फैसला
कार्यालयमा सबैको बिचमा एक पुरुषले भने ‘सुलोचना म्याडम दोस्रो विवाह गर्नु भएछ ल बधाई छ।
पुरुष : कहिले गनुभयो ?
पुरुष : हो, सबै शाखामा तपार्इंको कुराको चर्चा भएको छ। मलाई पनि शमशेर सरले भन्नु भएको यो खबरले आश्चर्यचकित भएँ पत्याउनै गाह्रो भएको थियो। म्याडमको बारेमा यस्ता कुरा।
म्याडम : किन सर ?
पुरुष : म्याडमले पनि यस्तो कदम चाल्नुहुन्छ भन्ने मैलै सोचेको थिइनँ। हामीसँगै यस कार्यालयमा नियुक्ति भएका थियौं तपार्इंको विवाहमा म पनि उपस्थित भएर भोज खाएको थिएँ। तपाईं निकै योग्य र उत्कृष्ट नारी लाग्थ्यो, त्यसैले।
म्याडम : उसो भए मेरो ओहोदा घट्यो होइन र सर ?
पुरुष : त्यसो त भन्न खोजेको होइन, श्रीमतीलाई ‘आइमाई हुनु त सुलोचना म्याडम जस्तो’ हुनुपर्छ भन्दै उदाहरण दिन्थें। यो उदाहरण गलत भए जस्तो छ अब ?
म्याडम : हो र ! ठीकै छ, उसो भए तपाईंको घरमा पनि मेरो दर्जा घट्यो होइन अब ?
पुरुष : के भनौं मलाई थाहा छैन। कतै–कतै म्याडमको अस्तित्व गले जस्तो लाग्यो। म्याडम अलिकति जातभात हेर्नु भएको भए हुन्थ्यो कि भनेर।
म्याडम : ‘माइन्ड योर ल्याङ्ग्वेज’ कृपया शुद्ध भाषा बोल्नुहोस् महाशय के भन्दै हुनुहुन्छ ?
पुरुष : माफ पाउँ, तर समाजले यहीँ भन्छ तपाईंलाई ‘यो आइमाईको होश उडेको छ।’ मलाई पनि अचम्म लागेको छ। एउटा शिक्षित अनि प्रतिष्ठित आइमाईको यो निर्णयप्रति।
म्याडम : अचम्म मानु पर्दैन सर ?
पहिलो वैवाहिक जीवनबाट मुक्त भएको छु। आफ्नै सुहाउँदो जातसँग विवाह गरें त्यो परिवारले के दियो मेरो लागि ? पशुजस्तो निरीह जीवन दियो, मान्छे होइन, पशु बन्न बाध्य बनायो। मैले धेरै चोटी यातना सहेँ मेरो मुखमा पिसाबसम्म खुवाउने प्रयास गर्यो मेरो शिक्षित लोग्नेको परिवारले।
मप्रति गरेको अनैतिक कार्यले पीडा भएको छ। सहनेको सीमा नाघेपछि यस्तो निर्णय गर्न बाध्य भएको हुँ। दुई दिनको कुरा भए त हुन्थ्यो, एक दशक लामो समय पीडामा गुज्रियो। हरेक दिन पिटाइ। ती नीलडाम लिएर अनुहार कसरी देखाउँथें ? कार्यालयमा सबैले भन्थे, म्याडमको अनुहार कहिल्यै उज्यालो देख्न पाइएन। यातना लिएर कति दिन सम्झौता गर्ने ? म मान्छे हुँ रहर मेरा पनि हुन्छन्। घामको कुनै किरण नदेखेपछि फैसला त लिनै पर्यो नि।
पुरुष : यति ठूलो कदम उठाउन तपाईंलाई डर लागेन म्याडम ? समाजसँग, आफ्नासँग, आफन्तसँग ?
म्याडम : समय र बाध्यताले गराउँदो रहेछ सर। समाजले जेसुकै भनोस् म आजाद छु। आज मसँग सोच्न सक्ने क्षमता छ, आफैं पनि निर्णयप्रति खुसी छु। मेरो जिन्दगीमा अरूले प्रश्न गर्नुपर्ने कारण देख्दिनँ।
पुरुष : दोस्रो वैवाहिक जीवन कस्तो चल्दै छ ?
म्याडम : राम्रै छ। अहिले कसरी भनौं गृहस्थीको बारेमा भर्खर त १५ दिन हुँदैछ हेरौं। जस्तो भए पनि तपार्इंहरूले थाहा पाइहल्नुहुन्छ। भागेर कतै जान्नँ। कसै न कसैले तपाईंसँग मेरो कुरो पुर्याइहाल्छ ढुक्क रहनुहोस्।
पुरुष : त्यो त ठीकै छ म्याडम, यो समाजमा बोझको पहाड लिएर कसरी उभिनु हुन्छ ?
म्याडम : देखिरहनुभएको छ त, तपाईंको अगाडि निर्धक्क भएर उभिरहेको छु। एकजुट भएर समाज मेरो पछि दौडिरहेको छ। तर, पनि आपत्ति छैन। अनि तपाईंको खबर सुनाउनुहोस् ? काठमाडौं कहिले आउनुभयो ? तपाईंको श्रीमतीको खबर राम्रै छ ?
पुरुष : श्रीमतीले लोक सेवा पास गर्न सकिन, त्यसैले ब्युटिपार्लर खोली दिएको छु।
म्याडम : श्रीमती खुसी त छिन् नि ?
पुरुष : खुसी पार्न धैरै कोसिस गरेको छु। मनको कुरा त कसरी बुझौँ ‘स्त्रीको चरित्र कसैले बुझन सक्दैन भन्छन्।’
म्याडम : पुरुष हुनुको ठूलो अहम् छ होइन त तपाईंलाई।
पुरुष : किन म्याडम यस्तो प्रश्न सोध्नुभयो।
म्याडम : सबै पुरुष एकै हुन्छन् या अलग भनेर बुझ्न चाहेको हुँ। पक्का पुरुषको छवि तपाईंमा पनि रहेछ। तपाईंका लागि चिया कफी केही मगाउँछु बस्नुहोस् के पिउन चाहनुहुन्छ ?
पुरुष : पर्दैन म्याडम। केही लिन्नँ।
म्याडम : असजिलो मान्नु पर्दैन हाम्री गीता मीठो कफी बनाउँछे उसको हातले बनाएको चाख्नुहोस् आज। के काम छ ल भन्नुहोस् तपाईंको।
पुरुष : काम त खासै होइन म्याडम यो तीन, चार वटा बिल साइन गराउनुपर्ने थियो त्यसैले म्याडमकोमा आएको हुँ।
म्याडम : तपाईँ त निकै बाठो हुनुहुँदो रहेछ सर। दुई दिनको कार्यालयको कामका लागि भनेर चार दिनको काम निकालेर घर पनि पुगेर आउनुभएछ है ? बिल पनि निकै नै बनाउनु भएछ त। सबै कार्यालयकै नाममा बनाउनुभयो ?
पुरुष : के गर्नु म्याडम। गर्नै पर्यो दुई जिउकी श्रीमती छ, यो अवस्थामा हेर्न जानै पर्यो। सन्तानको कुरा हो, विवाह भएको आठ वर्षपछि बल्लबल्ल पेट बोकेकी छिन्।
म्याडम : ओहो ! महाशय ढिलै भए पनि बाबु बन्ने अवसर पाउनु भएछ। राम्रै कुरा हो, ल कफी पिउनुहोस्। मीठो छ हैन त कफी ?
पुरुष : साह्रै मीठो छ म्याडम। तपाईंको विवाह भएको लामै भयो यो कार्यालयमा पनि लामै समय बिताउनु भयो। काममा जहिले प्रमोसन पाउनु भयो तर गृहस्थी जीवनमा कहिलै प्रमोसन हुनु भएन नि ? न आमा नै बन्न सक्नुभयो।
म्याडम : अवसर पाइनँ, गृहस्थी जीवनमा। घरायशी जीवनमा धैरै धैरै उतारचढाव आए।
पुरुष : जिन्दगीबाट विवाहित पुरुषलाई नै निकालिदिनु भयो।
म्याडम : निकाल्न पर्ने चिज निकाल्नै पर्ने रहेछ, नभए भित्रभित्र धमिराले खाए झै खोक्रो पारिदिन्छ। ‘प्वाल टाल्न सकिन्छ कि भनेर धैरै प्रयास गरेँ तर, सकिनँ अझै ढिलै निकाले सर। कसरी सहें मलाई मात्र थाहा छ। तर, आजसम्म सरले दोस्रो विवाह गर्नुभएको छैन नि ? किन विवाह गर्नुपर्यो सर, ठाउँठाउँमा ‘रखेल’ भएपछि। सर, त जिल्लातिर प्रमोसन लिएर जानुभएको छ रे त ?
पुरुष : होला यस्ता कुरा घर बाहिरकै मान्छेलाई थाहा हुने हो मलाई थाहा छैन। ‘नजाने गाउँको बाटै नसोध्नु’ भन्छन्। राम्रो सम्पन्न फुर्तिलो पुरुषलाई छोडेर निरीह पुरुषसँग वैवाहिक जीवनमा बाँधिनुभयो। आफू सफल भएजस्तो लाग्छ ?
म्याडम : लाग्छ। एउटा महिलाको सफलता पुरुष छोडेर हुन्छ र ? महिलालाई महिला भएर बाँच्न नदिएपछि के गर्न सकिन्छ ? यस्ता फैसला लिनै पर्छ। पुरुषले दोस्रो विवाह गर्दा कसैलाई आपत्ति हुँदैन। मैले दोस्रो विवाह गर्दा समाजलाई निकै आपत्ति भयो। केही गरी तपाईंलाई यहीँ प्रश्न सोधियो भने तपाईंको जवाफ हुन्छ ‘जुत्ता भए खुट्टा कति कति।’
पुरुष : म्याडम तपाईंले त, सरसँग लामै समय बिताउनु भयो तर, सन्तान चै भएन, रहर नभएर हो कि ?
म्याडम : कस्तो कुरा गर्नुहुन्छ महाशय ? कुन महिलालाई आमाको चाहना हुँदैन र ? बच्चा बस्थ्यो तर उसको पिटाइ र चुटाइले खेर जान्थ्यो। पेटमा भएको बच्चा तीन चोटी खेर गयो। उसको बलको अगाडि मेरो केही लागेन। उसले मेरो जिन्दगी लाचार बनाउन खोज्यो। कहिल्यै श्रीमतीको दर्जा दिन नसक्ने पुरुष। सन्तान नभएका जोडीहरूले पनि त जीवन खुसीले बिताएका छन्।
पुरुष : तपाईंको कुरा सुन्दा यस्तो लाग्छ म्याडम, धैरै पढेर जानेर तपाईंको बुद्धि बिग्रिएजस्तो तपाईंकै आफन्तले पनि भन्छन्।
म्याडम : कसरी भन्नु भयो सर ? यस्ता कुरा आफ्नो जिन्दगीलाई एक मौका दिन पनि नपाउने भन्ने छ र ? हो मसँग चेतना पनि छ, पढेलेखेकी पनि छु। राम्रो कमाइ छ तर, म किन ओझेलमा पर्नु महाशय मेरो पनि त जिन्दगी छ। सबैले आफ्नो जिन्दगी जिउने आधार खोज्नुपर्छ।
पुरुष : जमिन्दार लोग्ने छोड्दा मोटो रकम नै माग्नु भयो होला नि ?
म्याडम : कस्तो हेप्नु भएको महाशय यति कमजोर छैन म। कसैको अंश लिएर आफ्नो वर्चस्व घटाउँ ?
पुरुष : आजको यो परिस्थितिमा कमाईधमाई खासै नभएको मानिससँग जीवन जोड्नु भएको छ। सहज त पक्कै पनि छैन होला ?
म्याडम : हिजो सबैथोक दिन सक्ने पुरुषले केही दिएन। बरु सबथोक मसँग लियो। आज निरीह भनिएको पुरुषले सबथोक दिन तयार छ। उसमा मानवता छ। एउटा आइमाईले चाहेको पुरुष पनि त्यस्तै हो।
पुरुष : एउटा पुरुषबाट धोका पाइसकेपछि अर्को पुरुषलाई कसरी विश्वास गर्नुभयो ?
म्याडम : साहस देखाएर दोस्रो विवाह गरेकी छु। कम्तिमा कैदी जीवनबाट मुक्ति पाएको छु। म आइसक्रिम जस्तो पग्लने केटी होइन अब धोका पाउँदिनँ पनि भन्न सक्दिनँ। तर पुन: सपना देख्ने प्रयास मात्र गरेकी हुँ।
पुरुष : म्याडम सरी है। एउटा अन्तिम प्रश्न गर्न चाहेँ, तपार्इं आफैंमा उदाहरणीय सक्षम महिला। तपाईंले पुन: विवाह नगरी एक्लै बस्न पनि त सक्नुहुन्थ्यो ?
म्याडम : (हाँस्दै) सक्थें। एक्लै बसेको भए ममा कमजोरी देखिन्थ्यो जुन परिवार र समाजले एउटा लोग्नेलाई सम्हाल्न नसक्ने सन्तान दिन सक्ने आरोप लागेको छ। योबाट बञ्चित हुन्थें। एक्लो नारीलाई यो समाजले गिद्धे नजर लगाउँछन्। समाजको अन्धोपनबाट बाँच्नका लागि पनि जरुरी थियो विवाह।
पुरुष : उसो भए म्याडम एउटा नारीलाई एउटा बलियो पुरुषको काँधको जरुरी पर्दोरहेछ हैन।
म्याडम : होइन ! महाशय यो गलत बुझ्नु भयो। नारीलाई मात्र होइन, पुरुषलाई पनि बलियो काँधको सहाराको जरुरी पर्छ। (बिल दिँदै) आज मैले छोडेको पुरुषको हालत हेर्नुहोस्, तपाईंको आँखा सामुन्ने छ।