नेतृत्वमा बस्नेहरुले देश बर्बाद पारे : चन्द्र भण्डारी
बुटवल : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले मुलुकको नेतृत्व गरेकाहरूले देश बर्बाद पारेको बताएका छन्। कांग्रेस लुम्बिनी प्रदेशको बुटवलमा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले पार्टीका शीर्ष नेताहरू समायानुकूल ‘अपडेट’ हुन नसक्दा देश डामाडोलतर्फ उन्मुख भएको बताए।
‘ऋण खोजीखोजी भैरहवा अन्तराष्ट्रिय विमानस्थल किन बनाएको छ?,' उनले भने, 'मुलुकमा अहिले झण्डै २४ खरब ऋण छ। आयोजनाहरू नचाहिने हो भने किन बनाएको?’
कार्यक्रमको मञ्चमा बसेका पार्टी सभापती शेरबहादुर देउवालाई लक्षित गर्दै भण्डारीले भने, ‘कांगेसमा गुटगत राजनीति धेरै भयो। यसरी पार्टी बन्दैन। तपाईंको वरिपरि कोही छन् भने छाडदिनुस्। देशको चिन्ता गर्नुस्।’
उनले पार्टी सभापतिको विधानतः यो नै अन्तिम कार्याकाल रहेको बताए। ‘कांग्रेसको गुटले न पार्टी बन्यो न त देश,' उनले भने। वर्तमान सरकारले जनतालाई डेलिभरी दिन नसकेको उनको आरोप छ।
प्रदेश सरकारले त झनै काम गरेर जनतालाई जवाफ दिन नसकेको उनको भनाइ छ। ‘भाषण गरेरमात्र देश बन्दैन। अहिले व्यवसाय धरासय भएका छन्, अर्थतन्त्र विजोग छ। नेतृत्वलाई किन यसको चिन्ता लाग्दैन,' उनले भने।