उफ् ! गर्मी...

उफ् ! गर्मी...
गर्मी बढेपछि जनकपुरधाम नजिकैको रूखमुिन शीतलमा बसेका स्थानीयवासी । तस्बिर : मनिका झा

काठमाडौं : हालसम्मकै बढी तापक्रम नेपालमा सन् १९९५ को जुन १६ मा रहेको तथ्यांक भेटिन्छ। मौसमविद् सुदर्शन हुमागाईं भन्छन्, ‘त्यस समय धनगढीको अत्तरीया स्टेसनमा ४६.४ डिग्री तापक्रम मापन गरिएको थियो। नेपालमा गर्मीको समय ४५ डिग्री तापक्रम धेरै पटक नाघेकोे छ।’

यसपटक पनि त्यसकै हाराहारीमा तापक्रम पुगेको छ। जसकारण, गर्मी उखरमाउलो छ। पहाड र उपत्यकाको भन्दा तराई–मधेसको जनजीवन कस्टकर छ। तराईका अधिकांश जिल्लाको तापक्रम ४० डिग्रीमाथि पुग्दा विद्यालय बन्द गरिएका छन्। मजुर गरेर जीवन चलाउनलाई सकस छ। दिउँसो बाहिर निस्कन सक्ने अवस्था छैन। रातमा सुत्न गाह्रै पर्छ। 

सन् १९९५ अगस्ट २ मा नवलपरासीको सेमरी स्टेसनमा ४५.८ डिग्री मापन भएको थियो। सन् १९९५ को मे ३ मा भैरहवा एयरपोर्टमा ४५.२ पुगेको थियो। नेपालगन्जमा सन् १९९५ को जुन १६ मा ४५.० डिग्री देखिएको थियो। सन् १९६६ को जुन ८ मा चिसापानी कर्णालीमा ४५ डिग्री पुगेको थियो। दीपायलमा सन् २०१२ को मे मा ४५ डिग्री पुगेको थियो भने टीकापुरमा पनि सन् २०१२ को जुन १३ मा ४५ डिग्री पुगेको मौसम विद्ले उल्लेख गरेको तथ्यांकमा भेटिन्छ। 

यसपटक भने केही दिन अघिबाट तापक्रम बढेको छ। मधेस प्रदेशको धेरैजसो भूभाग, कोसी प्रदेशका केही जिल्ला, लुम्बिनी तथा बागमती प्रदेश पनि तपक्रम अत्याधिक बढेको छ। ती जिल्लाहरूमा कम्तीमा ४० डिग्रीभन्दा माथि तापक्रम रहेको मौसम विद् बताउँछन्। सबै ठाउँमा हिटवेभ (तातो हावा) को अवस्था छ। लगातार तीन दिन उस्तै अवस्था रहेमा त्यसलाई हिटवेभ भनिन्छ। आइतबार दुम्कौली, नवलपुरमा ४२.८ डिग्री तापक्रम मापन गरिएको थियो। उक्त क्षेत्रमा लगातार तापक्रम उस्तै हुँदा जनजीवन प्रभावित छ। 

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार पछिल्लो समय तातो दिन र रातको संख्या बढिरहेको छ। तापक्रमले निश्चित थ्रेसहोल्ड काटेको छ। बढी तापक्रम भएको दिन तथा रातको संख्या बढ्दो क्रममा रहनुको अर्थ जलवायु परिवर्तनको असर हुनसक्ने कँडेलले बताइन्। भन्छिन्, ‘हिटवेभहरू पहिला पनि हुन्थे। तर, संख्या कति थिए भन्नेले अर्थ राख्छ। तर, बढी तापक्रम भएका दिन तथा रात वृद्धि हुनु संवेदनशील विषय मानिन्छ।’ 

हिटवेभ पहिलादेखि नै हुँदैआएको घटना हो। तर, विभिन्न अध्ययनहरूले यसको प्रभाव अझै डरलाग्दो बन्ने चेतावनी दिएको छ। हिटवेभका घटनामा लामो हुने र बारम्बार दोहोरिने पनि बताइँदै आएको छ। नेपालमा हिटवेभका घटना हुँदै आए पनि समग्रमा यसको संख्या बढेको छ। ‘समग्रमा वार्षिक कति दिन तथा रात बढी तातो भयो भनेर हेरिन्छ। त्यो संख्या क्रमशः बढ्दो क्रममा छ’, विभागका वरिष्ठ मौसमविद् कँडेलले भनिन्, ‘गत मे ३१ तारिखको राति सायद सबैलाई बढी गर्मी भएको हुनसक्छ। त्यतिबेला दिन र रातको न्यूनतम र अधिकतम तापक्रम नै बढी थियो।’ 

ग्लोबल वार्मिङको कारण तापक्रम बढेको केही मौसम विज्ञ बताउँछन्। हिटवेभहरू बढ्नु भनेको जलवायु परिवर्तनको प्रभाव देखिएको हुनसक्छ। तर, एउटा एउटा वर्ष गर्मी भएको घटनालाई हेरेर मात्रै जलवायु परिवर्तनको प्रभाव भएको भन्न नमिल्ने कँडेल बताउँछिन्। उनले थपिन्, ‘पछिल्लो ३० वर्षको तापक्रमको प्याटर्न तुलनात्मक रूपमा हेर्दा जलवायुको प्रभाव भन्न सकिन्छ।’ 

मानवीय क्रियाकलापले कार्बन उत्सर्जन अत्यधिक भइरहेको छ। जसको प्रत्यक्ष रूपमा पृथ्वीको तापक्रम बढाइरहेको हुन्छ। जसले गर्दा हिटवेभ जस्ता विपद बारम्बार समस्या बनिरहेको अध्ययनहरूको निष्कर्ष छ। हिटवेभको समयमा आद्रता बढी हुँदा समस्या हुन्छ। आद्रताले गर्मी गराउने चिटचिट हुने हुन्छ तर पसिना आउँदैन। शरीरको तापक्रम व्यवस्थापन हुनलाई पसिना निस्कनुपर्छ। त्यसले शरीरलाई अलि शीतल गराएर गर्मी बढी महसुस गराउँदैन। तापक्रम र आद्रता दुवै बढी भएमा अत्यन्त गाह्रो हुन्छ। हाल हिटवेभ चलेका ठाउँहरूमा पनि यस्ता समस्या देखिन सक्छन्। 

मौसम पूर्वानुमान महाशाखाले तातो हावाबाट बच्नका लागि सावधान हुन गत शुक्रबार नै विशेष बुलेटिन निकालेको छ। घरभित्रै बस्न, घाममा नजान, हल्का लुगा लगाउन, टाउको छोप्न, पानी तथा झोल, जुस, सर्वत पिउन सल्लाह दिएको छ। अध्ययनले गर्मीका जोखिमहरू विशेषगरी सहरी जलवायुसँग सम्बन्धित रहेको जनाएको छ। र, ग्लोबल वार्मिङले जोमिखयुतm स्थानहरूमा झन् समस्या बढाउने र वातावरणीय प्रभावलाई बढावा दिने जनाएको छ। 

हिटवेभ डर लाग्दो प्राकृतिक विपत्ति

अध्ययनहरूले यो तातोपन अझै घातक, लामो बन्ने जनाएको छ। पूर्वी भूमध्यसागरीय भूभागमा यसको प्रभाव नराम्रो पर्दैजाने ‘टेम्पोरेरी कम्पाउन्ड हिटवेभ इभेन्ट्स एन्ड ग्लोबल वार्मिङ, एन एमर्जिङ हजार्ड’ नामक अध्ययनले जनाएको छ।

यस्ता क्षेत्रहरूमा एक्काइसौं शताब्दीको अन्त्यसम्म भइरहेको भन्दा सातौं गुणा बढी घटना हुने र तीन गुणा अवधी लम्बिने चेतावनी दिएको छ। तापक्रम बढी भएका भूभागमा हिटवेभ निरन्तर हुनेछन्। सन् २००३ मा भएको युरोपको हिटवेभमा मात्रै करिब ७५ हजार मानिसको मृत्यु भएको थियो। सन् २०१० मा भएको रसियाको हिटवेभमा ५५ हजारको मृत्यु भएको उतm अध्ययनले बताएको छ। 

हिटवेभका कारण चरम मौसमी घटनाले पूर्वाधारमा व्यापक क्षति पुर्‍याउनेछ।। विद्युतीय माग अत्यधिक हुने र तर माग धान्ने अवस्था हुने छैन। कृषि उत्पादन अशक्त बन्नुका साथै, पारिस्थितिक प्रणाली तनावपूर्ण बन्नेछ अध्ययनले बताएको छ। 

विश्वमै बढ्दैछ औसत तापक्रम

संसारको सबैभन्दा बढी गर्मी हुने मुलुहरूमा भूमध्य रेखाहरूमा अवस्थित देशहरू पर्छन्। यहाँ सूर्यका किरण सबैभन्दा तीव्र हुने भएकाले गर्मी बढी हुने गर्छ। मध्यपूर्वमा अवस्थित साउदी अरब, इराक र कुवेतलगायतका देशहरूमा पनि अत्यधिक गर्मी हुने गर्छ। मरुभूमिको हावापानी काकारण यी देशहरूले उच्च तापक्रम अनुभव गर्छन्।

यहाँ वर्षभरि धेरै कम मात्र वर्षा हुन्छ। सुडान र नाइजरजस्ता अफ्रिकी मुलुकमा पनि उच्च तापक्रमको अनुभव हुन्छ। यी क्षेत्रहरूमा पनि मरुभूमिका कारण वर्षभरि उच्चतापक्रम रहन्छ।

जलवायु परिवर्तनले यी क्षेत्रहरूको तापक्रम वृद्धिमा महत्वपूर्ण प्रभाव पारेको छ। हालैका वर्षहरूमा धेरै देशले अहिलेसम्मकै कीर्तिमान तोड्ने तापक्रमको अनुभव गरिरहेका छन्। वायुमण्डलमा हरितगृह ग्यासहरूको निर्माणको परिणाम स्वरूप यसरी तापक्रमको वृद्धि भएको हो।

विश्वव्यापी रूपमै औसत तापक्रम वर्षौंदेखि लगातार बढिरहेको छ। नासाका अनुसार सन् १८०० को दशकको अन्त्यदेखि पृथ्वीको औसत तापक्रम करिब १.८ डिग्री फरेनहाइटले बढेको छ। यो वृद्धि सर्सर्ती हेर्दा न्यून देखिए पनि संसारभरको मौसमको ढाँचा र पारिस्थितिक प्रणालीमा महत्वपूर्ण परिवर्तनहरू ल्याउन यही पर्याप्त छ। 

विश्वमा हालकै दरमा हरितगृह ग्यासको उत्सर्जन जारी रहेमा विनाशकारी परिणामहरूको साथमा ग्रहको तापक्रम बढ्दै जाने भविष्यवाणी जलवायु वैज्ञानिकहरूले गरिसकेका छन्। विश्वमा सबैभन्दा बढी गर्मी हुने देश बुर्किनाफासो हो। यहाँको औसततापक्रम ८४.६७ 
डिग्री फरेनहाइट छ। इरानको लुट मरुभूमि पृथ्वीकै सबैभन्दा बढी तातो हुने ठाउँ हो। यहाँको उच्चतापक्रम १५९.३ डिग्री फरेनहाइट अर्थात् ७०.७ डिग्री सेल्सियससम्म पुगेको छ। त्यसैगरी संसारको सबैभन्दा बढी गर्मी हुने सहर पाकिस्तानको जाकोबाबादहो। जहाँको तापक्रम निरन्तर रूपमा १२२ डिग्री फरेनहाइट अर्थात् ५० डिग्री सेल्सियस रहन्छ।

यस वर्ष चीनको सांघाई सहरमा मे महिनाको अन्तिममा सबैभन्दा बढी ३६.७ डिग्री सेल्सियस तामक्रम रह्यो जुन अघिल्लो रेकर्डभन्दा एक डिग्री बढी थियो। त्यसैगरी मे महिनाको मध्यतिरै भारतको दिल्लीमा ४२.९ डिग्री सेल्सियस तापक्रम अनुभव गरिएको थियो। दक्षिणपूर्वी एसिया पनि गर्मीले नराम्ररी प्रभावितबनेको छ।

यहाँका देशहरूमध्ये लावसमा रेकर्ड गरिएको सबैभन्दा बढी तापक्रममा ४३.५ डिग्री सेल्सियस, भेतनाममा ४४.२ डिग्री सेल्सियस र थाइल्यान्डमा ४५.४ डिग्री सेल्सियस छ। यसरी विश्वव्यापी रूपमा बढेको तापक्रम र तातो हावाको लहरले विश्वको एकतिहाइ जनसंख्यालाई असर पुर्‍याएको छ। समाचार एजेन्सीहरूका अनुसार यहीकारणले हालसम्म १७ भन्दा बढीको मृत्यु हुनुका साथै ६० भन्दा बढी अस्पताल भर्ना भएका छन्।्

बढी गर्मी हुने देशहरू
१. बुर्किनो फासो  : ८४.६७ डिग्री फरेनहाइट
२. माली  : ८४.५८ डिग्री फरेनहाइट
३. अरुबा  : ८४.५१ डिग्री फरेनहाइट
४. सेनेगल  : ८४.०४ डिग्री फरेनहाइट
५. मौरिट्यानिया  : ८३.८८ डिग्री फरेनहाइट
६.जिबौटी  : ८३.३ डिग्री फरेनहाइट
७. द ग्याम्बिया  : ८३.०५ डिग्री फरेनहाइट
८. युनाइटेड अरब इमिरेट्स  : ८२.७१ डिग्री फरेनहाइट
९. गिनिया–बिसौ  : ८२.४९ डिग्री फरेनहाइट
१०. नाइजर  : ८२.४९ डिग्री फरेनहाइट 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.