वेयर हाउजिङमा आवेदन दिन १ दिन बाँकी
काठमाडौं : नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओमा सेयर पाउने संख्याभन्दा ९ गुणा बढीले व्यक्तिले आवेदन दिएका छन्। एक दिन बाँकी छँदै निष्कासन गरिएभन्दा १० गुणा बढी आवेदन परिसकेको छ। मंगलबार साँझसम्म १ अर्ब १४ करोड ५३ लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ५३ हजार ९ सय ४० कित्ता सेयर माग भएको हो।
१० लाख ५५ हजार ६ सय ३८ जना आवेदकले आवेदन दिएको सीडीएसले जनाएको छ। जबकि १०–१० कित्ताका दरले सो सेयर १ लाख १४ हजार १ सय २५ जनालाई पर्नेछ। बाँकीको हात खाली हुनेछ।
आवेदन परेको सेयर संख्या कम्पनीले सर्वसाधारणलाई निष्कासन गरेको सेयरको ९.२४ गुणा बढी हो। नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओमा आइतबारदेखि आवेदन खुलेको हो। कम्पनीले सर्वसाधारणलाई छुट्ट्याएको १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ३७ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गरिसकेको छ।
कम्पनीले २७ हजार ५ सय कित्ता सेयर कर्मचारीका लागि तथा ६८ हजार ७ सय ५० कित्ता सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएर बाँकी रहेको ११ लाख ४१ हजार २ सय ५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने भएका हुन्।
कम्पनीको आईपीओमा सर्वसाधारणले बुधबारसम्म आवेदन दिन पाउनेछन्। आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। नेपाल वेयर हाउजिङको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल हो। कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङले ‘आईआरएन डबल बी माइनस (आइएस)’ रेटिङ प्रदान गरेको छ। यो रेटिङअनुसार कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको बुझाउँछ।
नेपाल वेयर हाउजिङ कम्पनीले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिकटन क्षमताका भण्डारण गृह सञ्चालन गर्दै आएको छ।