सुनकोशी–मरिण डाइभर्सन सुरुङ मार्गको बुधबार ‘ब्रेक थ्रु’ हुने

सुनकोशी–मरिण डाइभर्सन सुरुङ मार्गको बुधबार ‘ब्रेक थ्रु’ हुने
सुन्नुहोस्

सिन्धुली : मध्य तराईका पाँच जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने र ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेर निर्माण थालिएको सुनकोशी–रिण डाइभर्सन सुरुङ मार्गको बुधबार ‘ब्रेक थ्रु’ गरिने भएको छ। 

१३ दशमलव ३ किलोमिटर लामो सुरुङको बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम तय भएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए।

आयोजनाको १३ दशमलव तीन किलोमिटर मध्ये ९९ दशमलव ९९ प्रतिशत सुरुङ निर्माण सम्पन्न भएपछि सुनकोशी गाउँपालिका ७ कानढुंग्री स्थित सुनकोशी नदी किनारामा प्रधानमन्त्री प्रचण्डले सुरुङ ब्रेक थ्रु गर्न लागेका हुन्।  

आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका-२ कुसुमटारबाट १९ महिनाअघि टीबीएम प्रविधिको मेसिनको प्रयोग गरेर सुरुङ निर्माण थालिएको थियो।

राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजना सुनकोशी–मरिण डाइभर्सन अन्तर्गत सुरुङ निर्माणको काम कमलामाई नगरपालिका-२ को कुसुमटारबाट ०७९ असोज २८ देखि सुरु भएको थियो। सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले पाएको थियो। सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का सकारेको थियो।

कोभेकले यसअघि भेरी बबई डाइभर्सनको समेत टिविएम मेसिन प्रयोग गरेर सुरुङ निर्माण सम्पन्न गरेको थियो। यहाँको १३ दशमलव तीन किलोमिटर सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकोमा ३ महिना २ दिन अगावै ब्रेक थ्रु गर्न लागिएको आयोजनाका प्रमुख बरालको भनाइ छ। एकै दिनमा ७२ मिटरसम्म खनिएको सुरुङभित्र सुक्खा पहिरो र लेदो सहित पाखै खस्दा यस अघि ६ पटक सम्म अवरोध भएको थियो। 

आयोजनामा उच्च प्रविधिबाट ५/५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेग्मेन्ट प्रयोग गरिएको छ। आयोजना अन्तरगत कानढुंग्रीस्थित सुनकोशी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूमेस पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ। त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गरिनेछ।

आयोजनाको मुख्य उद्देश्य भनेको सुनकोशी नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाई सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ। त्यो सँगै सिन्धुलीको कुसुमटारमा ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गरिने छ।  ‘आयोजनाबाट ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ,’ आयोजना प्रमुख बरालले थपे।

सुरुङको ‘ब्रेक थ्रु’ हुँदै गर्दा उक्त आयोजना अन्तरगतका अन्य कामले भने गति लिन सकेको छैन। आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कामले गति लिननसक्दा आयोजनाको निर्माण कार्य समयमा सम्पन्न हुनेमा आशंका छ। जुन आयोजनाको मुख्य काम हो। सुनकोशी नदीमा बाँध बाँध्ने ठेक्का पटेल–रमण जेभीले लिएको पाएको छ। पटेल भारतीय कम्पनी भए पनि काम नेपाली कम्पनी रमण कन्स्ट्रक्सनले गरिरहेको छ।

सुनकोशी र तामाकोशीको सँगमस्थलबाट सय मिटर तल सुनकोशी गाउँपालिका ७ कानढुंग्रीमा सुनकोशी नदीमा बाँध निर्माणको काम सुरु भएको छ। बाँध निर्माण थालिएको १६ महिनाअघि हो। ०८४ असोजमा सम्पन्न गर्ने गरी सुनकोशीमा बाँध निर्माणलगायत काम गर्न पटेल–रमण जेभीले १२ अर्ब रुपैयाँमा ठेक्का लिएको हो। सुनकोशीमा बाँध बाँध्ने कामअन्तर्गत अहिलेसम्म कफर ड्याम जमिनमुनिको पिल्लर राख्ने लगायत ८ प्रतिशत मात्र प्रगति छ।

आयोजनाले चालु आर्थिक वर्ष ०८०/८१ मा बाँध निर्माणको काम १८ प्रतिशत सक्ने लक्ष्य राखेको छ। आयोजनाले सुरुङबाट पानी मरिण खोलामा खसालेपछि कुसुमटारदेखि वाग्मतीसम्मको ४४ किलोमिटर क्षेत्रलाई ७ वटा प्याकेज बनाएर नदी नियन्त्रणको काम सुरु गरिएको छ। तराई मधेशको लाफलाइन तथा इकोनोमिक गेम चेन्जरका रुपमा लिइएको आयोजनाको इलेक्ट्रो मेकानिकलको खरिद प्रक्रिया सुरु भएको छ भने ट्रान्समिसन लाइनको आईई अन्तिम चरणमा रहेको प्रमुख बरालले बताए। 

समग्र आयोजनाको भौतिकतर्फ ३० प्रतिशत र वित्तीय २८ प्रतिशत प्रगति भएको छ। आयोजनाको २०७७ साल फागुन २० गते कमलामाई नगरपालिका २ को कुसुमटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य समारोहका बीच शिलान्यास भएको थियो। 

४९ अर्ब ४२ करोड कुल लागत रहेको आयोजना निर्माणमा हालसम्म आयोजना निर्माणमा ११ अर्ब ९१ करोड १९ लाख खर्च भएको छ। बुधबार हुने आयोजनाको ब्रेक थ्रुका लागि प्रधानमन्त्री प्रचण्ड, मन्त्रीहरू, बागमती प्रदेशका मुख्यमन्त्री, मधेश प्रदेशका मुख्यमन्त्री, प्रतिनिधि सभाका सदस्यहरू, मन्त्रालयका सचिवहरू मंगलबार नै सिन्धुली आइपुग्ने कार्यक्रम रहेको छ। 

यद्यपि बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल भने मंगलबार दिउँसै सिन्धुली आइपुगेका भए पनि स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार नै हेलिकोप्टर मार्फत उपचारका लागि काठमाडौं लगिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.