निर्मला प्रकरणमा प्रहरी फेरि असफल

निर्मला प्रकरणमा प्रहरी फेरि असफल

काठमाडौं : कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका प्रदीप रावल बुधबार थुनामुक्त भएका छन्। भीमदत्तनगर नगरपालिका–१८ का १९ वर्षीय रावललाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले साधारण तारेखमा रिहा गर्न आदेश दिएका हुन्। ‘उनीमाथि लगाइएको अभियोग पुष्टि हुने नदेखिएपछि थुनामुक्त गर्न आदेश दिइएको हो। माघ १० गते प्रशासनमा उपस्थित हुन तारेख दिइएको छ’, काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले अन्नपूर्णसँग भने।

काठमाडौँको सुन्धारास्थित एउटा पसलमा काम गर्दै आएका रावलले घटना स्विकार्न प्रहरीले यातना दिएको गुनासो गरेका छन्। ‘घटना सकार्न भन्दै प्रहरीले मलाई पाइपले कुटेर यातना दिए’, उनले भनेका छन्, ‘घटना नस्विकारे जे पनि गर्ने धम्कीसमेत दिए, माइतीघरमा लगेर निर्मलाको हत्यारा भन्दै सार्वजनिक गर्ने भनेर हप्कीदप्की पनि गरियो।’

गत मंसिर १८ गते काठमाडौँको महाराजगन्जबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सँगको बयानमा घटना स्विकारेको दाबी गरेको थियो। चार पटकसम्म म्याद थप गर्दै हिरासतमा राखिएका प्रदीपविरुद्ध प्रहरीमाथि दुव्र्यवहार गरेको अभियोग सार्वजनिक हितविरुद्धको मुद्दा चलाएको थियो। उनलाई सीआईबीको टोलीले दिउँसोमा बयान लिएर राति महाराजगन्जको हिरासतमा राख्ने गरेको थियो।

मंसिर १८ मा पक्राउ परेपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि सीआईबीमा पुगेर रावलसँग सोधपुछ गरेका थिए। प्रहरी महानिरीक्षक खनालले घटना स्विकारे सजाय घटाउन सकिने भन्दै फकाउने कोसिस पनि गरेको उनले बताएका छन्। यातना दिने क्रममा प्रहरीले घटना नस्विकारे करेन्ट लगाउने, हिटरमा पिसाब फेर्न लगाउने र अझै चर्को यातना दिने जस्ता धम्की पनि दिएको उनको दाबी छ। तर, विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी रिहा हुने बाटो खुलेको थियो।

प्रदीपकै बयानका आधारमा मंसिर २० गते कञ्चनपुरबाट पक्राउ गरी काठमाडौँ ल्याइएका १६ वर्षीय विशाल चौधरीको पनि निर्मलाको भजाइलन स्वाबसँग डीएनए मिलेको थिए। उनी यही शुक्रबार रिहा भएर घर पुगिसकेका छन्। विशालले आफूलाई घटना स्विकार्न भन्दै प्रहरीले यातना दिएको दाबी गरेका छन्। उनको परिवारले त्यसविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी गरिसकेको छ।

महाराजगन्जबाट प्रदीप पक्राउ परेपछि निर्मलाका हत्यारा नजिक पुगेको भन्दै प्रहरी उत्साहित भएको थियो। स्वयम् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि अनुसन्धानको दायरा साँघुरो भएको भन्दै चाँडै अपराधी पक्राउ पर्ने बताएका थिए।

खनालले त्यसो भनेको तीन साताभन्दा बढी भइसकेको छ। यसबीचमा निर्मलाको हत्यारासम्म पुग्ने कडीका रूपमा लिइएका प्रदीप र विशाल दुवै रिहा भएका छन्। यसबीचमा प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यात नेतृत्वको छानबिन समितिले करिब ७ सय पृष्ठको प्रतिवेदन बुझाएको छ। तर त्यस समितिले पनि प्रहरीका गल्ती मात्रै औंल्याएको छ। निर्मलाका हत्याबारे बस्न्यात समितिले केही बोलेको छैन। समितिले कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १८ जना प्रहरीमाथि कारबाहीको सिफारिस गरेको छ।

नयाँ पात्रको खोजी

निर्मला प्रकरणमा पछिल्लो पटक पक्राउ परेका दुवै किशोर रिहा भएपछि प्रहरीले अब अनुसन्धानमा गुमेको कडी समात्न नयाँ पात्रको खोजी थालेको छ। निर्मला प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको अर्को टोली केही दिनअघि मात्रै कञ्चनपुर पुगेको छ।

सीआईबीका एसपी सुदीप गिरीको नेतृत्वमा अनुसन्धान टोली कञ्चनपुर पुगेर घटनाको अध्ययन थालेको हो। गिरी नेतृत्वको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा नयाँ सिराबाट घटनाको अध्ययन थालेको जनाइएको छ।

प्रदीप र विशाललाई पक्राउ गरेपछि अपराधी नजिक पुगेको दाबी प्रहरी नेतृत्वले गरेको थियो। तर अब दुवै जना रिहा भएपछि प्रहरीले अर्को नयाँ पात्रको खोजी थालेको हो। त्यसका लागि निर्मलाको बलात्कारपछि हत्याको घटना अनुसन्धानका क्रममा टुटेको कडी जोड्ने काममा अहिले प्रहरी सक्रिय भएको हो।

निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएपछि भीमदत्तनगर–१८ निम्बुखेडास्थित घटनास्थल पुगेको प्रहरी टोलीले महत्त्वपूर्ण प्रमाण नष्ट गरेको थियो। स्थानीय प्रहरीले प्रमाण नष्ट गरेपछि जटिल बनेको निर्मला प्रकरणको अनुसन्धानका लागि काठमाडौँबाट सीआईबीका डीएसपी अंगुर जीसी नेतृत्वमा पुगेको टोलीले पनि नक्कली प्रमाण बटुलेर दिलीपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएको थियो।

काठमाडौँको सुन्धारास्थित एउटा पसलमा काम गर्दै आएका रावलले घटना स्विकार्न प्रहरीले यातना दिएको गुनासो गरेका छन्।

तत्कालीन एसपी विष्ट र सीआईबीका डीएसपी जीसीसहित १८ जनामाथि प्रमाण नष्ट गरेको, नक्कली प्रमाण खडा गरेको र जबर्जस्ती घटना स्विकार्न लगाएसहितका तथ्य समेटेर आईजी बस्न्यात नेतृत्वको समितिले प्रहरी महानिरीक्षक खनाललाई प्रतिवेदन बुझाइसकेको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अपराध अनुसन्धानमा विज्ञ टोलीसहित मंगलबार कञ्चनपुरतर्फ लागेका छन्। प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्न भन्दै महानिरीक्षक खनाल मंगलबार काठमाडौँबाट स्थलमार्ग हुँदै कञ्चनपुरतर्फ लागेका हुन्।

मंगलबार राति प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा बसेका महानिरीक्षक खनाल त्यहाँबाट अरु प्रदेश प्रहरी कार्यालय निरीक्षण गर्दै कञ्चनपुर पुग्ने भएका हुन्। महानिरीक्षक खनाल नेपालगन्जमा हुने प्रहरीको कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि धनगढीमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय निरीक्षणपछि कञ्चनपुर पुग्ने कार्यक्रम छ। खनालसँग केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी नीरजबहादुर शाही, इन्टरपोलका उमेशराज जोशी, एसपी गणेश रेग्मी, सचिवलायका एसपी रामदत्त जोशी, अपराध महाशाखाका डीएसपी रुगम कुँवर र सई गजेन्द्र रावललगायत छन्।

स्रोतका अनुसार कञ्चनपुर पुगेर टोलीले घटनास्थलको निरीक्षण, निर्मलाका बाबुआमासँग भेट र अहिलेसम्मको अनुसन्धानका आधारमा नयाँ शिराबाट अर्को अनुसन्धानको निचोड पनि निकाल्ने बताइएको। प्रहरीका अनुसार यो टोलीले घटनास्थलबाट केही किलोमिटर दूरीको आर्मी ब्यारेकबाट घटना भएको दिन निस्किएका सैनिक जवानमाथि अनुसन्धानको पनि टुंगो लगाउनेछ।

डीएनएकै भर

निर्मला प्रकरणमा प्रहरीले नै प्रमाण नष्ट गरेपछि जटिल अवस्था उत्पन्न भएको हो। घटना भएको पाँच महिना भइसक्दा पनि प्रहरीले अभियुक्तको पहिचान गर्न सकेको छैन। घटनास्थल जाँच प्रकृति मुचुल्काका क्रममा महत्त्वपूर्ण प्रमाण नष्ट भएपछि प्रहरी अहिले डीएनएको मात्रै सहारामा छ।

प्रहरीले अहिलेसम्म हाल बर्खास्त एसपी विष्टसहित २२ जना भन्दा धेरैको डिएनए परीक्षण गरिसकेको छ। तर ती सबैको डीएनए निर्मलाको भनिएको भजाइल स्वाबसँग नमिलेपछि प्रहरी नेतृत्व नैतिक संकटमा परेको छ।

प्रहरीले अब निर्मलाको भीमदत्तनगरस्थित नेपाली सेनाको ब्यारेकबाट साउन १० गते निस्किएका १६ जना सैनिकको पनि डीएनए परीक्षणको तयारी गरेको छ। अहिलेसम्म परीक्षण गरिएको डीएनए नेगेटिभ आएपछि निर्मलाको योनीबाट निकालिएको भजाइनल स्वाब नै सही थियो भन्नेमा पनि शंका उब्जिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.