स्वदेशमै अलैँचीको खपत बढाउन अभियान
विराटनगर : नेपालका होटल, रेस्टुरेन्ट तथा घरघरमा तयार हुने परिकारमा समावेश गरेर स्वदेशमै अलैँचीको खपत बढाउन अभियान सुरु गरिएको छ। नेपालमा उत्पादित अलैँची बर्सेनि ठूलो मात्रामा बाहिरी मुलुक निकासी हुने गरेको छ।
तर, परिकारमा समावेश गर्न सके नेपालमै यसको खपत बढ्ने सरोकारवालाहरु बताउँछन्। उनीहरुका अनुसार मसलाका रूपमा अलैँचीको प्रयोग गर्दा परिकार पनि स्वादिष्ट हुन्छ। नेपाली परिकारमा समावेश गरेर स्वदेशमै अलैँचीको खपत बढाउने उद्देश्यले नेपाल सरकार र सहज परियोजनाको सहयोगमा ‘वाह अलैँची’ नाम दिएर साताव्यापी अभियान सुरु गरिएको हो।
मोरङको सुन्दरहरैँचास्थित विराटचोकमा सोमबार कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले अभियानको उद्घाटन गरेका छन्। उनले अलैँचीको खपत तथा उपभोग स्वदेशमै बढाउनुपर्नेमा जोड दिए। ‘अलैँचीको महत्व र उपभोगिताका बारेमा अभियानले प्रष्ट पार्नुपर्छ। नेपाली परिकारमा समावेश गर्न सके अलैँचीले स्वदेशमै बजार पाउँछ,’ दाहालले भने, ‘नेपाल, भारत र भुटानमा अलैँचीको उत्पादन धेरै हुने गरेको भए पनि यसको प्रयोग तेस्रो मुलुकहरूमा ज्यादा हुने गरेको छ। नेपालमा खपत बढाउन सकेमा अलैँचीको प्रयोगले मौलिक स्वादको सृजना गर्न सकिन्छ।’
उनका अनुसार अलैँची समावेश गरी तयार पारिएका मौलिक स्वादका परिकारले पर्यटकलाई समेत लोभ्याउने छ। प्रदेश सरकार मातहतका कार्यालयमार्फत पनि अलैँचीको ‘ब्रान्डिङ’लाई व्यवस्थित बनाएर लगिने उनले बताए। अभियानअन्तर्गत पहिलो दिन विराटचोकमा झापा, मोरङ र सुनसरीका ११ वटा होटल तथा रेस्टुरेन्टका का सेफ (कुक)हरूलाई अभिमुखीकरण गरिएको छ। होटल तथा रेस्टुरेन्टका सेफहरूलाई चर्चित मास्टर सेफ सन्तोष साहले खानाका परिकारहरूमा कसरी अलैँचीलाई समावेश गर्ने भन्ने बारेमा व्यवहारिक जानकारी दिएका थिए। साहले नेपालमा अलैँचीको उपभोग बढाउने उद्देश्यले अभियान सुरू भएको बताए।
उनका अनुसार एक हप्तासम्म विभिन्न ठाउँका होटल तथा रेष्टुरेन्टहरूमा गएर सेफहरुलाई परिकारमा कसरी अलैँचीलाई प्रयोग गर्न सकिन्छभन्ने बारेमा व्यवहारिक ज्ञान दिइने छ। अभियानको पहिलो दिन उनले अलैँची समावेश गरेर परिकार तयार पार्दै कार्यक्रमका सहभागीलाई चखाएका थिए।
सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठले नेपालमा विदेशबाट आयातित सुकुमेलको प्रयोग ज्यादा हुने गरेको बताइन्। उनले कोशी प्रदेश अलैँची उत्पादनमा अब्बल रहेकाले यहाँका होटल तथा रेष्टुरेन्टहरूले आफ्नो मेन्युमा अलैँचीलाई समावेश गरी यसको उपभोग बढाउनुपर्ने सुझाव दिइन्। ‘नेपालमा अलैँची उत्पादन पर्याप्त हुन्छ। तर, नेपाली परिकारमा बाहिरबाट आयात गरिएको सुकुमेलको प्रयोग धेरै हुने गरेको छ,’ श्रेष्ठले भनिन्, ‘अब नेपालमै अलैँचीको खपत बढाउनेतर्फ सबैको ध्यान जान जरुरी छ। सुकुमेलको प्रयोगलाई निरुत्साहित गरेर अलैँचीलाई प्राथमिकतामा राख्नुपर्छ।’
अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले विदेशबाट मसलाका रूपमा सुकुमेल आयात हुने गरेको बताउँदै सुकुमेलका ठाउँमा अलैँचीलाई प्रयोग गर्न सकिने बताए। ‘विदेशबाट सुकुमेल आयात भइरहेको छ। नेपालमै उत्पादन हुने अलैँची भने धेरै मात्रामा निर्यात हुन्छ,’ उनले भने, ‘नेपालमै अलैँचीको खपत बढाउनुपर्छ। यसको उपयोगिताका बारेमा सबैलाई जानकारी गराउन अभियानले महत्वपूर्ण भूमिका खेल्ने छ।’ अलैँचीको खपत स्वदेशमै बढाउन सकेमा सुकुमेल आयातका नाममा नेपाली रूपैयाँ बाहिरिने क्रम रोकिने उनको भनाइ छ।
भट्टराईका अनुसार स्वदेशमा खपत बढाउँदै विश्व बजारमा प्रवर्द्धन गर्न सके नेपालको अर्थतन्त्र सुधारमा अलैँचीले ठूलो भूमिका खेल्ने छ। अभियानले नेपाली परिकारमा अलैँचीको प्रयोग बढाउन प्रोत्साहन गर्नुका साथै आर्थिक गतिविधिलाई बढवा दिने उनको भनाइ छ। अनेक औषधीय गुण बोकेको अलैँचीमा क्यान्सर प्रतिरोधी क्षमता हुने भट्टराई बताउँछन्। खोकीदेखि फोक्सोको उपचारमा समेत अलैँचीको प्रयोग हुने उनले बताए।
उनका अनुसार नेपालमा प्रति वर्ष ५ हजार मेट्रिक टन अलैँची उत्पादन हुने गरेको छ। ९५ प्रतिशत विदेश निर्यात हुन्छ। नेपालबाट वार्षिक ८ अर्ब रुपैयाँको अलैँची निर्यात हुने गरेको तथ्यांक पनि कार्यक्रममा प्रस्तुत गरियो।