जेलमुक्त भएपछि म्युजिक भिडियोका लागि मुस्ताङ पुगे पल शाह
जोमसोम : नाबालिग बलात्कार मुद्दामा एक वर्षसम्म जेल सजाय कटाएर हिरासतमुक्त भएका अभिनेता पल शाह म्युजिक भिडियो सुनटिङका लागि मुस्ताङ आएका छन्। डेढ महिनाअघि जेलमुक्त भएका उनी म्युजिक भिडियोमा सक्रिय हुन थालेका छन्।
तनहुँ कारागारमा जेलजीवन बिताएर हिरासतमुक्त भएका अभिनेता शाह केही समयको बिश्रामपछि म्युजिक भिडियोमा अभिनय सुरु गरेका हुन्। उनी 'आँशु बनी नखस कहिले नि' बोलको गीतमा अभिनय गर्न मुस्ताङ आइपुगेका हुन्।
बिहीबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा म्युजिक भिडियोको छायांकन भएको छ। लामो समयको अन्तरालपछि पहिलो म्युजिक भिडियोको काम मुस्ताङबाटै सुरु गर्ने अवसर पाउँदा आफू गौराञ्वितत भएको अभिनेता शाहले बताए।
उनले मुस्ताङजस्तो धार्मिक तथा पर्यटकीय जिल्लामा आएर काम गर्न पाउँदा खुसी लागेको उल्लेख गरे। 'पर्यटन प्रवर्द्धनका लागि म्युजिक भिडियो पनि महत्त्वपूर्ण माध्यम हो। यसले यहाँको कलासंस्कृति, भूगोल र यहाँको रमणीय स्थलको परिचय दिने सन्देश दिन्छ,' शाहले भने।
ऋषि खड्काको शब्द रहेको गीतमा स्वयं खड्का र अन्नु चौधरीको स्वर रहेको छ। म्युजिक भिडियोको नृत्य निर्देशक सान थापाले गरेका छन् भने पल शाह र शनिसा भट्टराईको अभिनय रहने छ। म्युजिक भिडियोको छायांकन कागबेनी र जोमसोममा हुनेछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)