गति लिँदै गौरीटार

गति लिँदै गौरीटार

हेटौंडा :संघीय सरकारले अलपत्र छाडेको गौरीटार रंगशाला निर्माणले बल्ल गति लिएको छ। बागमती प्रदेश सरकारले हेटौंडा–६ स्थित रंगशालालाई प्रदेश गौरवको योजनामा समावेश गरी निर्माणको काम अघि बढाएपछि कामले गति लिएको हो।

२०६६ जेठ २८ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रंगशालाको सिलान्यास गरेका थिए। महत्वकांक्षी योजनासहित निर्माण सुरु भएको केन्द्रीय खेलकुद प्रतिष्ठान बजेट अभावमा संघीय सरकारले अलपत्र छाडेको थियो। बागमती प्रदेश सरकारले पहिलो चरणमा गौरिटारभित्र फुटबल रंगशाला निर्माणलाई प्राथमिकता दिएको छ।

‘यही वैशाखसम्म फुटबल रंगशाला निर्माण सम्पन्न गरी अन्तर प्रदेशस्तरीय प्रयोगिता गर्ने लक्ष्य छ’, बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले भने, ‘फुटबल रंगशाला देशकै पहिलो प्रविधियुक्त र दशरथ रंगशालापछिको ठूलो रंगशाला बन्नेछ।’ हाल रंगशालाभित्र चार हजार पाँच सय दर्शक क्षमताको प्यारापिट निर्माणको काम भइरहेको सदस्यसचिव भण्डारीले बताए। प्यारापिटसँगै ट्रयाकको काम पनि अघि बढाइने उनले बताए। ‘अझै छिटो काम सक्नुपर्ने थियो। ठेकेदारको ढिलासुस्तीले लक्ष्य अनुसारको काम भएन’, भण्डारीले भने, ‘वैशाखभित्रमा प्रतियोगिता नै सञ्चालन गर्नेगरी रंगशाला तयार पार्दैछौं।’ फुटबल रंगशाला निर्माण सम्पन्न गर्न करिब २५ करोड खर्च लाग्ने परिषद्ले जनाएको छ। 

गौरिटार परिसरभित्रै अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। २० करोड लागत अनुमान गरिएको रंगशाला निर्माणको बहुवर्षीय ठेक्का आह्वान गर्ने परिषद्को तयारी छ। ‘डीपीआरको काम सकिएको छ। वातावरणीय प्रभाव मूल्यांकनको काम सकिनेबित्तिकै हाल प्राप्त बजेटलाई २० प्रतिशत मानेर ठेक्का आह्वान गर्ने तयारी छ’, सदस्य सचिव भण्डारीले भने। 

क्रिकेट रंगशालासँगै अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गर्न मिल्ने पौडी पोखरी निर्माणको काम पनि चालु आर्थिक वर्षमा नै प्रदेश सरकारले अघि बढाउने भएको छ। बहुवर्षीय ठेक्का आह्वान गर्न चालु आर्थिक वर्षमा तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

गौरिटारभित्र चार हजार क्षमताको बहुउदेश्यीय कभर्डहल, अभ्यासका लागि एक दर्जन थप कभर्डहल, मोटर स्र्पोट्स ट्रयाक, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधोपचार कक्षसहित विभिन्न खेलका लागि दुई दर्जन संरचना निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ। ‘देशमै पहिलो स्र्पोट्स हव बनाउने हाम्रो लक्ष्य हो’, बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले भनिन्, ‘त्यसैले हामीले प्रदेश गौरवको योजनामा राखेर बजेट अभावकाबीच पनि यो रंगशाला निर्माणको कामलाई प्राथमिकता दिएका छौं।’ बजेट अभावमा यसभित्रका संरचना निर्माण नरोकिने उनले प्रतिबद्धता जनाइन्। 

संघीय सरकारले पर्खाल र घेराबारसँगै कार्यालय भवन निर्माण गरी रंगशालामा बजेट विनियोजन रोकेको थियो। प्रदेश सरकारले गौरिटारभित्र फुटबल रंगशाला बनाउन पाँच करोड रुपैयाँ विनियोजन गरी काम थालेको थियो। जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख माधव कोइरालाले प्रदेश सरकारले चासो दिएपछि निर्माणका कामहरूले गति लिएको बताए। ‘हेटौंडामा राम्रो फुटबल र क्रिकेट रंगशाला छैन’, उनले भने, ‘यो रंगशाला निर्माण सम्पन्न भएपछि खेल क्षेत्रले नै फड्को मार्ने विश्वास छ।’

जिल्ला खेलकुद विकास समितिको स्वामित्वमा रंगशालाको २३ बिगाह जमिन छ। गौरीटार रंगशाला निर्माणमा संघीय सरकारले करिब आठ करोड रुपैयाँ लगानी गरेको थियो। पाँच अर्ब लागत अनुमान गरिएको यो योजनामा संघीय सरकारले बजेट लगानी गर्न नसक्दा लामो समय अलपत्र बनेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.