एमसीसी पाँच वर्षमै सकिनेछ : अलब्राइट

एमसीसी पाँच वर्षमै सकिनेछ : अलब्राइट
सुन्नुहोस्

काठमाडौं : एमसीसी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले नेपालमा कार्यान्वयन गरिएका दुई परियोजना प्रसारण लाइन र सडक स्तरोन्नति परियोजना पाँच वर्षे समयसीमाभित्र नै सम्पन्न हुनेमा आफू आश्वस्त रहेको बताएकी छन्। एमसीसी कार्यान्वयनमा देखा परेका जटिलता पहिल्याउन र समाधानको पहल गर्नका लागि उनी सोमबार नेपाल आएकी हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत सरकारका केही मन्त्री र उच्च अधिकारीसँगको भेटघाटपछि केही सीमित सञ्चारकर्मीसँगको भेटमा उनले सो बताएकी हुन्। यसबाहेक उनले एमसीसी कार्यान्वयनमा भूमिका निर्वाह गर्ने विभिन्न निकायहरूसँग पनि छलफल गरेकी छन्। 

आफ्नो नेपाल भ्रमण फलदायी र उत्साहजनक भएको उल्लेख गर्दै उनले भनिन्, ‘एमसीसी परियोजना पाँच वर्षभित्र सम्पन्न हुनेमा म पूर्णरूपमा विश्वस्त छु किनभने यसको समयसीमा तन्काउन मिल्दैन।’ ‘प्रधानमन्त्री दाहाललगायतका प्रमुख दलका शीर्ष नेताले एमसीसीलाई पूर्णरूपमा समर्थन गर्नुभएको छ र उहाँहरूले परियोजना कार्यान्वयन अगाडि बढ्ने स्पष्ट आश्वासन मलाई दिनुभएको छ,’ उनले भनिन्, ‘पाँच वर्षमा नै परियोजना समयमा नै सम्पन्न हुनेमा म पूर्णरूपमा आशावादी छु, किनभने यो हामीले पाँच वर्षमा पूरा गर्नुनै पर्छ।’ 

उनले आफूहरूसँग विगत २० वर्षमा विभिन्न मुलुकहरूमा एमसीसीअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गरेको अनुभव भएको उल्लेख गर्दै केही जटिलता भए पनि समयमा नै परियोजना सम्पन्न गर्न समस्या नभएको बताइन्। 

उनले परियोजना समयमा नै सम्पन्न गर्नका लागि नेपाल सरकारले पूर्णरूपमा प्रतिबद्धता जनाएको समेत उल्लेख गरिन्। एमसीसी उच्च अधिकारीले नेपालमा एमसीसी परियोजना कार्यान्वयनमा जानु सातदशक लामो दुईपक्षीय सम्बन्धमा एक कोसेढुंगा भएको उल्लेख गर्दै यसले भरपर्दाे प्रसारण लाइन र सडक निर्माण हुने र यसबाट नेपाली जनता लाभान्वित हुनेसमेत उल्लेख गरिन्।

एमसीसी परियोजना गत अगस्ट महिनाबाट कार्यान्वयनमा आएको हो। तर, पछिल्लो समय विशेष गरी ठेक्काको लागत र प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्तिको विषय जटिल बन्दै गएको छ। जसका कारण परियोजना समयमा नै निर्माण नहुने हो कि भन्ने आशंका कायमै छ। एमसी प्रमुख अलब्राइटले विभिन्न मन्त्री र उच्च स्तरको भेटघाटमा यससम्बन्धी कुरा उठेको बताइन्। एमसीसी कार्यान्वयनमा चुनौतीहरू रहेको स्वीकार गर्दै उनले चुनौतीलाई चिर्न र समयमा काम सम्पन्न गर्न आफू र नेपालको टिम सक्षम रहेको विश्वास व्यक्त गरिन्। 

गत वर्ष एमसीसी संसद्बाट अनुमोदनको समयमा पास भएको व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार नगरेको भनी प्रधानमन्त्री र अन्य नेताहरूबाट आएको सवालको जवाफ दिँदै उनले भनिन्, ‘हामी त्यसमा सहमत भएका छौं, स्वीकार गरेका छौं, एमसीसी कार्यान्वयन नै भइसकेको छ।’ 

केही समय अगाडि प्रधानमन्त्री दाहाल स्वयंले सो व्याख्यात्मक टिप्पणीका बारेमा अमेरिकालाई आफूले सोध्ने बताएका थिए। एमसीसी गत महिना कार्यान्वयनमा गए पनि बुधबार एमसीसी प्रमुख र प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा एमसीसी कार्यान्वयनको औपचारिक घोषणा हुँदैछ। कतियय मुलुकले पहिलो पटकको एमसीसी कार्यान्वयन गरेर दोस्रो चरणको अनुदान लिएको र नेपालमा पनि दोस्रो परियोजना आउने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘त्यो यो परियोजना कार्यान्वयन र त्यसपछि नेपाल त्यसका लागि योग्य हुन्छ कि हुँदैन भन्नेमा निर्भर गर्दछ।’ 

गत वर्ष एमसीसी अनुमोदन हुँदा विशेषतः वामपन्थी दलहरूले यसको विरोध गरेका थिए। अहिले पनि केही साना वामपन्थी दलहरूले यसको विरोध गरिरहेका छन्। तर, सो विरोधले स्थानीय स्तरमा कुनै समस्या नदेखिएको एमसीसीए नेपालका उच्च अधिकारीहरूले जानकारी दिएका थिए। उनीहरूले एमसीसी कार्यान्वयनका लागि स्थानीय तहमा राम्रो समन्वय भएको समेत उल्लेख गरेका छन्।

एमसीसी कार्यान्वयनलाई प्रभावकारी रूपमा अगाडि बढाउनका लागि पछिल्लोपटक उच्च अमेरिकी अधिकारीहरूले तारन्तार नेपालको भ्रमण गरिरहेका छन्। विशेषतः जग्गा प्राप्तिको विषय मुख्य समस्याका रूपमा रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.