स्याङ्जाबाट ४ हजार ४८१ विद्यार्थी एसईई दिँदै
स्याङ्जा : भोलिदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा स्याङ्जाबाट ४ हजार ४८१ विद्यार्थी सहभागी हुँदैछन्। तीमध्ये २ हजार २९४ जना छात्र र २ हजार १८७ जना छात्रा रहेको जिल्ला शिक्षा ईकाई प्रमुख विश्वराज आचार्यले जानकारी दिए।
प्रमुख आचार्यका अनुसार,सामुदायिकतर्फ १३३ र संस्थागतर्फ ३६ विद्यालय सहभागी हुँदैछन्। सामुदायिकतर्फ ३ हजार ५७७ र संस्थागततर्फ ९०४ जना परीक्षार्थी रहेका छन्।
सामुदायिकका ३ हजार ५ सय नियमित र ७७ जना ग्रेड वृद्धिका र संस्थागत विद्यालयका ९ सय ३ नियमित र १ जना ग्रेड वृद्धिका परीक्षार्थी छन्।
सोही अन्तर्गत प्राविधिकतर्फ १ सय ७३ जना परीक्षार्थी छन्। कम्प्युटर इन्जिनियरिङतर्फ ६४ र बालीविज्ञानतर्फ ७३ जनाले एसईई दिँदैछन्।
परीक्षाका लागि ३४ वटा परीक्षाकेन्द्र र केन्द्राध्यक्ष तोकिएका छन्। ४५ जना सहायक केन्द्राध्यक्ष, २ सय ४२ जना निरीक्षक, ४९८ परीक्षा सहायक, ३४ जना कार्यालय सहयोगी खटाइनेछन्।
उत्तरपुस्तिका सबै परीक्षाकेन्द्रमा र प्रश्नपत्र सुरक्षा सुरक्षाकर्मीको संरक्षणमा पुगिसकेको प्रमुख आचार्यले बताए।
परीक्षालाई विधिपूर्वक,मर्यादित र शान्त वातावरणमा सम्पन्न गर्ने सबै केन्द्राध्याक्षलाई परीक्षा संचालनसम्बन्धी तालिम प्रदान गरिसकेको शिक्षा समन्वय इकाई कार्यालयले जनाएको छ।