सम्भव छ हिंसाविहीन समाज
महिला आज जुुन उसाहसँग सुरक्षा र अधिकारका लागि लडिरहेका छन्, सोही अनुसार आफूलाई योग्य प्रमाणित गर्दै अघि बढिरहेका छन्। यसलाई नारीको उपलब्धि मान्नुपर्छ। विभिन्न बाधा अड्चनबीच नारीले पाएका सफलताहरू सराह्रनीय छन्। दुर्भाग्य, एकातिर राजनीति र समाज सेवा गर्नेहरूले नारी दिवस मनाउने क्रममा उनीहरूका हकहितमा भाषण गरिरहेका छन् तर अर्कोतिर नारीहरू दिनहुँ हिंसामा परिरहेका छन्। घरेलुहिंसा, दाइजो काण्ड, बलात्कार, तेजाव काण्ड अनि मानसिक हिंसाबाट उम्कन नसकेका घटना छन्। नारी–पुरुष बराबर भन्छौं तर छोराका लागि वर्षैंपिच्छे सन्तान उत्पादन गर्ने मेसिन बनाइरहेका छौं।
के आज नारी दिवस हरेकको घर, पेटी, गल्ली, समाजमा पुगेको छ ? के ग्रामीण र गरिबी चपेटामा परेकाहरूले नारी दिवसको महत्त्व बुझेका छन्। नारी दिवसले महिला साक्षरता, सामाजिक, आर्थिक, राजनीतिले साझा सवाल बनाएर नारी सशक्त बन्न प्रोत्साहन गरेको छ ? भन्न अझै गाह्रो छ। महिनावारी हुुँदा प्याड लगाउन नजान्ने महिला हाम्रै समाजमा छन्। महिनावारी हँुदा कोठामा बन्द गर्नुपर्छ भन्ने सोच अझै बाहिरिएको छैन। सुत्केरीमा पेटभरि खान नपाउने अशक्त बनेका नारीहरू अझै छन्। आङ ढाक्ने कपडा नपाएर लथालिंग परेका नारी सडकछेऊ झुपडीमा बस्न बाध्य भएका छन्। खाडी मुलुकमा आफ्नो शरीर बिकाएर परिवारलाई गुजारा गर्दै आएका महिलाहरूका समाचार अझै लेखिँदैछ। आफ्नो अधिकार र सुखसुविधाबाट धेरै नारी बञ्चित हुनु परेको छ। महिलामा कठिन र बाधा अप्ठ्यारा र चुनौती थुप्रै छन्।
कानुनले नै श्रममा नारी–पुरुषबीच विभेद छैन तर व्यवहारमा स्पष्ट देखिन्छ। महिलाले साथ, समर्थन र हौसला पाएको खण्डमा थुप्रै ठुला काम गर्न सक्छन्।
हुन त आज थुप्रै महिला अघि बढेका छन्। यसका उदारणहरू हामीमाझ थुप्रै छन्। पहिलो महिला राष्ट्रपति विद्या भण्डारी, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की, पहिलो सगरमाथा आरोही पासाङल्हामु शेर्पा आदि। जसले उच्च ओहोदामा रहेर सफलता हासिल गरिरहेका छन्। यी हातमा गन्न सकिने उदाहरण मात्र हुन्। पहँुच र उच्च ओहोदामा बढीभन्दा बढी महिलाहरू पुग्नु आजको आवश्यकता बनेको छ। ठुलो संख्यामा पुगेका पनि छन्। धैरै महिला अझै पनि आफ्नो हकहित र अधिकारका लागि अझै उठ्न सकेका छैनन्। वरिष्ठ व्यक्तित्वसँगको सन्दर्भमा सुनेकी छु, ‘महिलाले एक दिन नारी दिवसको पर्खाइमा बस्नुभन्दा हरेक दिन महिला दिवस हुने वातावरण बनाउनुपर्छ। कतै पनि महिला हिंसाका खबर सुन्न नपरोस्। आफू स्वतन्त्र भएर काम गर्न पाउन्। क्षमता अनुसारका अवसर सिर्जना गरिनुपर्छ।’ नारी दिवसको इतिहास लामो छ। यसलाई स्वतन्त्र रूपले मनाउन विश्वका नारीको निकै ठुलो भूमिका छ।
संयुक्त राज्य अमेरिका सोसलिस्ट पार्टीले २८ फेबु्रवरी १९०९ मा सर्वप्रथम नारी दिवस मनाएको थियो। पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारहरूको आन्दोलन स्मरणमा गर्दै १९०९ को दिन महिला दिवस मनाइएको थियो। त्यसपछि यो दिवस फेव्रुबरीको अन्तिम दिन आइतबार मनाउन थालियो। १९१० मा सोसलिस्ट इन्टरनेसनलको सम्मेलनमा अन्तर्राष्ट्रिय दर्जा दिइयो। सन् १९१७ मा रसियाका महिलाले नारी दिवसमा गाँस, बास र कपासका लागि आन्दोलन गर्ने निर्णय गरे। आफ्नो जीवनलाई ऊर्जा थप्ने काममा अग्रसरता देखाउन थाले। १९०९ मा सर्वप्रथम नारी दिवस मनाइयो अनि १९१० मै महिलालाई मत हाल्ने अधिकार दिइयो। अलगअलग ठाउँमा अलग तारिखमा महिला दिवस मनाउँदै आएको थियो। पछि मार्च ८ मा नारी दिवस विश्वभरि नै मनाउँदै आइएको छ।
विश्वमा धैरै महिला अघि बढेका छन्, जिम्मेवारी बुझेका छन्। महिला पुरुष बराबर भएका छन्। तर पनि हामी आफ्नै घरबाट आनन्दको श्वास फेर्न सकेका छैनौं। महिलाले सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक जस्ता क्षेत्रमा आफूलाई स्थापित गराउन नसक्नु दुःखद् कुरा हो। २१औं शताब्दीमा पनि बालिकाले उचित शिक्षा पाएका छैनन्। सरल जीवन बाँच्न पनि धैरै बाधाअड्चन पार गर्नु परेको छ। महिलाले सफलता पाए भने दुनिया“ कुरा काटेर बदनाम गराउन तल्लीन हुन्छ। असफल हुँदा त्यसरी नै तल पारेर कुरा गरिदिन्छन्। लैंगिक विभेदको रूपमा हेर्ने र सम्बोधन गर्ने चलन हटेकै छैन।
कानुनले नै श्रममा नारी–पुरुषबीच विभेद छैन तर व्यवहारमा स्पष्ट देखिन्छ। महिलाले साथ, समर्थन र हौसला पाएको खण्डमा थुप्रै ठुला काम गर्न सक्छन्। यसका उदाहरण धेरै छन्। आफूमाथि गलत भइरहेको छ भने महिलाले त्यो गलत अब सहनु हुँदैन। शतप्रतिशत महिलाले न्याय र अधिकार पाउन जरुरी छ।