गौशालाका उपमेयरले भनिन्- मेरो ज्यान जोखिममा छ
जनकपुरधाम : गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले आफ्नो ज्यान असुरक्षित भएको बताएकी छन्। उनले नगरपालिकाको काममा अनैतिक तथा कानुन विपरीत काममा सहमति नजनाउँदा आफूलाई ज्यान मार्ने धम्की आएको बताइन्।
गौशाला नगरपालिका-२ निगौलस्थित निजी जग्गामा सार्वजनिक सम्पत्ति बनाउन लाग्दा परेको उजुरी छलफलको क्रममा निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोको भाञ्जा सुरेन्द्र महतोले ज्यान मार्ने धम्की दिएको उनको भनाइ छ। ‘मलाई नियोजितरूपमा मेरै कार्यकक्षमा ज्यान मार्ने प्रयास भएको छ। अफिसको समय सकिँदा भीडभाड नभएको मौका छोपेर पूर्वयोजना अनुसार वडाध्यक्ष र श्याम सुन्दर मण्डल र सुरेन्द्र महतोले ज्यान मार्ने प्रयास गर्यो।’
पत्रकार सम्मेलनको आयोजना गरी उनले भनिन, ‘संविधानले उपमेयरलाई दिएको अधिकारको वेवास्ता गरी मेयर डा. दिपेन्द्र महतोले आफूखुसी गर्न खोज्ने र आफू अनुकुल मिलोमतोमा मनोमानी ढंगबाट बजेट सिध्याउने दाउमा धमाधम नियम विपरीत काम गर्न दबाब दिने गरेका छन्। उपमेयरको सम्पूर्ण अधिकारलाई बाइपास गरेर मेयरले अनैतिक कार्यमा आफू पनि संलग्न हुने र मलाई पनि संलग्न गराएर बदनाम गर्ने प्रपञ्च फेल भएपछि संघातिक आक्रमणमा उत्रिएका हुन्।’
गौशाला नगरपालिकाको वडा नं. २ निगौलमा निजी व्यक्तिको हकभोगको जग्गामा नगरपालिकाबाट विनियोजित ३० लाख बजेट कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय महोत्तरीको न्याय निरुपणका लागि लेखी पठाएकोमा न्याययिक समितिमा छलफल गराउँदा ज्यान नै जोखिममा परेको उनलेब ताइन्।
उनले भनिन, ‘वडाध्यक्षले मलाई धम्काउँदै तेरो के अधिकार छ? निगौला किन गइस् छानविन गर्न, अबदेखि गइस् भने हातखुट्टा भाँचिदिन्छु भन्दै हातपातमा उत्रिँदै नगरपालिका प्राङ्गणमा टोले गुण्डाहरू बोलाएर अपराधिक परिस्थितिको सिर्जना गरे।’
उनले आफैं न्याययिक समितिको संयोजक भए पनि दुर्व्यवहार भएको बताइन्। 'अब म आफैँ न्याय खोज्न कहाँ जाउँ? मलाई मेरो ज्यान असुरक्षित महसुस हुँदैछ। मेरो ज्यानमाथि केही भयो भने त्यसको जिम्मेवार मेयर र मलाई धम्की तथा कुटपिट गर्न खोज्ने वडाध्यक्ष श्यामसुन्दर मण्डल र निलम्बित प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो तथा मेयर डा. दिपेन्द्र महतोको भाइ सुरेन्द्र महतो जिम्मेवार हुनेछन्।’