चुनावमा गठबन्धनको औचित्य

चुनावमा गठबन्धनको औचित्य

केही आशंका र केही उत्साहबीच सत्ता गठबन्धनले अधिकांश स्थानीय तहमा संयुक्त उम्मेदवारी दर्ता गरेको छ । महानगर र उपमहानगरमा साझा उम्मेदवार उठाउन सफल भए पनि केही गाउँ/नगरमा भने गठबन्धनको ‘मर्म र भावना’अनुसार साझा उम्मेदवारी पर्न सकेन । यद्यपि, जे जति उम्मेदवारी परेका छन्, तीभित्र सहमति खोज्ने र गठबन्धनको साझा उम्मेदवार बनाउने गृहकार्य चलिरहेकै छ । यसबाट पनि सकारात्मक परिणामको अपेक्षा गर्न सकिन्छ ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्र गठबन्धन गरेर चुनावमा जाने कि नजाने भन्नेमा सुरुदेखि नै विवाद, बहस र फरक मत थिए । एकथरी साथीहरू, कम्युनिस्ट पार्टीमा विभाजन आएको, कांग्रेसका पक्षमा चुनावी माहोल बनिरहेको भन्दै कांग्रेस एक्लै चुनावमा जानुपर्ने तर्क गरिरहेका थिए । गठबन्धन गर्दा कांग्रेसकै नेता/कार्यकर्ताले ‘रुख’ मा भोट हाल्न नपाउने र यसले दीर्घकालसम्म पार्टीलाई नोक्सान पुर्‍याउने उनीहरूको तर्क थियो । यो तर्क, भावना र चिन्ताप्रति पार्टी नेतृत्व पनि उत्तिकै चिन्तित थियो । यस विषयमा पार्टीमा अनेक कोणबाट छलफल र बहस भए । सरकार गठनताका पाँच दलबीचको सहमतिअनुसार अघि बढ्ने निष्कर्षमा पार्टी पुग्यो । र, सत्तासीन दलहरूबीच स्थानीय तहमा गठबन्धन कायमै राख्यौं । गठबन्धनका साझा उम्मेदवार बनाएर चुनावमा जाने निर्णयमा पुग्यौ । यो कांग्रेस पार्टी र नेतृत्वका लागि रहर नभई परिस्थितिको बाध्यता थियो ।

सत्तासीन पाँच दलबीचको गठबन्धन भिन्न परिस्थितिको भिन्न उपज हो । भिन्न अवस्थामा भिन्न निर्णय हुन्छन् नै । पार्टीका कर्मठ, बफादार नेता/कार्यकर्तालाई कतै यो पार्टी बिग्रन्छ कि, भत्किन्छ कि ? रुखमा भोट हाल्न नपाउँदा मतदातामा निराशा उत्पन्न हुन्छ कि वा ‘फ्रस्टेसन’ आउँछ कि भन्ने चिन्ता र चासो छ । यो चिन्ता र सरोकार स्वाभाविक र जायज हो । तर, यहाँनेर बुझ्नै पर्ने पक्ष के हो भने गठबन्धन कुन राजनीतिक स्थितिमा के का लागि बनेको थियो ? आज संविधान र परिवर्तन जोगाउन जसरी सफल भएका छौ, त्यसका पछाडि अरू दलको पनि भूमिका थियो कि ? यतातर्फ पनि ध्यान जान जरुरी छ । 

पार्टीका कर्मठ, बफादार नेता/कार्यकर्तालाई कतै यो पार्टी बिग्रन्छ कि, भत्किन्छ कि ? रुखमा भोट हाल्न नपाउँदा मतदातामा निराशा उत्पन्न हुन्छ कि ? वा ‘फ्रस्टेसन’ आउँछ कि भन्ने चिन्ता र चासो छ। यो चिन्ता र सरोकार स्वाभाविक हो।
तत्कालीन नेकपाको झन्डै दुई तिहाइको सरकार र त्यसका प्रधानमन्त्री केपी ओलीको स्वच्छेचारी शासन, दम्भ र कुण्ठा, भ्रष्टाचार–कुशासनविरुद्ध पाँच दलले संयुक्त रूपमा लडेका थियौं । त्यति मात्र होइन, ओलीले दुई–दुई पटक संसद्को घाँटी निमोठे । जनप्रतिनिधि निकायलाई भंग गरे । संविधानको हत्या प्रयास गरे । जनताले लडेर ल्याएको संविधानलाई समाप्त पारेर परिवर्तन उल्ट्याउन खोजे । संघीयतालाई समाप्त पारेर मुलुकमा फेरि द्वन्द्व, अस्थिरता र अन्योलता सिर्जना गर्न खोजे । राजनीतिक रूपमा भन्दा, प्राप्त सबै उपलब्धि उल्ट्याउने र मुलुकलाई पुनः प्रतिगमनतिर धकेल्न खोजे । त्यो बेला मुलुकलाई अँध्यारो सुरुङमा धकेलेर आफू रमिते बन्न खोजे । देश जनता र समाजप्रतिको चिन्ताभन्दा पनि आफ्नो सत्ता कसरी जोगाउने भन्ने ध्याउन्नमा ओली थिए ।

कांग्रेस र उसका समर्थकप्रति ओली नेतृत्वको सरकार र उनका नजिकका मान्छेहरूको व्यवहार, शैली, बोली र आक्रमण कस्तो थियो ? सम्झाइ राख्नु पर्दैन । त्यो स्थितिबाट मुलुकलाई पुनः संवैधानिक बाटोमा डोर्‍याउन पाँचदलीय गठबन्धन बनेको थियो । त्यतिबेला कसले सत्ताको नेतृत्व लिनेभन्दा पनि ओली नेतृत्वको सरकारका असंवैधानिक काम कसरी रोक्ने र संविधान तथा उपलब्धि कसरी जोगाउने भन्नका लागि गठबन्धन बनेको थियो । सिंगो मुलुक एक ठाउँ उभिँदा मात्रै ओलीको ज्यादती, अहंकार र दम्भको अन्त्य भएको थियो । त्यसको नेतृत्व पनि कांग्रेसले नै गरेको थियो । अर्थात्, जुन जग र धरातलमा गठबन्धन बनेको थियो, त्यसको उद्देश्य पूरा हुन बाँकी छ । लक्ष्य भेट्टाउन संघ र प्रदेशको चुनावसम्म गठबन्धन जरुरी छ । 

कांग्रेस मुलुकको पुरानो लोकतान्त्रिक पार्टी हो । जीवनमा कैयौं हन्डर र ठक्कर खायो । असिनापानी र हुरी व्यहोर्‍यो । र पनि, जनताको लोकप्रिय पार्टी बनिरह्यो । कुनै बेला दरबार र पञ्चहरू मिलेर कांग्रेस सिध्याउने खेल भए । कांग्रेस डगमगाएन । कम्युनिस्ट एकताका नाममा कांग्रेसलाई किनारामा पार्ने दाउ रचिए । र पनि, कांग्रेस दबेन । जनताको अपार माया र स्नेहमा कुनै कमी छैन । फेरि पनि स्थानीय तहको निर्वाचनबाट जनताले कांग्रेसलाई प्रिय पार्टीका रूपमा निर्वाचित गराउनेमा कुनै दुविधा छैन । स्थानीय तहको चुनावबाट पहिलो पार्टी हुँदै कांग्रेसले प्रदेश र संघको चुनाव जित्नेमा दुविधा छैन । 

गठबन्धनको सहमतिअनुसार सबै जिल्लामा उम्मेदवार चयन हुन नसकेको यथार्थता हो । एउटै पार्टीभित्र त उम्मेदवार बन्न लफडा हुन्छ । सबै ठाउँमा सर्वसम्मत उम्मेदवार उठाउन सकिँदैन । बागी उठनेको लर्को हुन्छ । पाँचदलीय गठबन्धन भनेको फरक विचार र सिद्धान्त मान्नेबीचको एकता हो । कांग्रेसमा मात्र होइन, अरू दलभित्र पनि गठबन्धन र साझा उम्मेदवारका विषयमा विवाद देखिएका छन । थु्रपै ठाउँमा अरू दलबाट पनि बागी उम्मेदवारी परेका छन । त्यस्ता ठाउँमा बागी उम्मेदवारलाई फिर्ता लिन लगाउने, साझा भावनाअनुसार अघि बढने र चुनावमा गठबन्धनका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउने दायित्व गठबन्धनका दल र नेताहरूमा छ । गठबन्धनको विरोधमा आफ्m्नै उम्मेदवारलाई घात गर्ने, मत नदिने र हराउने कुरा सैह्य हुन सक्दैन । पार्टीका सबै निर्णय आफूलाई सधैं मन नपर्न सक्छन् । तर, असल र इमान्दार कार्यकर्ताका लागि पार्टी भनेको सबैभन्दा माथि हुन्छ । पार्टीको निर्णयलाई शिरोधार्य गर्दै अघि बढ्न जरुरी छ । 

२०७४ को स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिमार्फत जनताको घरदैलोमा सेवासुविधा पुर्‍याउन सफल भयौं । घरदैलोमै सरकार पुगेपछि जनताले राहतको महसुस गरे । एकाध ठाउँमा भ्रष्टाचार, अनियमितता र अपारदर्शिताका कुरा उठे पनि लोकतन्त्रको उपहार जनताको घरदैलोसम्मै पुर्‍याउन सफल भएका छौं । कांग्रेसले यसका लागि जनता समक्ष आफ्नो संकल्प प्रस्तुत गरिसकेको छ । ‘कोखदेखि शोकसम्म’का सामाजिक सुरक्षाका कार्यक्रममा कांग्रेसले जोड दिएको छ । कांग्रेसको यो देखावटी नारा मात्र नभई जनतामा गरिएको संकल्प हो । शिक्षा, स्वास्थ्य र रोजगारीमा पनि कांग्रेसले आफ्ना प्रतिबद्धता जनाएको छ । 

कांग्रेस र कांग्रेसीजनका लागि गठबन्धनका उम्मेदवारका पक्षमा खुलेर चुनावमा लाग्ने र अत्यधिक मतले विजयी गराउनुबाहेक अर्को विकल्प छैन । बागी वा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिनुपर्छ । अरू दलबाट पनि त्यो अपेक्षा गरेका छौ । उम्मेदवारी वा अवसर नपाउँदाका पीडाबारे पार्टीमा बहस गर्ने ठाउँ ज्युँदै छन् । इमान्दार, कर्मठ र क्रियाशील नेता/कार्यकर्ताका लागि अवसरका ढोका प्रशस्तै छन् । त्यस्ता नेता/कार्यकर्तालाई आउँदा दिनमा अवसर दिन नेतृत्वले पनि छाती फराकिलो पार्नै पर्छ । कांग्रेसी नेता/कार्यकर्तामाथि जहिले पनि घात/अन्तर्घातको प्रश्न उठ्ने गर्छ । यो चुनावबाट त्यसलाई निमिट्यान्न पार्ने र आपसी विश्वास र सौहाद्रपूर्ण वातावरण बनाउनतिर कांग्रेसका सबै नेता/कार्यकर्ता जुट्नै पर्छ । पार्टीलाई जितायौ भने मात्रै कांग्रेस बलियो बन्छ । हाम्रा एजेन्डाले स्थान पाउँछन् । त्यसैले, यो चुनावमा लोकतन्त्र, संविधान र परिवर्तन पक्षधरले जित्नैपर्छ । यो चुनाव संविधान मान्ने र नमान्नेबीच, परिवर्तनका पक्षधर र उल्ट्याउन खोज्नेबीचको प्रतिस्पर्धा हो । अर्थात्, अहंकारका पक्षमा उभिने कि, लोकतन्त्रका पक्षमा उभिने भन्ने प्रश्नको पनि निरूपण हुनेछ, यो निर्वाचनबाट । त्यही कारण भिन्न विचार र सिद्धान्त मान्ने दलबीच गठबन्धन गरेर चुनावमा होमिएका छौं । कांग्रेसका इमानदार र कर्मठ सिपाहीले यो अवस्था र बाध्यता बुझ्ने नै छन् । 

साउद कांग्रेसका युवा नेता हुन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.