सहकारीका बचतकर्ताले गरे सिडिओ कार्यालय घेराउ

सहकारीका बचतकर्ताले गरे सिडिओ कार्यालय घेराउ
शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गर्न पुगेका तुलसी सहकारीका बचतकर्ताहरू। तस्बिर : राकेश कर्ण
सुन्नुहोस्

विराटनगर : एकैपटक बचत फिर्ता दिनुपर्ने दबाबले संकटमा परेको विराटनगरस्थित तुलसी सहकारीका बचतकर्ताहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्।

बचतकर्ताहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गर्दै प्रर्दशन गरेका हुन्। मंगलबार निक्षेपकर्ताहरूसँग मोरङ प्रशासनको छलफल भएको थियो। 

छलफलमा सञ्चालक समितिका सबै पदाधिकारी तथा सदस्यहरूले ३ दिनभित्र समस्याको निकास निकाल्ने विषयमा सहमति जनाएका थिए। 

तर, हालसम्म सहमति कार्यान्वयनमा सहकारीले कुनै चासो नदेखाएपछि बचतकर्ताहरूले सिडिओ कार्यालय घेराउ गर्दै चर्को नाराबाजी गरेका हुन्। 

तुलसी सहकारीका सञ्चालकलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउनुपर्ने उनीहरूको माग छ। सहकारीले विराटनगरका मात्रै ५ हजारभन्दा बढी बचतकर्ताहरूको रकम हिनामिना गरेको उनीहरूको आरोप छ। 

बचत गरेको रकम फिर्ता गर्न समेत सहकारीले आनाकानी गर्दै आएको मोरङको कटहरी गाउँपालिका वडा नम्बर १ निवासी भानु थपलियाले बताइन्। 

बचत फिर्ता माग्दा जाँदा कर्मचारीहरूले तरलता अभावका कारण पैसा फिर्ता गर्न नसकिने जवाफ दिने गरेको उनीले सुनाइन्। ‘म ३ वर्षदेखि उक्त सहकारीमार्फत् कारोबार गर्दै आएकी छु। हालसम्म मैले २५ लाख रुपैयाँ बचत गरिसकेको छु,’ उनीले भनिन्, ‘तर, बचत फिर्ता माग्न जाँदा २/३ हजार रुपैयाँ पनि दिन मान्दैनन्।’

विराटनगर महानगरपालिका-२ स्थित मुनालपथमा तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालय छ। विराटनगरमा मात्रै सहकारीको ५ हजारभन्दा बढी बचतकर्ताहरू छन्। 

झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा पनि सहकारीको शाखा कार्यालय छ। सहकारीले विराटनगरका बचतकर्ताहरूबाट मात्रै करिब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। 
अन्य शाखा कार्यालयको समेत हिसाब गर्ने हो भने सहकारीले हालसम्म जम्मा डेढ अर्ब बराबरको निक्षेप संकलन गरेको बताइएको छ। 

अन्नपूर्णसँग सम्पर्कमा आएका कर्मचारीहरूका अनुसार सहकारीले ४८ करोड रुपैयाँ ऋण लगानी गरेको छ। सहकारीको शेयर पुँजी भने मात्र १० करोड रहेको छ।

सहकारीको विराटनगर–१९ स्थित मिलनचोकमा १६ कठ्ठा जग्गा छ। झापाको गौरादहमा तुलसी राइस मिलको नाममा पनि डेढ बिगाहा जग्गा छ। 

गाईघाटको खाबुमा समेत सहकारीको नाममा ३०० रोपनी भन्दा बढी जग्गा छ। सहकारीका कर्मचारीहरूका अनुसार दमक, गाईघाट र लेटाङमा पनि सहकारीले विभिन्न डिपार्टमेन्ट स्टोरहरू सञ्चालन गरिरहेको छ।

यद्यपि, सहकारीले पैसा फिर्ता गर्न नमान्नु आश्चर्यजनक विषय भएको बचतकर्ताहरू बताउँछन्। विराटनगर–११ निवासी विनोद कुमार भगत भन्छन्, ‘महिनादिन भन्दा बढी भइसक्यो। तर, आफैले जम्मा गरेको पैसा फिर्ता पाइएन्। मेरो साढे ३ लाख मात्र छ। सहकारीले २/३ हजार रुपैयाँ पनि दिन मानेको छैन।’

केही दिनयता बचतकर्ताहरूले बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै सहकारी सञ्चालक र अध्यक्षको घर घेराउ गरिरहेका छन्। जसकारण हाल सहकारीको विराटनगरस्थित मुख्य कार्यालयका साथै अन्य शाखा कार्यालयहरू पनि बन्द छन्। 

बचतकर्ताहरूको उजुरीका आधारमा मोरङ प्रहरीले मंगलबार मात्रै सहकारीको उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई पक्राउ गरेको छ। प्रहरीसँग अभद्र व्यवहारको कसुरमा उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीका डिएसपी टिका कार्कीले बताए। 

पक्राउ परेका दुवैमाथि रकम अपचलनको कसुरमा अनौपचारिक अनुसन्धान थालिएको उनले जानकारी दिए। उनले भने, ‘पैसा फिर्ता माग्ने बचतकर्ताको भीडले असुरक्षित भएपछि सहकारीका दुवै पदाधिकारीलाई उद्दार गरी जिल्ला ल्याएका थियौं। तर, उल्टै अभद्र व्यवहार गरियो। हाल उहाँहरू नियन्त्रणमा हुनुहुन्छ।’

बचतकर्ताहरूको आक्रोशित भीड बढ्दै गएपछि हप्तादिन अघि सहकारीले एक सुचना टाँस गरेको थियो। सूचनामा विश्वव्यापी आर्थिक मन्दीका कारण बचतकर्ताको निक्षेप फिर्ता गर्न समस्या भइरहेको विषय उल्लेख गरिएको थियो। 

बचतकर्ताहरू आक्रोशित हुन थालेपछि नै सहकारीको मुख्य कार्यालय बन्द गरिएको सहकारीका व्यवस्थापक सिताराम अधिकारीले बताए। सहकारीको नाममा अझैपनि पर्याप्त सम्पत्ति रहेकाले बचतकर्ताको रकम फिर्ता गर्न कुनै समस्या नरहेको उनले जानकारी दिए। उनले भने, ‘रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइसकेका छौं। केही समय लाग्छ। तर, सबैले आ-आफ्नो पैसा फिर्ता पाउनुहुन्छ।’

विराटनगर–२ मुख्य कार्यालय रहेको तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मा हुन्। सहकारी २०५२ सालमा स्थापना भएको हो। सहकारीले काठमाडौंको गोठाटारमा गोर्खा टी एण्ड कफी उद्योगमा पनि लगानी गरेको बताइएको छ। 

यसबाहेक भक्तपुरको मध्यपुर ठिमीस्थित शिखर दीप बचत तथा ऋण सहकारी संस्था, शिव शिखर कृषि सहकारी, गोर्खा वेभरेज र शिखर फ्रुट एण्ड स्पाइसेस जस्ता उद्योगमा समेत तुलसीको लगानी रहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.