निर्मलाकी आमा भन्छिन् : अब न्याय पाउने आश छैन

निर्मलाकी आमा भन्छिन् : अब न्याय पाउने आश छैन

महेन्द्रनगर : कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्या भएको दुई वर्ष पूरा भएको छ। निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो। हत्याको दुई वर्षमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान टोली परिवर्तन भए तर प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन नसक्दा पीडित परिवारलाई भने न्याय पाउने आश मरेको छ। 

‘अब मलाई न्याय पाउने आश छैन पीडामाथि पीडा थपिएको छ’, निर्मलाकी आमा दुर्गादेवी पन्तले भनिन्,‘घटना भएको दुई वर्ष पूरा भयो। धेरै आन्दोलन  अनुसन्धान भए। हत्याराको सुइकोसम्म पाइएन अब त न्याय पाउने आश नै छैन।’ उनले पछिल्लो समय दिलिप विष्टका गतिविधि र कुराबाट उसैमाथि शंकाको आधारमा किटानी जाहेरी दिएको बताइन्। उनले आफूले किटानी दिएको हुँदा सत्यतथ्य पत्ता लगाई दोषीलाई कठघरामा ल्याउपर्ने काम प्रहरीको भएको जानकारी दिइन्।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमै चर्चाको विषय बनेको निर्मला प्रकरणमा दुई वर्षको अवधिमा प्रहरीले उपलब्धि हात पार्न सकेको छैन। उक्त घटनाको प्रहरीले अहिले पनि सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासीनीले अहिलेसम्म घटनाको कुनै निचोडमा नपुगेको तर अनुसन्धान भइरहेको बताए।

‘निर्मला प्रकरणमा सुरुदेखि केही अवरोध आए, त्यसले गर्दा पनि ढिलाइ भएको हो’, मरासीनीले भने, ‘निर्मला घटनालाई हामीले पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेका छौं।’ उनले यस घटनाले संगठन नै चिन्तित बनेको बताउँदै निष्कर्षमा पुग्ने गरी अनुसन्धान भइरहेको बताए। 

केही दिनअघि मात्रै सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम राज सुवेदीले पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेर ३ घण्टा निर्मलाको फाइल अध्यन गरेका थिए। प्रहरी स्रोतका अनुसार निर्मला प्रकरणतर्फ निकास दिने गरी प्रहरी अधिकारी लागेका छन्।

२०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीको उनको शव फेला परेको थियो। घटना भएको एक महिनापछि भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले भीमदत्तनगरपालिका –१९ बागफाटाका मानसिक अवस्था ठिक नभएका दिलिप विष्टलाई सार्वजनिक गरेपछि निर्दोषलाई फसाउन खोजिएको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो। आन्दोलनकै क्रममा भीमदत्त नगरपालिका–१८ शालघारीका शनि खुनाले सहादत प्राप्त गरे। 

पक्राउ परेको केही सातापछि अभियुक्त भनी सार्वजनिक गरिएका विष्टको डिएन नमिलेपछि सरकारी वकिल कार्यालयबाट साधारण तारेखमा रिहा भएका थिए। डिएनए परीक्षणमै त्रुटि भएको ठहर भएपछि परिस्थिति प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाइरहँदा शंकाको सुइ फेरि यसअघि सार्वनिक गरिएका विष्टमाथि रहेको छ।  

चार प्रतिवेदन बने उपलब्धिविहीन

दिलिप विष्टलाई प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्कियो प्रहरीको गोली लागेर दजानौं घाइते भए भने एक जनाको मृत्यु भयो। तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई सरकारले केन्द्रमा तान्यो। 
 
भदौ ८ गते सरकारले  गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अहिलेसम्म अलपत्र बनेको छ। मैनाली समितिबाहेक निर्मला प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआइजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदन तयार भएका छन्।

६ अनुसन्धान अधिकृत फेरिए 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृत रहने प्रहरी नायव उपरीक्षक भने छोटो समयमै धेरै परिर्वतन हुने क्रम देखिएको छ। सुरुवातमा घटनाको अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक (हाल निलम्बित) एकिन्द्र खड्का खटिएका थिए। 

निमर्लालाई न्याय माग गर्दै आन्दोलन चर्किएपछि अनुसन्धान अधिकृत खड्कासहित सात जना प्रहरी निलम्बित भए। तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र तत्कालीन वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदीश भट्टलाई गृहमन्त्रालयले घटनाको केही महिनापछि जागिरबाटै बर्खास्त गर्‍यो।

निर्मला प्रकरणको दुइ वर्ष पुग्दा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पाँच जना अनुसन्धान अधिकृत फेरबदल भइसके। सुरुका अनुसन्धान अधिकृत खड्का निलम्बित भइकेपछि निर्मला प्रकरण अनुसन्धानको नेतृत्व सम्हालेका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझा केही महिनामै अन्यत्र सरुवा भए। उनको सरुवापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले पनि निर्मला प्रकरणको फाइल अध्ययन गर्दैगर्दा इलाका प्रहरी कार्यालय अत्तरीया काज सरुवा भयो।

त्यसपछि निर्मला प्रकरणमा अनुसन्धानको नेतृत्व गरिरहेका प्रहरी नायव उपरीक्षक गणेश बम केही समय मात्रै कञ्चनपुर बसेर सरुवा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क छ। बमको सरुवापछि उक्त घटनाको अनुसन्धान अधिकृत रहेका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दको पनि जिल्ला आएको केही महिनामै काज जरुवा गरियो। 

त्यसपछि निर्मला प्रकरणको अनुसन्धानका लागि कञ्चनपुर पुगेका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलको पनि चार महिनामै सुरुवा गरियो। हाल अमरबहादुर थापाले अनुसन्धानको नेतृत्व गरिरहेका छन्। योबाहेक उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका दुर्गासिंहसमेत लामो समयसम्म कञ्चनपुर बसेर अनुसन्धानमा खटिएका थिए। निर्मला हत्या प्रकरणमा वर्तमान आइजीपी ठाकुर ज्ञवालीसमेत अनुसन्धानका लागि कञ्चनपुर पुगे पनि प्रहरीले कुनै सफलता हात परेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.