झी दुर्गालाल

झी दुर्गालाल

फूलको आँखामा फूलै संसार

काँडाको आँखामा काँडै संसार

यस गीतको अपार लोकप्रियतासँगै एकाएक देशैभरि चिनिए कवि दुर्गालाल। यो गीतको रचना गर्दा श्रेष्ठको उमेर ७० नाघिसकेको थियो। त्यतिञ्जेल उनका ५० जति कृति प्रकाशित भइसकेका थिए र सयौं गीत लोकप्रिय। उनी कविता, गीतको साथसाथै नाटक पनि लेख्थे। तर अधिकांश कृति नेपाल भाषामा भएको हुनाले गैरनेवार जगत तिनबाट कमै परिचित छन्। त्यसैले नेवार घेराबाहिर सम्मानित स्थान भए तापनि उनको परिचय भने अत्यन्त अपूरो छ। सोही अभाव पूरा गर्ने जमर्को गर्न खोजिएको छ, यो आलेखमा।

म आफ्नै जीवनसित सम्बन्धित घटनाबाट भूमिका बाँध्न चाहन्छु। बालक हुँदै मेरो घरपरिवारका अग्रजहरूले मलाई फकाउन गाउने बालगीत मलाई अझै याद छ :

हाइ हाइ जिगु आलुयाम्ह क्तांमरिचा

न्यताः निपाँय् धिम्न्यःपागु चतांमरिचा

(हाइ हाइ मेरो कति राम्रो पुतली

दुइटा गाला दुई पैसाको चतांमरि)

लाग्थ्यो, यो गीत नेवार समुदायका पारम्परिक बालगीत होला। नेपाली साहित्यमा एमएका लागि शोधग्रन्थ तयार पार्न दुर्गालालका साहित्यको अन्वेषण गर्दा त्यो गीत उनको बालगीत संग्रहमा पो भेट्टाएँ। छक्क परेँ, ओहो म त थाहै नपाई उनका गीत सुनेर हुर्केको बालक पो रहेछु !

साँच्चिभन्दा नेवार शिशुहरू उनले रचेका बालगीत सुन्दै हुर्कन्छन्। बालबालिकाहरू उनका बालगीत गाउँदै, तिनमा नाच्दै रमाउँछन्। युवायुवतीहरू उनका प्रणयगीत सुन्दै भावुक हुन्छन्; उनका देशप्रेम र भाषाप्रेमका गीत सुन्दै–गाउँदै हृदयमा देश र भाषाप्रति प्रेम जगाउँछन्। आन्दोलनमा उत्रिनेहरू उनकै जोशिला गीत घन्काउँदै आन्दोलित हुन्छन्। वृद्धवृद्धाहरू उनले रचेका भजन गाउँदै भक्तिभाव अर्पण गर्छन्। नेवारजनका लागि दुर्गालाल सफल साहित्यकार मात्र हुँदै होइन, बरू ऊ आफ्नै हृदयको आवाज हो, सुखदुःखको भावना हो, जागरणको चेतना हो, हृदयको संवेदना हो, अध्यात्मको प्रकाश हो। एउटा पुस्ताले उनका नाटक हेरेर मनोरञ्जन लिए। गीतिनाटकमा उनी अब्बल थिए। यसैले नै होला नेवारहरूले उनलाई सजिलै भनिदिए ‘झी कवि’ (हाम्रो कवि)। कुनै पनि लेखकको लागि लोभलाग्दो र दुर्लभ आत्मीय सम्मानले विभूषित हुने भाग्यमानी कवि हुन्, दुर्गालाल।

शताब्दी पुरुष सत्यमोहन जोशी ‘झी कवि’ भित्रको ‘झी’ शब्दको अर्थ केलाउँदै भन्छन्, यो ‘झी’ (हामी) शब्द हाम्रो मातृभाषामा हुर्केको एउटा अनुपम अक्षर–गेडा (एकाक्षर) हो। यो ‘झी’भित्र के छैन ? को मात्रै छैन ? ... हामी सबै सबै छौं। त्यसैले कवि दुर्गालाललाई ‘झी कवि’ भनेर सम्बोधन गर्दा हामीले प्रतिनिधित्व गरिरहेको यस वर्तमान युगका उहाँ हामी सबैका ‘झी कवि’ (हाम्रो युगको प्रतिनिधि) हुनुहुन्छ (झी दुर्गालाल हने, झीगु मांभाषा झी कवि दुर्गालाल, ने.सं. ११२७ : २)।

यसै कुरालाई माणिकलाल श्रेष्ठले अत्यन्त रोचक तरिकाले अभिव्यक्त गरेका छन्। उनको भनाइमा, ‘कसैको प्रशंसा गर्नु भनेको उसलाई साह्रै मन पराउनु हो। त्यसो हुँदा आफू पनि त्यस्तै हुन सके हुन्थ्यो भन्ने मनमा आउँछ, अनि अञ्जानै ईष्र्या–भाव पलाउँछ। तर दुर्गालाल मेरो निमित्त यस्तो व्यक्ति हो, जोप्रति मेरो मनमा प्रशंसा मात्र छ। इष्र्या अलिकति पनि छैन, किनभने मेरो अर्ध–चेतन मनमा ऊ त आपैंmसरि हो” (जिगु चेतन व अचेतन मनय् दुर्गालाल, लिपिपौ १:९, ने. सं. ११२८ : ५)।

दुर्गालालले युवाकालमा धेरै प्रेमगीत रचे। ती गीत आजभन्दा आधा शताब्दीअघि नै जनजनमा अत्यन्तै लोकप्रिय भए। ‘लः बियाः ह्वयेकागु स्वां’ (पानी दिई फुलाएको फूल) कति लोकप्रिय भएको थियो भन्ने कुरा नेपाल भाषाका वृद्ध साहित्यकार फणीन्द्ररत्न वज्राचार्य लेख्छन्, ‘खर्पन बोकेर तरकारी बेच्न आउने, ढाडमा चिउरा, गेडागुडी बोकेर बेच्न आउने र गाउँबाट दाउराको भारी बेच्न आउनेसम्मन्ले दुर्गालालका गीत मन पराए, उहाँलाई चिने। त्यसबेला बिहेको जन्ती जाँदा बजाइने बैन्डबाजाले र पर्वपर्वमा बज्ने बाँसुरीले यही गीत (गीतको धुन) बजाउँदै आउने भयो। यसरी लोकले मन पराएकोले उहाँ साह्रै कलिलो उमेरमा नै धेरैले चिनेका लोकप्रिय कवि हुनुभयो। टोलटोलमा हुने संगीत सम्मेलनमा दुर्गालालकै गीत बढी गाइने भयो।...दुर्गालालका गीतका क्यासेट एकपछि अर्को गरी निस्किरहे। नेपालभाषाका गीत बजाइरहेको ठाउँठाउँमा सुन्न पाइयो। लोकगीत र आधुनिक गीतमा दुर्गालालले नै प्राण फुके। प्रेमका नयाँनयाँ गीत, देशप्रेम वा भाषाप्रेमका गीतमा दुर्गालालको दाँजोमा आउने कोही भएनन् (दुर्गालाल श्रेष्ठको ग्वींनिला कवितासँग्रहको भूमिका)।’

त्यतिबेलै उनका कविता पनि उत्तिकै उत्कर्षमा पुगिसकेको थियो, झन्डै ६० वर्षअघि (ने.सं. १०८०) प्रकाशित उनकै पुस्तक ‘लिस’ (रसान) को भूमिकामा कविवर सिद्धिचरण श्रेष्ठको अभिव्यक्तिबाट थाहा पाइन्छ, ‘उहाँका गीतको माध्यमबाट हामी सबैको हृदय अभिव्यक्त भइरहेको छ।’ ने.सं. १०८७ मा प्रकाशित ‘पीजा’ (फिँज) को भूमिकामा सिद्धिचरण श्रेष्ठ लेख्छन्, “दुर्गालालको कविता पाकेको हलुवावेदजस्तै छ। झ्वाट्ट टिपेर हेर्‍यो भने त्यो फुट्न सक्छ। उहाँको कविता पढ्न हामीले सुकुमार भावनाको सहारा लिनुपर्छ। जस्तो कि हलुवावेद प्वाल पर्‍यो भने रस चुहिन्छ, त्यसरी नै दुर्गालालको कवितामा कुनै एउटा मात्र शब्द झिकियो भने पनि कविता भत्किन्छ वा चुहिएर जान्छ। संलग्नता (कम्प्याक्टनेस) नै उहाँको विशेषता हो।’

नेवार शिशुहरू दुर्गालालका बालगीत सुन्दै हुर्कन्छन्। युवायुवतीहरू उनका प्रणयगीत सुन्दै भावुक हुन्छन्। आन्दोलनमा उत्रिनेहरू उनकै जोशिला गीत घन्काउँदै आन्दोलित हुन्छन्। वृद्धवृद्धाहरू उनले रचेका भजन गाउँदै भक्तिभाव अर्पण गर्छन्।

दुर्गालालको दोस्रो प्रकाशित कृति ‘लिसं’ हो। यसका कविताका संकलक र सम्पादक प्रा.डा. कमलप्रकाश मल्ल हुन्। यो कृतिमा रहेको लामो भूमिकामा मल्ल लेख्छन्, ‘हुन त ‘प्रतिभा’ शब्दले दुर्गालालप्रति न्यायभन्दा अन्याय हुन सक्छ। उत्कृष्ट अनुभूतिको योग्यता, रागात्मक संवेदनाको शक्ति सायद तरुण कविमा जन्मसिद्ध हुन सक्छ। तर आफ्नो अनुभूतिप्रति ममता र इमानदारी नै कवि दुर्गालालको एउटा ठूलो विशेषता हो। उहाँको हरएक पंक्तिले कविको वैयक्तितताले शोभायमान स्वानुभूतिको तिख्खर स्वाद बाँडिरहेका हुन्छ।... यही इमानदारी, यही विशुद्धता, यही स्वस्फुर्त र यही सरलता सँगालेर दुर्गालालज्यूको कवितामा एउटा लालित्य झल्किन्छ, जसलाई संगीतात्मक भन्न सकिन्छ। यो संगीत ध्वन्यात्मक मात्र नभएर रागात्मक पनि भएकोले रसज्ञहरूले ‘काव्य रस’ नामकरण गर्नु एउटा सामञ्जस्यको सादृश्य भन्नु अत्युक्ति नहोला।’ मल्लले भावको सघनता, भाषाको सुकोमलता र वेदनाको तीव्रताले दुर्गालाललाई वेदनाको मात्र होइन वेदना–जनित विद्रोहको पनि कविभन्दा हुन्छ, भनेका छन्।

बालकविताका सफल सर्जक

दुर्गालाल बालकविताका उत्तिकै सफल सर्जक हुन्। उनको पहिलो बालकविता स्रग्रह चिनियाम्ह किसिचा (मि श्रीको हात्ती) को धेरै संस्करण निस्केका थिए। दुई हजार प्रति छाप्दा दुई महिनामै बजारबाट सकिएको रेकर्ड पनि छ। कन्या मन्दिर माविका प्रधानाध्यापक केदारनाथ न्यौपानेले ‘ताइभाबा’ (चन्द्रमा) को भूमिकामा लेखेका छन्, ‘त्यस पुस्तक (चिनियाम्ह किसिचा) का अधिकांश कविता विद्यार्थीलाई कण्ठ हुनु त्यसको सफलताको प्रमाण हो।’

दुर्गालालले जीवनीको शोध गर्ने क्रममा बताएको एउटा प्रसंग रमाइलो छ, ‘एकपटक म थानकोटको एउटा विद्यालयमा जाँदा त्यहाँका प्रधानाध्यापकले मलाई स्वागत गर्दै तुरुन्तै सबै कक्षाका विद्यार्थीलाई कक्षाबाट निकालेर चौरमा उभ्याएर ‘चिनियाम्ह किसिचा’का कविता सुनाउभन्दा विद्यार्थीले पहिलो कवितादेखि अन्तिम कवितासम्म लय हालेर सुनाउँदा म त अचम्भित भएर हेरेको हेर्‍यै भएको थिएँ। त्यसबेलाका बालबालिकाले त्यसलाई प्रेमपूर्वक ग्रहण गरेको सम्झँदा अहिले पनि मेरो हृदय गद्गद् हुन्छ। यी कविता बच्चाहरूले समेत मन पराउनुको कारण सायद यसमा भएको गीतितत्व नै होला।’

हुन पनि दुर्गालालका कविता गीतजस्तै गेय छन्, अनि गीत कविता जत्तिकै गम्भीर। ‘सर्गःसिबें धर्ती नमिं ग्वाः’ (आकाशभन्दा धर्ती राँकिएको छ, ने. सं. १०८८) का सम्पादक हितकरवीरसिं कंसाकार लेख्छन्, ‘अंग्रेजी साहित्यका कवि शेली र कवि किट्सलाई गायक–कवि भनेर संज्ञा दिएजस्तै हाम्रो कवि दुर्गालाललाई पनि त्यस्तै नभन्नु वा त्यसरी स्वीकार नगर्नु उहाँप्रति मात्र होइन, हामीले आफ्नैप्रति नै पनि ठूलो अन्याय गर्नु जस्तै हुन्छ।’

‘सर्गःसिबें धर्ती नमिं ग्वाः’ पञ्चायती प्रशासनले जफत गरेको पुस्तक हो। लेखक र सम्पादक दुवैलाई थुनिएको थियो। प्रशासनले यस पुस्तकका केही पाना च्यात्न लगाएर मात्र उनीहरूलाई छाड्यो। पुस्तक प्रकाशनपूर्व पनि त्यसका रचना कार्यक्रममा सुनाएबापत उनले भूमिगत जीवन बिताउनु पर्‍यो। २०१८ सालमा पञ्चायतविरोधी अन्दोलनमा नेपालभाषाका थुप्रै लेखकले भाग लिए। उनले डिल्लीबजारको पद्मकन्या हाइस्कुलमा कविता सुनाए,

जन–जनैगु मे अथें, थ्व धर्तियागु मे अथें

एक व्यक्तिया पुजाय् मनूत लीन जूगु छाय् ?

(जनताका गीत त्यसै छन्, धर्तीका गीत त्यसै छनएक व्यक्तिको पूजामा किन मानिस लीन छन् ? )

व्यक्तिपूजाको विरोध गरेकै फलस्वरूप व्यापक धरपकड भयो। नेपालभाषाका लेखकहरू हितकरवीरसिंह र सूर्यबहादुर पिवाहरूलाई थुनियो। दुर्गालाल महिना–दिनसम्म भूमिगत भए, साँखुको पश्चिमतिरको मनमती नदीको छेउमा रहेको चुगाउँमा।

‘सर्गःसिबें धर्ती नमिं ग्वाः’ विभिन्न आन्दोलनका कार्यक्रमको लागि लेखिएका र लोकप्रिय भएका गीतहरूको संग्रह हो। नेवारहरू तिनै गीत गाएर विभिन्न आन्दोलनमा उत्रे। उनीहरू पञ्चायत विरोधी प्रजातन्त्रिक आन्दोलनमा उत्रे, भाषा आन्दोलन, नेपाल सम्वत् नयाँ वर्षको आन्दोलन र भाषिक/जातीय अधिकारका आन्दोलनमा उत्रे। अहिले पनि एफएम, टीभीमा उनकै प्रेमगीत बज्छन् भने नेपाल सम्बत्को न्हूदँ अनि भाषिक कालो दिवससम्म उनकै गीत गुञ्जिन्छ,

थःगु भाय् जक थः खनीपिं दे–थुवाः दैच्वँतले

देश न्ह्याबलें ख्वैच्वनी नुगलय् घाः जूगु थें।

(एक भाषा नीति लिन्छ त राज्य गर्नेले यदि

घाउभित्र दुखे दुखेझैं, देश रुन्छ सधैंभरि।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.