कुन-कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?
काठमाडौं : आज देशका विभिन्न भू-भागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
अहिले गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन्/ चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ । सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/ चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।
राति देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/ चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
बुधबार पनि लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन्/ चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।