बालश्रमका चुनौती
धैरै लामो समय मेड भएर डिल्लीबजारस्थित अधिकारीको घरमा झन्डै २२ वर्ष बसें। त्यहीं काम गरें। पदमकन्या स्कुुलबाट डिग्री लिए। त्यहीं पढाएँ। त्यो घरमा बस्ने अवसर नपाएको भए मेरो जिन्दगी के हुन्थो होला ? लक्ष्मी दाहाल सम्झन्छिन्। गरिबी अनि बाध्यता आफैंमा एउटा भयानक हुरी थियो उनको जीवनमा। चाहेर पनि आमाबुवाले एक छाक मिठोमसिनो खान दिन सक्ने अवस्था थिएन उनको परिवारमा। पढ्ने त कुुुरै भएन। लक्ष्मी उहाँहरूलाई कर्मदाता मान्छिन्। यत्तिको माया त कसैले पनि गर्छ जस्तो लाग्दैन उनलाई परिवारबाहेक। यत्तिसम्म कि अस्ट्रेलिया पनि उहाँहरूकै चाहना र प्रयासले जाने मौका पाइन् उनले। त्यो पनि छोरी, बहिनीको दर्जा दिएर। आज उनको जीवन सहज बनेको छ। उनले भाइबहिनीको जिम्मेवारी लिन सकेकी छन्।
विनिता कार्की १३ वर्षकी भइन्। ६ वर्षदेखि उनी एक ब्राह्मण परिवारको घरमा काम गर्दै आएकी छन्। उनी घरको सबै काम भ्याएर सरकारी विद्यालय पढ्छिन्। साँझ फेरि उनी घरको काम भ्याउँछिन्। त्यसपछि पुनः पढ्न समय छुट्ट्याउँछिन्। चारजना दिदीभाइ छन्। आमाबुवाको कमाइ शून्य भएकाले परिवारको पेट भर्न त के सामान्य खानपिन गर्न पनि धौधौ छ। छाक टार्न धौधौ भएपछि राजीखुुसीमा एक आफन्तले उनलाई नुवाकोटदेखि काठमाडौैंस्थित उक्त परिवारमा ल्याइदिएका थिए। भन्छिन्, पढ्न पनि अवसर पाएको छु। पेटभरि खान पनि पाएको छु। काम गर्न त्यति गाह्रो पनि छैन। घरमा सके जति सबै काम गर्छु। घरमा हुँदा उनी मरी मरी अरूको अन्नको भारी बोक्थिन् तर पेट भोकै हुन्थ्यो।
जीवनलाई सहज बनाउन गाह्रासाह्रा, अप्ठ्यारा काम गर्नु पर्ने अवस्थाका बालबालिका धेरै छन्। लक्ष्मी र विनिता त प्रतिनिधि उदाहरण मात्र हुन्। यस्ता थुप्रै बालश्रमिकले आफ्नै घरमा हुँदा पाएका दुःखका पोका धेरै छन्, ठूलै छन्। तर, अरूकै घरमा बसे पनि जीवन धेरैथोरै सहज भएको पाइन्छ। ढुंगो खोज्दा देउता मिलेझैं भएको छ यस्तै कतिपय बालबालिकालाई। केहीको हकमा भने अरुको घर पुगेपछि पाउने सास्तीले थुप्रै समस्या निम्त्याएको पाइन्छ। अपवादबाहेक धेरैले जीवनलाई केही भए पनि सरल र सहज बनाउने अवसर पाएको भेटिन्छ।
किनकि गाउँमा बास थिएन, गाँस थिएन। आङ ढाक्ने कपडा थिएन तर काठमाडौंमा राम्रो परिवार भए मेरो सन्तान राखिदेऊ न भन्नेहरू धेरै छन्। काठमाडौंमा अधिकांश मानिस कामको व्यस्ततामा हुन्छन्। भएका सन्तान लाखापाखा लागेपछि पनि घरमा सहयोगीको भूमिका अपेक्षा गरिन्छ नै। त्यसैले पनि काम गर्नेहरूको आवश्यकता परेको हुन्छ। यस्ता कतिपय परिवार छन् जसले आफूलाई सहयोग हुने मात्र होइन, ती बालबालिकाको जीवनमा केही राहत पुगोस् भन्ने पनि चाहन्छन्। अनि पढाइदिने र बाटो देखाइदिने काम पनि गर्ने गरेको पाइन्छ। शिक्षा दिने मात्र होइन, परिवारमा उपलब्ध सुविधा पनि दिएर राख्ने गरेको पाइन्छ। यसको अर्थ सबै मानिस सहृदयी हुन्छन् भन्ने होइन। कतिपयले त बालबालिकालाई साह्रै दुःख दिने अझ यातना दिने गरेका घटनाहरू पनि सार्वजनिक हुुने गरेका छन्।
ठूलाभन्दा पनि कम उमेरका साना नानीबाबु घरायसी कामदारको रूपमा खोज्ने गरेको पाइन्छ। किनकि उनीहरूलाई काम लगाउन सजिलो हुन्छ। आफूसँगै कतै लैजान पनि मिल्छ। सम्झाउन बुुझाउन पनि सकिन्छ। यतातिर हामी बालश्रम अन्त गरौं भन्छौं अर्कोतिर धेरै ठाउँमा बालबालिकाको अवस्था दयनीय छ। गाँसबासका लागि लडिरहेका छन्। शिक्षा त परै जाओस्, आङ ढाक्ने गतिलो कपडासमेत छैन। न शिर लुुकाउने बास छ। यसले गर्दा पनि धैरै बालबालिका अरूको घरमा घरधन्दा गर्न बाध्य छन्। त्यहाँ रमाउन बाध्य छन्।
खान, लाउन, बस्न, पढ्न र घुम्न पनि पाएपछि बालबालिका यसै पनि दंग पर्छन्। त्यसमा परिवारको माया पनि जोडिने घर भेट्दा त उनीहरूलाई स्वर्गकै आभास हुन्छ। पारिवारिक गरिबी कसैको रहर होइन। त्यसको नाममा कोही पनि बालबालिका त्यहीं जकडिएर जीवन बिताउनु पर्छ भन्ने पनि होइन। अन्यत्रै गएर पनि केही अवसर र लाभ प्राप्त हुन्छ भने त्यो गुमाउनु पर्ने पनि होइन। अझ जीवनको आधार बन्न सक्छ। त्यसो हुँदा जो कसैले पनि लाचारीपन र भोको पेटको कहालिलाग्दो दैनिकीबाट छुटकारा खोजेकै हुन्छ। त्यसका लागि सहरमा कसैको घर पाउनुलाई अन्यथा नलिँदा पनि हुन्छ।
बाढीले घर बगायो। घरसँगै बुवालाई पनि बगायो। दुई, चार पैसा आम्दानी गर्ने दुईवटा बाख्रा पनि सँगै बगे। अब न बस्ने बास न खाने गाँस। त्यसपछि त राजेशको हालत भयो। सानिमा बस्ने काठमाडौं ताहाचल आए उनी। सानिमाले कसैको घरमा काम गर्न राखिदिइन्। अहिले उनी खुसी छन्। नौ कक्षामा पढ्छन्। खानलाउन र बस्न राम्रोसँग पाएको उनको भनाइ छ। घरमालिकले कहिलेकाहीँ गाडीमा पनि घुमाउँछन्। घरमा सघाउँदा पाएको अलिअलि पैसा उनी गाउँमै रहेकी आमालाई पठाउँछन् पनि राजेश। यस मानेमा उनी खुुसी छन्। तर, उनकै दाइ जोरपाटीमा अरूकै घरमा काम गर्न बस्दा पाएको पीडाले भने उनी छटपटिन्छन्। धैरै गाह्रो र असजिलो भएपछि उनका दाइले खलासीको काम गर्न थाले। दुःख भए पनि उनले कसैको दबाब खेप्न परेको छैन।
जुन १२ तारिखमा विश्वभरि नै बालश्रम दिवस मनाइन्छ। यसमा विशेषगरी बालश्रमबारे जति चर्को नारा लगाए पनि गरिबी र लाचारीपनले अभिभावक सन्तानलाई बालश्रममा लगाउन बाध्य छन्। सम्भावित जोखिमपूर्ण जिन्दगी सम्झिएर पनि अँध्यारोपछिको उज्यालोको आशामा उनीहरू ससाना सन्तानसमेत अरुलाई सुम्पिन बाध्य छन् उनीहरू। बालश्रमको बारेका सचेतनामूलक कार्यक्रमहरू निकै बनेका छन्। चेतना पनि आवश्यक छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुुनले बालबालिकालाई काम गर्ने अनुुमति त दिएको छैन। तर त्यसो भनेर गरिखान नपाएपछि गर्ने के ? या त सरकारले विकल्प दिनुप¥यो। होइन भने गाँस र बासका लागि जो कसैले पनि उपाय खोज्छ नै। यसरी कतिपय बालबालिकाले त बुवाआमा र परिवार नै पनि पालेका उदाहरण छन्।
केन्द्रीय तध्यांक विभागले गरेको नेपाल श्रमशक्ति सर्वेक्षण २०७८ अनुुसार १७ वर्षमुनिका १ लाख ५ हजार बालबालिका काममा छन्। हुन त सरकारले १० वर्षे बालश्रम निवारण गर्न राष्ट्रिय गुुरुयोजना (२०७४–२०८३) लागू गरेको छ। सबै प्रकारका बालश्रम निवारण गर्ने लक्ष्य पनि छ। बालबालिकाको सुनिचित भविष्यका लागि सोच्नु आजको आवश्यकता हो। बालश्रमको चाँडै उन्मूलन होस्।