सुनभन्दा बहुमूल्य नेपालको यार्चा

सुनभन्दा बहुमूल्य नेपालको यार्चा

नेपाली निकासी वस्तुका अधिकतम उपयोग गरी अधिकतम निकासी मूल्य प्राप्त गरी नेपालको व्यापारघाटा कम गर्न सकिन्छ


२०७७ सालभन्दा २०७८ सालमा यार्चा संकलन गर्न जानेको लर्को बढेको देखिन्छ। २०७८ सालमा यार्चाको उत्पादन राम्रो हुने आशा गरिएको छ। यार्चा संकलन हुने हिमाली तथा पहाडी जिल्लाहरूमा भोकमरी हुन सक्ने आशंकामा यो वर्ष लेकतिर यार्चा संकलन गर्न कमिलाको ताँतीजस्तै स्थानीयहरू त्यसतर्फ लागेको देखिन्छन्। साथै यौन तथा शक्तिवद्र्धक जडिबुटीका रूपमा यार्चागुम्बाको प्रयोग हुने गरेको छ। छोटकरीमा यसलाई यार्चा भन्ने गरिन्छ। यार्चाको अर्थ जाडोमा किरा र गर्मीमा घाँस बनेर हिँड्ने जन्तु हो। चीनका तियान भन्ने वैज्ञानिकले दुई सय वर्ष पहिले शक्तिबद्र्धक प्रमाणित गरी यसको सेवन सुरु गरिएको थियो। त्यसपछि विश्वको महंगो जडिबुटी मानिने यार्चाको खास बजार हङकङ र ताइवान बन्न पुग्यो। नेपाल, भुटान र चीनका केही प्रान्तमा पाइने यो वनस्पती–जीव धनाढ्यहरूको सोखको सेवन बन्यो।

यार्चा राम्ररी सफा गरेर सुकाएका झन्डै ४ हजार वटा यार्चा जोख्दा बल्ल १ किलो हुन्छ। यो आलु वा स्याउ जत्रो ठूलो हुँदैन। धेरैजसो जमिनमा निकै सानो देखिने यार्चा १ किलो संकलन गर्न ७–८ जना मानिसलाई झन्डै १ महिना लाग्दछ। कसैकसैले त महिनाभरमा दुई सयवटा पनि टिप्न सक्दैनन्। यार्चा प्रतिगोटा दुई सय पर्छ। यार्चा संकलनदेखि बेच्न तथा निकासीयोग्य बनाउँदासम्मको पनि छुट्टै प्रोसेस हुन्छ। एक दिन सुकाएर ब्रसले खुर्किएर सफा गर्नुपर्छ। कालो भएको यार्चाको मोल आउँदैन। पहेलो र सग्लो हुनुपर्छ। सफा गरिएको यार्चा सुनौलो किरा जस्तो हुन्छ। त्यसैले धेरैले गाउँमा यसलाई किरा भन्दछन्। जाडोमा किरा र गर्मीमा वनस्पतीका रूपमा देखिने यो अचम्मको जडिबुटीको बाहिर निकासी २०५८ साल अघिसम्म प्रतिबन्ध थियो। निकासी खुल्ला भएपछि यसको माग र मोल ह्वात्तै बढ्यो।

यार्चा संकलनको यात्रा सजिलो भने हुँदैन। चिसो र धपेडीका कारण कति मानिस बिरामी पर्छन्। उनीहरू रगत बान्ता गर्छन्, त कतिले ज्यानै गुमाउँछन्। यार्चा टिपेर पैसा कमाउन हिँडेका कतिको त बिरामी भएर उपचार गराउँदा धेरै पैसा खर्च हुन्छ।

यार्चा संकलनको यात्रा सजिलो भने हुँदैन। चिसो र धपेडीका कारण कति मानिस बिरामी पर्छन्। उनीहरू रगत बान्ता गर्छन्, त कतिले ज्यानै गुमाउँछन्। यार्चा टिपेर पैसा कमाउन हिँडेका कतिको त बिरामी भएर उपचार गराउँदा धेरै पैसा खर्च हुन्छ। यार्चाको मूल्य बढेपछि यसले गाउँमा केही परिवर्तन ल्यायो। भारत र खाडीतिर काम गर्न जाने कति मानिस यार्चा संकलनका लागि गाउँघरतिर बस्न थाले। नेपालको उत्तरी क्षेत्र नजिकका तिब्बती–चिनियाँहरूले यार्चागुम्बा खरिदमा चासो देखाउँदै आएका छन्। वर्षेनी करोडौं रुपैयाँको यार्चा खरिदमा चिनियाँ व्यापारीले प्रतिनिधि पठाई खरिद गर्ने गर्छन्। चीनको ल्हासा, डेन्दाङ, रियु र चीनका अन्य क्षेत्रबाट व्यापारी नेपालमा संकलन हुने यार्चा खरिद गर्न सम्पर्क गर्छन्। चीनमा यार्चाको मूल्य घटेमा नेपाली जडीबुटी कम बिक्री हुने गरेको छ। तर अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेमा व्यापारीले दोब्बरभन्दा बढी नाफा कमाएका छन्।

नेपाली यार्चा हङकङ, सिंगापुर, ताइवान र तिब्बतमा अप्रत्यक्ष निकासी हुने गरेको थियो। तर पहिला तिब्बत बाटो भएर अवैध ढंगले यो जडिबुटी हङकङ पुग्ने गरेकोमा केही वर्ष यता हङकङ सरकारले यसमा कडाइ गरेको छ भनिन्छ। हङकङ र सिंगापुरमा भन्दा तिब्बतमा अझ बढी मूल्य नेपाली यार्चाले पाउने गरेका छन्। प्रतिकिलो तीन लाखदेखि १२ लाख रुपैयाँसम्म नेपालको जडीबुटी बिक्री हुने गरेको छ। नेपालको नागीडाँडा र अन्य क्षेत्रमा यार्चा संकलन गर्ने गरिन्छ। प्रत्येक वर्ष हजारौंको संख्यामा यस्ता क्षेत्रमा यार्चा संकलन गर्न नेपाली जाने गर्छन्। स्थानीय बासिन्दामात्र नभई अन्य जिल्लाका सर्वसाधारण र व्यापार गर्नेहरूका लागि समेत आम्दानीको राम्रो स्रोत मानिने यार्चाको अव्यवस्थित कारोबारले विभिन्न समस्या खडा भएको छ। कसैले त यार्चागुम्बाबाट कमाएको पैसाले होटेलमा लगानी गरेको र काठमाडौंमा जग्गा पनि किनेका छन्।

यस्ता क्षेत्रमा यार्चा खरिद गर्न पश्चिम पोखरा, सुर्खेत र अन्य क्षेत्रबाट व्यापारी आउने जाने गर्छन्। कुनै वर्ष त चिनियाँ–तिब्बती व्यापारी पनि आउँदैनन्। नेपालबाट यार्चाको चीन निकासीको तथ्यांक राखिएको छैन। नेपालको सीमावर्ती गाउँपालिकाबाट यार्चा चीन निकासी हुने गरेको छ। भन्सार कार्यालयले यार्चा निकासीको रेखदेख गर्नुपर्ने देखिन्छ। राजस्व छलेर हुने निकासी बढेको बताइन्छ। जिल्ला–जिल्लाबाट वैधानिकभन्दा अवैध ढंगले बढी यार्चा निकासा तथा बिक्री हुने गर्छ। किमाथांका सहित अरू नाकाहरू प्रत्येकबाट दुई करोड जतिका रकम चीनबाट यार्चा खरिदका लागि आउने गरेको देखिन्थ्यो। कुनै वर्ष आर्थिक मन्दीका कारण चीन र हङकङमा यार्चा गोदाममा भएका कारण मन्दीका वर्ष यार्चाको मूल्य नपाइने देखिएको छ। संखुवासभासहित अरू यार्चा पाइने जिल्ला प्रत्येकमा वर्षेनी करिब २ हजार किलोसम्म यार्चा संकलन हुने गरेको थियो।

जिल्ला वन कार्यालयले १० हजार राजस्व लिएर एक किलो यार्चा संकलन र जिल्ला निकासा अनुमति दिने गर्छ। यसमा स्थानीय सरकाले थप २ हजार ५ सय जिल्ला निकासा कर लिने गर्छ। यसरी संकलित यार्चा जिल्ला बाहिर जाँदा जम्मा १२,५०० जिल्ला निकासा कर तोकिएको देखिन्छ। धेरै कमाउने आसमा घरका सबै काम छाडी यार्चा टिप्न जाने गरेका जिल्ला बासिन्दाले त कुनै वर्ष उचित मूल्य नपाउँदा ठूलो नोक्सानी व्यहोर्न पर्छ। दस नंग्रा खियाएर यार्चा संकलन गर्ने गरिन्छ। कुनै वर्ष त यार्चा टिप्ने क्षेत्रमा नै व्यापारीको हानथाप पर्ने गर्छ। प्रायः विचलिया व्यापारीहरूले सिजनअगाडि स्थानीय जनतालाई पेश्की स्वरूप पैसा, चामल, दाल पहिले नै दिई फकाएर यार्चा कब्जा गर्ने गरेका छन्। यस्तो प्रवृत्तिका कारण सोझो स्थानीय बासिन्दा व्यापारीहरूबाट ठगिने गरेका छन्। प्रतिगोटा स्थानीयबाट दुई सय रुपैयाँमा यार्चा खरिद बिक्री हुने भए पनि अन्तर्राष्ट्रिय बजारसम्म पुग्दा यसको मूल्य प्रतिकिलो दस लाख पर्ने गरेको छ। यार्चाव्यापारीहरूले बाटोमा लुटिने डरले हेलिकप्टरबाट जिल्लाका यार्चा लान थालेका छन्।

यार्चा संकलन गर्न गएका प्रत्येकले ३ सय ५० वटा यार्चा संकलन गर्ने गरेका छन्। यसको मूल्य ८० हजार हुने हुन्छ। २०५८ सालअघि प्रतिकेजी ५००–१००० रुपैयाँमा बिक्री हुन्थ्यो तर २०५८ पछि यसको मूल्य प्रतिकिलो लाखभन्दा बढी हुन गयो। पछि–पछि त गाउँमै ८–१० लाखमा कारोबार हुन थाल्यो। २०७६–७७ मा त कोरोनाका कारण संकलन गर्न दिइएको थिएन। तर २०७७–७८ मा यसको संकलन गर्न दिइएको देखिन्छ। २०७७—७८ मा यार्चा उत्पादन बढी हुने आशा गरिएको छ। कोरानाको दोस्रो लहरले उच्च जोखिम बढेको बेला भारतबाट फर्केकाहरू सिधै यार्चा संकलनका लागि लेकतिर जाने गरेको देखिन्छ। निषेधाज्ञा जारी गरे पनि महामारीमा यार्चा संकलकहरू लेकतिर जाने क्रम २०७८ असारसम्म पनि जारी थियो। प्रत्येक वर्ष वैशाखदेखि असारसम्म यार्चा संकलनका लागि र भाद्रदेखि मार्गसम्म जिल्लाका अन्य जडिबुटी संकलनका लागि सर्वसाधारण लेकतिर जाने गर्छन्।

संखुवासभा क्षेत्रमा अघिल्ला वर्षमा अव्यवस्थित रूपमा यार्चा संकलन भएका कारण ६० प्रतिशतले यार्चा मासिएको देखिन्छ। यार्चा हिमरेखाको आसपासमा वा १२ सय मिटरसम्म पाइने भए पनि यस क्षेत्रमा पहिले यार्चा पाइएको तर पछिल्ला वर्षमा यार्चा पाइएको छैन। हिमालय क्षेत्रका छेउछाउका समथर फाँट र भीरहरू यार्चाबिना रित्ता हुँदै गएका छन्। यार्चा संकलनमा कुटो–कोदालोको प्रयोग भएमा यार्चा संकलन गरेमा यार्चा मासिने गरिएको देखिन्छ। विशेषगरी यार्चा एकपटक निकालिए पनि आउने वर्ष सोही स्थानमा पाइने गर्छ तर झारको नास भए सो स्थानमा यार्चा पाइँदैन। यार्चाको बढी माग र मूल्य पाइने भएको तर संकलकले जथाभावी संकलन गरेकाले यार्चा कुनै कुनै जिल्लामा मासिसकेको देखिन्छ। कानुनी रूपमा एक जिल्लामा एक वर्षमा कम्तिमा ६५ किलोसम्म यार्चा संकलन भएको देखिन्छ। अबैध तरिकाले यार्चा संकलन गर्दा जिल्ला–जिल्लामा ठूलो परिमाणमा घाटा बेहोर्नु परेको छ।

हिमाली जडीबुटी पनि एक हजारभन्दा कम उचाईमा पाएमा खान नमिल्ने पुष्टि भइसकेको छ। कुनै वर्ष त नेपालको कुनै जिल्लाका केही तल्ला भागमा यार्चा पाइए पनि स्थानीय निकायले बेच्न रोक लगाएको थियो। यार्चा पाउने नेपालका जिल्लाहरूमा दार्चुला, डोल्पा, म्याग्दी, मुस्ताङ, जुम्ला, मुगु, बझाङ, रसुवा, गोरखा, रुकुम र लमजुङ मुख्य छन्। डोल्पा जिल्लाबाट मात्रै नेपालमा ५० प्रतिशत भन्दाबढी यार्चा संकलन गरिन्छ। म्याग्दी जिल्लाका बस्तीमा संकलन गरिने यार्चा काठमाडौं, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङमा संकलन गरिने यार्चा लोमान्थाङ नाका हुँदै तिब्बततर्फ निकासी हुने गरेको बताइन्छ। प्रत्येक वर्ष यार्चा वैशाखदेखि साउनसम्म संकलन गर्ने गरिन्छ। मौसम परिवर्तनको असर यार्चा उत्पादनमा परेको छ। प्रत्येक पछिल्ला वर्षमा यार्चाको उत्पादन आधा घट्दै गएको छ। हिमाली जिल्लाहरूमा गुणस्तरीय यार्चा पाइन छाडेको छ।

यार्चालगायत नेपाली जडीबुटीको अन्तर्राष्ट्रिय बजार विस्तार नहुँदा भारतलाई मात्र निकासी बिक्री गर्नुपर्ने भएको छ। त्यसैले यी वस्तुका निकासी मूल्य एकतर्फी तोकिने गरेको छ। निकासी मूल्यमा प्रतिस्पर्धा छैन। यसले भारतीय आयतकर्ताले आफूअनुकूल मूल्य तोक्ने गरेका छन्। नेपालभित्र यसको प्रयोग गर्नेखालका उद्योग स्थापना भए पनि जडीबुटी संकलक–उत्पादकहरूलाई फाइदा पुग्ने देखिन्छ। नेपाली जडीबुटी स्वदेशभित्र १५ प्रतिशतमात्र खपत हुने अनुमान छ। सरकारको कमजोर नीतिका कारण यस क्षेत्रको प्रचुर उपयोग हुन सकेको देखिँदैन। कुन यार्चासहितको जडीबुटी कहाँ, कति, कस–कसले संकलन–उपयोग गर्छ, त्यसको अभिलेख छैन।

नेपाली जडीबुटीको उत्पादनदेखि निकासीसम्म बजार विस्तार गर्न स्पष्ट नीति बनाई कार्ययोजना बनाउनु पर्ने देखिन्छ। नेपाली निकासी वस्तुका अधिकतम उपयोग गरी अधिकतम निकासी मूल्य प्राप्त गरी नेपालको व्यापारघाटा कम गर्न सकिन्छ। नेपालका विभिन्न जिल्लामा जडीबुटी संकलन–खेती गरिन्छ। यसको उदाहरणका रूपमा पश्चिम नेपालमा पाइने जडीबुटी संकलन गरी निकासी गर्न गैरकाष्ठ वन्यस्रोत व्यवस्थापन सहकारी संस्थासहित अरू निकाय र व्यक्तिहरूले कार्य गर्दै आएका छन्। हरेक प्रादेशिक क्षेत्रबाट यार्चा लगायतका जडीबुटी केकति संकलन–ओसारपसार हुन्छ, त्यसको अभिलेख राखिनुपर्छ। नेपालीलाई यस क्षेत्रमा आत्मनिर्भर बनाउन जडीबुटी स्वदेशमा सदुपयोग गरी वस्तु उत्पादन–उपयोग गर्नु जरुरी छ। सरकारले नीतिगत रूपमा व्यवस्थित नगरेका कारण राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्नेभन्दा केही सीमित व्यक्तिको मात्र आम्दानीको स्रोत बन्ने गरेको देखिन्छ। त्यसैले हिमालको मोतीलाई जतिसक्दो बजार प्रवद्र्धन गर्न र यसको उत्पादन र संकलन बढाउन जरुरी देखिन्छ। जडिबुटीका बारेमा अहिलेसम्म सरकारको नीतिसमेत स्पष्ट नभएका कारण बहुमूल्य हुँदा–हुँदै पनि कारोबार पारदर्शी बन्न सकिरहेको छैन।

लेखक व्यापार तथा निकासी केन्द्रका पूर्वनायवकार्यकारीनिर्देशक हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.