चेतन अयडीको हत्या अभियोग लागेका ६ जना छुटे, आदेशप्रति परिवारको असन्तुष्टि

चेतन अयडीको हत्या अभियोग लागेका ६ जना छुटे,  आदेशप्रति परिवारको असन्तुष्टि
सुन्नुहोस्

बाजुरा : अनेरास्ववियुका  केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष समेत रहेका विद्यार्थी नेता चेतन अयडीको हत्या अभियोगमा पक्राउ परेका ६ जना छुटेका छन्। 

पुर्पक्ष लागि कारागारमा रहेका ६ जना सर्वोच्च अदालतको आदेशपछि छुटेका हुन्। उच्च अदालत दिपायलले समेत सदर गरेको पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै बिहीबार सर्वोच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएपछि शुक्रबार उनीहरू छुटेका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) कवीन्द्र बोहराले सर्वोच्च अदालतको आदेशपछि पुर्पक्षमा कारागारमा रहेका त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी सहितका ६ जना शुक्रबार छुटेको जानकारी दिएका छन्। 

डीएसपी बोहोराका अनुसार सर्वोच्चको आदेशअनुसार जिल्ला कारागार बाजुरामा रहेका चक्रबहादुर अयडी, बिनोदबहादुर अयडी, भूपाल अयडी, रनसिंह बहादुर अयडी र अछाम कारागारमा रहेकी रुपा चौधरी अयडी छुटेका छन्।

धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडीलाई मात्र थुनामा राख्नुपर्ने सर्वोच्चले भनेको छ। उक्त हत्याकाण्डमा जिल्ला अदालत बाजुरामा २४ जनाविरुद्ध मुद्दा दायर भएको थियो। पक्राउ परेका ११ जना सबैलाई जिल्ला अदालत बाजुरा र उच्च अदालत दिपायलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए।

अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कमिटीका संयोजक समेत रहेका अयडीको हत्या आरोपमा पक्राउ परेका वडाध्यक्षसहित ६ जनालाई जिल्ला अदालत बाजुराले २०७९ पुस ५ गते पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो। उनीहरूले जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत दिपायलमा पुनरावेदन गरेको भए पनि गत साउन  २५ गते उच्च अदालतले जिल्लाकै आदेश सदर गरिदिएको थियो।

तर सर्वोच्च अदालतका न्यायाधिशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बिहीबार उच्च अदालतले समेत सदर गरेको आदेश बदर गर्दै साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्नू भन्ने आदेश दिएको छ।

२०७९ मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका क्रममा त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादलाई लिएर अयडीमाथि कुटपिट गर्दा उनको मृत्यु भएको थियो। मतदानका क्रममा भएको विवादलाई लिएर कांग्रेसका कार्यकर्ताले कुटपिट गरेपछि उपचारका क्रममा मृत्यु भएको एमालेको आरोप लगाउँदै आएको छ।

मतदान सकेर घर फर्किएका अयडी माथि राति घरमै आक्रमण गरेर कुटपिट गरिएको थियो। मतदानकै क्रममा भएको विवादलाई लिएर प्रहरीले गोली चलाउदा कांग्रेस कार्यकर्ता सञ्जित अयडीको मृत्यु भएको थियो। विवादपछि मतदान स्थगित भएको उक्त केन्द्रमा पुनः मतदान भएको थियो।

सर्वोच्चको आदेशप्रति परिवारको असन्तुष्टि, गाउँमा ‘त्रास’

चेतन अयडी हत्या अभियोगमा पक्राउ परी पुर्पक्षमा कारागार चलान गरिएकाहरूलाई छाड्न सर्वोच्च अदालतले दिएको आदेशप्रति मृतकको परिवारले असन्तुष्टि व्यक्त गरेको छ।

कानुन माथि विश्वास गरेर न्यायको लडाइँ लडिरहेका बेला सर्वोच्च अदालतले दिएको आदेशले चिन्तित र भयभित बनाएको मृतकका भाइ मिलन अयडी बताए। ‘घरभित्रबाट तानेर मेरो दाजुको क्रुर तरिकाले हत्या गरिएको थियो। त्यो भन्दा ठूलो आज सर्वोच्च अदालतको कानुनको हत्या भएको छ। यो फैसलाले गाउँमा आतंक, डर र त्रास फैलिएको छ,’ दाजुको हत्या हुने समय धेरैले बदला लिनुपर्छ भन्नुहुन्थ्यो। तर मैले कानुनमा विश्वास गर्नुपर्छ। दाजुको हत्यारालाई सजायको दायरामा ल्याउनुपर्छ भनेर रोकेको थिए आज यस्तो भयो।’

उनका बुवा गगनले क्रुर तरिकाले १४–१५ जना मिलेर हत्या गरेको भिडियो सर्वोच्च अदालतको इजलासमा देखाउँदा समेत न्यायाधीशले बेवास्ता गरेको गुनासो गरेका छन्। सर्वोच्चको फैसलाले द्वन्द्व भड्काउने काम गरेको बताउने उनी अब हुने दुर्घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताए।

‘छोराको हत्या गर्ने बेलाको भिडियो क्लीप पेन ड्राइभमा राखेर हाम्रा वकिल मार्फत सर्वोच्चको इजलासमा न्यायाधीशलाई दिए तर उहाँहरूले हेर्न मान्नु भएन, अयडीले भने, ‘प्रमाण पेश गर्ने अवसर समेत दिइएन। द्वन्द्व भड्काउने काम गरिएको छ। अब चुप लागेर बस्ने अवस्था छैन। अब हुने सम्भावित क्षतिको जिम्मा जिम्मेवारी राज्यले लिनुपर्छ। 

अनेरास्ववियुद्वारा देशभर बिरोध प्रर्दशन

जिल्ला अदालत बाजुरा र उच्च अदालत दिपायलले घटनामा संलग्न देखिएका भन्दै पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्तहरूलाई सर्वोच्चले साधारण तारेखमा छाडिदिएपछि पीडित पक्षले असन्तोष प्रकट गरेको छ।

पीडितका बुवा गगन अयडी भन्छन्, ‘मेरो छोरो दोस्रो पटक मारियो। भिडिओमा प्रत्यक्ष देखिएका व्यक्तिलाई पनि साधारण तारेखमा छाडेर सर्वोच्चले अन्याय गरेको छ।’ सर्वोच्चको निर्णयप्रति अहिले चौतर्फी विरोध भइरहेको छ।

सोही आदेशका बिरुद्ध आज नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बाजुरा लगायत देशभर एकै साथ विरोध प्रदर्शन गर्ने जनाएको छ। हिजो मात्रै सर्वोच्चको आदेश आएपछि सत्ताको आडमा पीडित परिवारमाथि थप पीडा थप्ने काम गरेको भन्दै अनेरास्ववियुले देशभर प्रदर्शन गर्ने भएको हो। शुक्रबार बेलुका अनेरास्ववियुले देशभर प्रदर्शन गर्न लागेको अनेरास्ववियुले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.