यसरी बन्यो 'गाउँ आएको बाटो'

यसरी बन्यो 'गाउँ आएको बाटो'

विगत साढे दुई दशकदेखि हङकङमा बसिरहेको म त्यहाँको शिक्षाक्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको छु। हालः विभिन्न सामाजिक संघसंस्थाहरूमा आबद्ध भई अमेरिकाको साउदर्न युटाह युनिभर्सिटीको प्राज्ञिक सल्लाहकारको रूपमा कार्यरत छु। निर्देशक नवीन सुब्बासँग मेरो पुरानो चिनजान हो। विशेषत: हङकङमा उहाँको चलचित्र 'नुमाफुङ' प्रदर्शन भएपश्चात हाम्रो भेटघाट, संवाद बाक्लो भएको हो। हङकङमा उहाँको अर्को चलचित्र 'गुडबाइ काठमाडौं'को विशेष प्रदर्शनी मेरै अगुवाइमा सम्पन्न भएपछि उहाँले मलाई चलचित्र 'गाउँ आएको बाटो'मा सहकार्य गर्न प्रस्ताव गर्नुभएको हो। मलाई चलचित्रको कथा मन परेको र नवीन सुब्बासँग सहकार्य गर्न पनि लालायित भएकोले म यस चलचित्रको निर्माता बन्न पुगेको हुँ। यसको अर्को विशेष कारण छ, म हङकङमा अल्पसंख्यक समुदायको हकहितको पक्षमा लामो समयदेखि काम गरिरहेको थिएँ। त्यहाँको मुख्य समुदायसँग एकाकार र अन्तर्घुलन हुनका लागि कला, संस्कार, संस्कृति, सङ्गीत, चलचित्र, आदिमार्फत पनि अगाडि बढ्नुपर्छ भन्ने ठानी नवीन सुब्बाको कामबाट प्रभावित भई यो चलचित्रमा सहकार्य गर्ने निर्णयमा पुगेको हुँ।

महेश राई र नवीन सुब्बाले संयुक्तरूपमा लेखेको पटकथाले २०१९ मा अन्तिम रूप लिएपछि हामीले चलचित्र निर्माणको तयारी थाल्यौं। यस चलचित्रमा राई आदिवासी समुदायको पृष्ठभूमिमा आधारित कथानक भएकाले निर्माण गर्दा राई समुदायको सामुदायिक लगानीको अवधारणा अपनाउने योजनासहित सहनिर्माताहरू खोज्ने र लगानीका लागि आग्रह गर्ने कामको थालनी भयो। अर्कोतिर निर्देशन पक्षले प्रिप्रोडक्सनको काम पनि सुरु गरिसकेको थियो। हामीले तीन महिनाभित्र लगानी जुटाएर सुटिङमा जाने योजना बनायौं। तर, हामीले प्रस्ताव गरेका सबै व्यक्तिहरूलाई हामीले हाम्रो योजनामा काम गर्नका लागि मनाउन सकेनौं। बजेट जुटाउन सकसको स्थिति पनि सिर्जना नभएको होइन। यतिन्जेल हङकङमै बसेर म आफ्नो जिम्मेवारीको काम गरिरहेको थिएँ। तीन महिनामा आवश्यक रकम जुटाएर सुटिङमा जाने तयारी गर्दागर्दै कोभिड महामारी सुरु भयो र चलचित्र निर्माण एक वर्षका लागि स्थगित भयो।

जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं हामीले अनलाइनमार्फत फेरि काम सुरु गर्‍यौं। यसक्रममा चलचित्रका विभिन्न विभागहरूले गहन अध्ययन, अनुसन्धान गर्ने र प्रोडक्सनका लागि आ-आफ्नो विभागलाई तयार राख्ने काम भयो। हामी हरेक दिन जूममार्फत तीन-तीन घण्टा मिटिङ बस्थ्यौं र प्रत्येक विभागले आफ्नो प्रस्तुति दिनुपर्ने हुन्थ्यो। हामीले पटकथामा आधारित भएर राई आदिवासी समुदायको बारेमा गहन अध्ययन र अनुसन्धान पनि गर्‍यौं। अर्कोतिर लगानी जुटाउने काम पनि निरन्तर भइरहेको थियो। यहीबीच कार्यकारी निर्माताको रूपमा अमेरिकाबाट भीम राई जोडिनुभयो। बेलायतबाट सुरुमा जोडिएको समूह पछि हट्यो। नयाँ समूहमा कार्यकारी निर्माताको रूपमा नरहाङ राईसँगै किरात राई यायोक्खा बेलायतका अधिकांश पदाधिकारीहरू जोडिनुभयो। हङकङबाट देवराज राई र नेपालबाट सन्जु राई पनि निर्माताको रूपमा चलचित्रमा जोडिनुभयो। यसरी देशविदेशबाट पचास, साठीजना व्यक्तिहरू सहनिर्माताको रूपमा आबद्ध हुनुभयो। कोभिडको दोस्रो तरङ्गपछि छ महिना लामो प्रिप्रोडक्सन सकाएर हामीले सुटिङमा जाने तयारी गर्‍यौं। निर्देशक नवीन सुब्बा युवा पुस्तासँग काम गर्न इच्छुक र युवा सशक्तीकरणको पक्षमा केही गर्नुपर्छ भन्ने उहाँको सोचका साथ हामीले अधिकतम युवा साथीहरूलाई चलचित्रका विभिन्न विभागहरूमा समावेश गर्‍यौं। यसो गर्दा चलचित्र निर्माण समूहमा हामीले नयाँ ऊर्जा सञ्चार भएको पनि अनुभूति गर्‍यौं।

निर्देशक नवीन सुब्बाले चलचित्रको स्तरीयतामा कुनै सम्झौता नगर्ने दृढ संकल्प लिएकाले त्यही किसिमका प्राविधिकहरूको खोजी गर्ने क्रममा क्वान पुङ ल्युङलाई हामीले छायांकारको रूपमा प्रस्ताव गर्‍यौं, जो चर्चित निर्देशक वाङ कार वाइसँग लामो समय काम गरेका व्यक्ति हुन्। तर, हाम्रो सुटिङ मिति सरेsfले उनी हामीसँग जोडिन सकेनन्। पछि सम्पादकको रूपमा भने उनले नै काम गरे। छायांकारको रूपमा हङकङबासी जोसेफ ल्युङ जोडिए तर उनी पनि प्रिप्रोडक्सनसम्ममात्रै समावेश भए। कोभिडकै कारण उनले पनि निरन्तरता दिन सकेनन्। सुटिङ मिति नजिक आइरहेको थियो तर हामीले छायांकार भेटिरहेका थिएनौं। मेरो एक जना चिनियाँ मित्रमार्फत अमेरिकाबासी मार्सिन क्याप्रोनलाई सम्पर्क गर्‍यौं र उनलाई कामको प्रस्ताव गर्‍यौं। क्याप्रोनलाई कथा मनपर्‍यो र उनी हामीसँग काम गर्न तयार भए। उल्लिखित प्राविधिकहरू एकदमै महँगा भए पनि चलचित्रको पटकथा मन परेकाले उनीहरू हाम्रो चलचित्रमा काम तयार भएका थिए।

सुटिङको सम्पूर्ण तयारी सकिएपछि म पनि नेपाल आएँ। निर्माण समूहसँगै बसेर ४५ दिन काम गरियो। २०२२ को तिहारपछि भोजपुरको बालङ्खामा सुटिङ थालियो। त्यहाँ सुरुको दुई हप्ता तयारीको काम गरियो। सुटिङ सुरु भएपछि कामको दौरान निर्देशन पक्ष, निर्माण पक्ष र छायांकारबीच केही असमझदारी पैदा हुन गयो। मुख्यतः सीर्जनात्मक कुरामा यस्तो परिस्थिति सीर्जना भएको थियो। यसको परिणाम, हामीले छायांकार बदल्नुपर्ने भयो र हाम्रो काम २२ दिनका लागि स्थगित भयो। हामीले पुनः जोसेफलाई कामको प्रस्ताव गर्‍यौं तर उनी नेपाल आउन सकेनन्। त्यसपछि हामीसँग जोस हेरम जोडिए, जोसँग म पहिल्यैदेखि निरन्तर सम्पर्कमा थिएँ। उनलाई सबै कुरा बताएपछि हामीसँग काम गर्न इच्छुक भए। तर, सुटिङस्थलमा मौसमको प्रतिकूलताले गर्दा हामीलाई ठूलो असर पर्‍यो। कहिलेकाहीँ त दिनमा एउटामात्र सिन गर्न सकिने अवस्था पनि आयो। हाम्रो समय बढ्यो, खर्च बढ्यो, प्रोजेक्ट समयमा नसकिने भयो। तनावग्रस्त अवस्थाको सामना गर्दै हामीले जम्मा असी दिनमा सुटिङ सकायौं।

चलचित्रको सम्पादन ताइवानमा गरियो र यसका लागि थप छ महिनाको समय लाग्यो। पार्श्वसङ्गीतका लागि हाइडी ली जोडिइन्। हामीले ध्वनिमा काम गर्दागर्दै चलचित्र महोत्सवहरूका लागि पहल गर्न सुरु गर्‍यौं र विभिन्न महोत्सवहरूमा चलचित्र पठायौं। टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले हाम्रो चलचित्रलाई छनौट गर्‍यो र यही महोत्सवमा चलचित्रको वर्ल्ड प्रिमियर पनि भयो। धेरै समयपछि नेपाली चलचित्र त्यहाँ पुगेकाले हामी कोरिया, जापानजस्ता निरन्तर सहभागी हुने देशका चलचित्रसामु हराएजस्तो पनि भयौं। तर, यही महोत्सवमार्फत हाम्रो चलचित्रलाई व्यापक मिडिया कभरेज मिल्यो। फोर्ब्सजस्तो विश्वप्रसिद्ध पत्रिकाले हाम्रो अन्तर्वार्ता लियो, चर्चित चलचित्र समीक्षक मीनाक्षी सेड्डेले हाम्रो चलचित्रमाथि समीक्षा नै लेखिन्। हाम्रा सबै शोहरू हाउसफुल भए। दर्शकहरूले चलचित्रलाई अत्यन्तै मन पराए। प्रश्नोत्तर र छलफलमा पनि सक्रियताका साथ सहभागी भए। चलचित्रले टोरन्टोमा व्यापक बहस सिर्जना गर्न सफल भयो। तर, अनुभवको कमी र सीमित स्रोतसाधनको कारण हामीले अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने अवसरको सदुपयोग गर्न भने सकेनौं।

यही क्रममा हाम्रो चलचित्र बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि छनोट भयो। बुसानमा हामीलाई रेडकार्पेटमा सहभागी हुने अवसर दिइएको थियो। यहाँ पनि सबै शो हाउसफुल भए। हाम्रो चलचित्रलाई अधिक रुचाइयो। समीक्षकहरूको पनि सकारात्मक प्रतिक्रिया प्राप्त भयो। एक महिनाको दौरानमा हाम्रो चलचित्र मामी (मुम्बई), साओ पाउलोजस्ता चर्चित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट हुन सफल भयो। दक्षिण अमेरिकामा पुग्ने पहिलो नेपाली चलचित्र बन्यो। स्वीडेनको गोटेवर्गलगायत चर्चित चलचित्र महोत्सवहरूमा पनि छनोट भयो। बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलोपटक छनोट भएको नेपाली चलचित्र बन्न सफल भयो। अरुभन्दा बेइजिङको अनुभव धेरै हिसाबले फरक रह्यो। यस महोत्सवमा हाम्रो चलचित्रलाई सम्मानजनक स्थान दिइयो। सबैजनाले चलचित्रप्रति अपनत्व महसुस गरे। हामीलाई चलचित्रको प्रवर्द्धन गर्ने वातावरण पनि उपलब्ध गराइयो।

चलचित्र 'गाउँ आएको बाटो'मा बुबा र छोराको सम्बन्धको कथानक छ। यसमा भोजपुरको एउटा ग्रामीण भेगमा पहिलोपटक सडकसँगै गाडी पुगेपछिको कथा छ। सडक पुगेपछि यसबाट त्यस ठाउँका व्यक्ति, परिवार, समुदाय, संस्कृति, मनोविज्ञान, आदिमा पर्ने प्रभाव चलचित्रमा देखाइएको छ। यसमा विकासको नाममा हुने विस्थापनको कथा छ। मानवीयतालाई सीमान्तीकरण गरिएको कथा छ। चलचित्रमा विश्वव्यापीकरणको असरबारे देखाइएको छ। बजारवादले रैथाने ज्ञान, सीप र उत्पादनमा पारेको प्रभाव देखाइएको छ। चलचित्रले हालः नेपालमा विद्यमान विकासका योजनाहरूले सीमान्तकृत समुदायलाई सम्बोधन गरेको छ, छैन भन्ने मूल प्रश्न गरेको छ। हाम्रो शिक्षाप्रणाली, शिक्षा नीतिमाथि चलचित्रले प्रश्न गरेको छ। पर्यावरणीय संकटबारे आवाज उठाएको छ। बहुराष्ट्रिय कम्पनीहरूको वर्चस्वबारे सचेत गराएको छ।

null

हामीले हाम्रा चलचित्रहरूको स्तर बुझ्नका लागि पनि एकपटक यो चलचित्र हेर्न सबैजनालाई अनुरोध छ। विश्वभरका दर्शकहरूले हेरेर मन पराएको हाम्रै देशको चलचित्र कस्तो रहेछ भनेर बुझ्न पनि यो चलचित्र एकपटक हेर्नुपर्ने हुन्छ। विश्वभरका मिडिया र समीक्षकहरूले यस चलचित्रबारे चर्चा गरेका छन्। नेपालमा पनि सम्भवतः पहिलोपटक कुनै चलचित्रले यो स्तरमा बहस, विमर्शको माहोल सिर्जना गरेको छ। यसो र, विश्वस्तरीय चलचित्र निर्माणमा यसलाई एउटा सफल प्रयास मान्नुपर्छ। राई आदिवासी समुदायको विश्वासपद्धतिलाई बुझ्न र नेपाली समाजको बहुलतालाई स्वीकार गर्न पनि यो चलचित्रले मद्दत गर्नेछ। चलचित्रमा कला, सौन्दर्यशास्त्र र दर्शनको पक्षमा मिहिनताका साथ काम गरिएको छ। चलचित्रको कथा युनिभर्सल भएकाले सबै दर्शकहरू भावनात्मकरूपमा जोडिन सजिलो पनि छ। तर, यो विपन्नताको कथा भने होइन, बरु विकासको नाममा मानवीयता मरिरहेको कथा हो। यो चलचित्र विद्यालय, कलेज र विश्वविद्यालयका प्राध्यापक, शिक्षक र विद्यार्थीहरूले एकपटक हेरिदिन अनुरोध छ। यो चलचित्र पठनपाठनको लागि उपयुक्त श्रव्यदृश्य सामग्री भएकाले नेपालको पाठ्यक्रममा पनि समावेश हुनेछ भन्ने हाम्रो अपेक्षा छ। नीति निर्माणको तहमा रहनुभएका व्यक्तित्व, राजनीतिकर्मी, समाजसेवी, स्थानीय नेतृत्व, बौद्धिक, लेखक, संस्कृतिकर्मी, कलाकार, अभियन्ता, आदि सबै नेपालीहरूले चलचित्र 'गाउँ आएको बाटो' हेरिदिन हाम्रो अनुरोध छ। 

लेखक फिल्मका निर्माता हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.