोस्
जहाँ दुई पहाड अनन्त पहरा दिन्छन्
मानवताको सलामी थाप्न
लुम्ले हृदयमै चम्किरहोस्।