दाइजो, खेलौना र कृत्रिम वस्तु हुन् महिला ?
सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दसदिने दिवस मनाउन मान्यता दिएपछि त्यसयता हरेक वर्ष यो दिवस मनाइने गरिएको छ। महिला हिंसाविरुद्धको आवाज हरेक वर्ष बरोबर उठ्ने गर्छ। जति उठे पनि घरेलु हिंसा, यौन हिंसा र यौनजन्य अपराध बढिरहेको छ। एकातिर महिला हिंसाविरुद्धको आवाज उठिरहेको छ भने अर्कातिर दिनहुँ क्रमबद्ध रूपमा बलात्कारका घटना बढिरहेका छन्।
महिला हिंसा प्राचीनकालदेखि चल्दै आइरहेको अपराध हो। एकातिर महिला हिंसा रोक्न मुलुकले नीतिनियम जारी गरिरहेको छ भने अर्कातिर महिला हिंसा रोकिन सकेको छैन। महिलाको स्थिति पनि दयनीय छ। घरेलु हिंसाका कारण हरेक प्रकारका मानसिक तनावले महिलालाई कमजोर बनाइरहेको छ।
निर्मला पन्त होस् वा भागरथी होस्, सुस्मिता काण्ड नै किन नहोस्, अधिकांश घटना महिला हिंसा हुन्। बाउले छोरीलाई र ससुराले बुहारीलाई बलात्कार छन्। आफ्नै काकाले पाँच वर्षीया भतिजीलाई बलात्कार गरे। साठीबर्से वृद्ध महिलासम्म यौन हिंसाको सिकार बनेका छन्। कोरोना कालमा क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कार प्रयास भयो। शारीरिक सम्बन्ध राख्न नदिएको झोकमा योनिमा कोदालाको बिँड हालेर महिलालाई यातना दिने कुकर्म पुरुषले गरे। पे्रममा असफल भएपछि तेजाब हालेर महिलालाई कुरूप बनाउने काम पनि भए।
महिला हिंसा घातक र डरलाग्दो रोग बनेर देखा परेको छ। यस्ता हिंसा गाउँ र सहर जताततै छ्यापछ्याप्ती हुने गरेको सञ्चारमाध्यममा प्रकाशित समाचारबाट पनि स्पष्ट हुन्छ। सुन्दा पत्याउने नसकिने घृणित कर्म किन हुन्छ ? आम चासोको विषय बनेको छ।
हामी महिला सशक्तीकरणका कुरा गर्छांै। नारी दिवस मनाउँछौं। एकातिर छोरीचेलीलाई साक्षात् देवी, दुर्गा र सरस्वतीका रूपमा पूजा गर्छौं र घरकी लक्ष्मी भन्छौं तर अर्कातिर उनीहरूमाथि बलात्कार गर्छन्। दाइजो प्रथा, भ्रूण हत्या, महिला बेचबिखन र तिरस्कार बढ्दो छ। आफ्ना छोरीबुहारीका लागि ढाडस बन्नुपर्ने बाउ, ससुरा, काका र दाजुभाइबाटै यस्ता कुकर्म हुन्छ भने छोरीबुहारीको संरक्षण कसले गर्छ त ?
५५ वर्षीय रामचन्द्र सुनारले यौन सम्बन्ध राख्न नदिएपछि आफ्नै पत्नी चम्पामायालाई कुटपिट गरी चरम यातना दिए। उनले पत्नीलाई वर्षौंदेखि यौन यातना दिइरहेका थिए। आफ्नै परिवारबाटै महिला सिकार बन्दै छन् र नारकीय जीवन भोग्न बाध्य भएका छन्।
आज पनि छोरीचेलीलाई दाइजोसँग दाँजिन्छ; खेलौनाका रूपमा हेरिन्छ र कामवासना पूरा गर्ने साधनका रूपमा लिइन्छ।
अपराध गर्नेले उमेर भन्दैन; सासूबुहारी छोरी केही देख्दैन; लोभलालच देखाएर महिला सतीत्व लुटने पुरुषको हैकम हिजो पनि आज पनि चलिरहेको छ। सहरका शिक्षित महिला पनि नराम्ररी यौन हिंसाको सिकार हुने गरेका छन्।
भन्छन्– समयअनुसार समाज परिवर्तन भएको छ। संसार आधुनिक युगमा प्रवेश गरेको छ। तर महिलालाई हेर्ने दृष्टिकोणमा रूढिवादी साम्राज्य अन्त्य भएको खोइ ? महिलाका हरेक कर्ममा दाग लगाउने, पाइलापाइलामा लाञ्छना लगाउने र गतिविधिमा प्रश्न उठाउने अधिकार कसले दियो ? महिलाको भावनामा ठेस लगाउने र उनीहरूलाई कमजोर बनाउने आँट कहाँबाट पाइरहेका छन् सामन्ती समाजका हिंस्रक पुरुषहरूले ?
सहने पनि हद हुन्छ। महिलाले जति सह्यो, हिंसा पनि उति नै झाँगिन्छ। अहिले त्यही भइरहेको छ। समाज विकास, परिवर्तन, आधुनिक शिक्षा र मौलिक अधिकारका आवाज उठ्छन्। नारी र पुरुष बराबर भन्छौं। तर महिलाप्रति सम्मानपूर्ण व्यवहार गरेको देखिएको छैन।
इतिहासमा महिलालाई जुन चस्मा हेरिन्थ्यो, त्यो कहिल्यै फेरिएन। छोरीहरू शिक्षित त भए तर उनीहरूमाथिको हिंसा रोकिएन। छोरी चेलीलाई दाइजोसँग दाँजिन्छ। द्रौपदीलाई झैं मानिसका बीचमा बेइज्जत गरिइरहेको छ। आज पनि नारीलाई खेलौनाका रूपमा हेरिन्छ। वासना पूरा गर्ने साधनका रूपमा लिइन्छ। पढेलेखेका शिक्षितका घरमा पनि महिलालाई कृत्रिम बस्तु झैं व्यवहार गरिन्छ। अर्को कुरा यौन दुराचार बढ्नुमा अश्लील कथा, तस्बिर, यौनजन्य क्रियाकलाप, अश्लील सिनेमाहरू मूल जड मानिन्छ।
महिला आयोगकी पूर्वसदस्य मोहना अन्सारी भन्नुहुन्छ– हाम्रो समाजमा महिला हिंसा बढेको छ। यसअन्तर्गत फकाइफुलाई यौन शोषण गर्ने र भनिस् भने मारिदिन्छु भनेर डर देखाउने यौन दुराचार गर्नेहरू घरभित्रै बढी छन्। पीडितमा बोल्न नसक्दा र उजुरी गर्न जाँदा के भन्ने हो डर छ। यसले पनि महिला हिंसा बढेको हो।
यौन दुराचारीमाथि सजाय गर्ने प्रक्रिया प्रभावकारी नभएको पक्कै हो। उनीहरूमा हिम्मत बढेको कारण पनि यही हो। तसर्थ कसैमाथि शंका लागिहाल्यो भने सचेत हुने, महिलापक्षीय समाज मिलेर न्यायका लागि पहल गर्ने, अपराधीलाई कडा सजाय दिन सम्बन्धित पक्षलाई दबाब दिने, पीडितलाई सहानुभूति दिने र हिंसाविरुद्ध लड्ने वातावरण बनाउनुपर्छ। तब मात्र यौन हिंसामा केही हदसम्म परिवर्तन आउने छ। अब अति भयो। सामन्ती समाजका हिंसात्मक क्रियाकलापविरुद्ध महिला जाग्नुपर्छ।