अनौंठो चैते झरी

तीन दिन अझै पानी पर्ने

तीन दिन अझै पानी पर्ने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : भोजपुर बोखिमका प्रदीप वान्तवा चैते झरीका कारण गाउँमा अत्यधिक चिसो बढेको बताउँछन्। उनको गाउँमा केही सातादेखि निरन्तर झरी परिरहेको छ। उनले भने, ‘एकोहोरो पानी परिरहँदा गाउँ पूरै कुहिरोले छोप्छ, चिसो हावा चलिरहन्छ। घाम नदेखेको दुई, तीन साता भइसक्यो। चैते झरीले गाह्रो पार्‍यो।’ 

चिसो बढ्नुका साथै मौसम परिवर्तन हुँदा स्थानीयहरू बिरामीसमेत पर्न थालेको उनले बताए। निरन्तर परेको झरीले बाली लगाउन पनि समस्या परेको छ। यतिबेला पहाडी भेगमा खेतबारी जोतेर मकै छर्ने समय भए पनि खुट्टा भासिने हिलोमा काम गर्न नमिलेको उनले बताए। मौसम पूर्वानुमान महाशाखाले पनि कोशी प्रदेशको भोजपुर र ताप्लेजुङ, तेह्रथुम, धनकुटालगायत स्थानमा धेरै वर्षा भइरहेको बताएको छ। महाशाखाका मौसमविद्, सञ्जीव अधिकारी भन्छन्, ‘बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेको छ, त्यसमा आद्रता पनि भएकाले पूर्वतिर बढी पानी परिरहेको हो।’ 

अधिकारीका अनुसार हालको अवस्था हेर्दा सरदरभन्दा कम तापक्रम रहेकाले चिसो महसुस भएको हो। साथै, साताको कुरा गर्दा सरदरभन्दा बढी पानी परिरहेको उनले बताए। यो वर्ष हिउँद पूरै सुक्खा भए पनि प्रिमनसुनको सुरुवातदेखि नै पानी पर्न थालेको छ। चैत सुरु भएदेखि नै बागमती, कोशी, गण्डकी प्रदेशका मकवानपुर, काभ्रे, दोलखा, काठमाडौं, ललितपुर, भक्तपुर, स्याङजा, तनहुँ, नवलपरासी, रौतहट लगायतका जिल्लामा मध्यमदेखि भारी वर्षा भएको छ। हाल कर्णाली र सुदूरपश्चिमबाहेक अन्यतिर पानी परिरहेको उनले जनाए। अधिकारीले भने ‘पूर्णरूपमा मौसम सुधार हुन अझै तीनदिन पर्खनुपर्ने हुन्छ। यतिबेला देशैभरि बदली रहेको छ। त्यसपछि मात्रै मौसम पूर्वानुमान गर्न सकिन्छ।’

प्रि–मनसुनको समयमा स्थानीय वायुको प्रभाव धेरै रहन्छ। यसले मेघमर्जन, चट्याङसहितको वर्षा ल्याउँछ। हालको वर्षालाई स्थानीय वायुले नै सहयोग गरिरहेको अधिकारीले बताए। कहिलेकाहीँ पश्चिमी न्युन चापिय प्रणाली आउने भएकाले त्यसले अझै धेरै असर गर्छ। शनिबारबाट पश्चिमी न्यून चापिय प्रणाली आउने भएकाले पश्चिमतिर पनि पानी पर्ने छ। हालसम्मको अवस्था हेर्दा प्रि–मनसुनको यो वर्षालाई अस्वाभाविक भन्न मिल्दैन। झरी पर्दै, रोकिँदै गरिरहेको छ। तर, यो निरन्तर भएको छैन। महिनांै एकोहोरो झरी परेमा मात्रै अस्वाभाविक मानिने उनले बताए। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले शनिबार पश्चिमी वायुले देशैभरि, (पहाड र हिमाली भेगमा मेघ गर्जनसहित) को वर्षा गराउने पूर्वानुमान रहेको बताए। पहाडी भेगमा अझै वर्षा निरन्तर रहने र अन्य भेगमा आइतबारदेखि मौसममा केही सुधार हुने बताउँछन्। पहाडमा अन्यत्र भन्दा चिसो छ। अर्को बिहीबारदेखि फेरि अर्को सिस्टम देखिँदै छ। त्यसले पुन मौसम बदली रहनेछ। पोखरेलले भने, ‘प्रि–मनसुन जस्तो वर्षा भएको छैन। प्रि–मनसुनमा चट्याङ, गड्यांङगुडुङ, हावाहुरीसहितको छोटो समय पानी पर्नुपर्ने हो। तर, मसिनो पानी धेरै लामो समय सम्म परिरहेको छ।’ 

सिस्टम अलि अनौठो भएको बताउँदै पोखरेलले भने देशैभरि एकैदिनसम्म ६० मिमि सम्म पानी परेको छ। कुनै ठाउँमा सय मिमिभन्दा बढी पानी परिसकेको बताए। समग्रमा हेर्दा ठाउँ अनुसार फरक छ। तराई अलि सुक्खा छ। प्रि–मनसुनमा समग्र वर्षाको १५ प्रतिशतसम्म पानी पर्छ। यस अवधिमा करिब ३०० मिमिसम्म पानी पर्न सक्छ। कतिपय ठाउँमा केही घण्टामा नै ६० मिमिसम्म वर्षा भइरहेको छ। काठमाडौं बाहिरको वर्षा प्रि–मनसुनको जस्तो भए पनि काठमाडौंमा भने त्यस्तो नदेखिएको उनले बताए। जल तथा मौसम विज्ञान विभागका मौसमविद्, सुदर्शन हुमागाईंले प्रिमनसुन सुरु भएदेखि सामान्यभन्दा धेरै वर्षा भएको जनाए। मार्चदेखि मे सम्मलाई प्रि–मनसुनको अवधि मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.