ठेक्का लागेको २ वर्ष, काम २० प्रतिशत

ठेक्का लागेको २ वर्ष, काम २० प्रतिशत
सुन्नुहोस्

३९ किलोमिटर पिचका लागि तीन खण्डमा ठेक्का आह्वान गरे पनि एउटै निर्माण कम्पनीको ठेक्का स्वीकृत भएको थियो। तीन खण्डको निर्माणको जिम्मा शर्मा–शिवशक्ति जेभी चितवनले पाएपछि निर्माणले गति लिन सकेको छैन।

संखुवासभा : सदरमुकाम खाँदबारीको लभिङहिलदेखि नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रेको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा यात्रीले सास्ती खेप्नु परेको छ। किमाथांका–रानी सडकको यस खण्डको ठेक्का लागेको दुई वर्ष बित्दा पनि २० प्रतिशतमात्र काम सम्पन्न भएको उत्तर–दक्षिण कोसी सडक आयोजनाले जनाएको छ। 

३९ किलोमिटर पिचका लागि तीन खण्डमा ठेक्का आह्वान गरे पनि एउटै निर्माण कम्पनीको ठेक्का स्वीकृत भएको थियो। तीन खण्डमा निर्माण कार्य गर्दा काम छिटो हुने उद्देश्यले ठेक्का आह्वान गरिएको आयोजनाका सूचना अधिकारी नरेश जिरेलले बताए। तीन खण्डको निर्माणको जिम्मा शर्मा–शिवशक्ति जेभी चितवनले पाएपछि निर्माणले गति लिन सकेको छैन। मंगलादेवी थानबाटै सडक हिलाम्मे हुँदा तीन घण्टा समय लाग्ने ठाउँमा एक दिन पूरै समय लाग्ने भएको छ। सडक हिलाम्मे भएपछि पैदलयात्रीले समेत सास्ती खेप्नु परेको खाँदबारी नगरपालिका–३ का सरोज विश्वकर्माले बताए। 

सडक पिचको जिम्मा पाएको शर्मा–शिवशक्ति जेभीले गत पुससम्ममा ३० प्रतिशत काम सक्नु पर्ने भए पनि १२ प्रतिशत पनि काम सकेको थिएन। समयसीमाअनुसार काम सम्पन्न नगर्दा निर्माण कम्पनीले जरिवाना तिर्नुपर्ने भए पनि विभिन्न बहाना देखाउँदै गत जेठ २० गतेसम्म म्याद थपेको थियो। थपिएको म्यादमा समेत निर्माण कम्पनीले करिब २२ प्रतिशतमात्र काम सम्पन्न गरेको आयोजनाका सूचना अधिकारी जिरेलले जानकारी दिए। निर्माण कम्पनीले २०८१ असारसम्ममा ३९ किलोमिटर सडक पिच गरी सक्नुपर्ने सम्झौता भए पनि हालसम्मको प्रगति हेर्दा समयमा काम नसकिने देखिन्छ। ३९ किलोमिटर सडकको कालोपत्रे गर्नका लागि ४८ प्रतिशत घटेर निर्माण कम्पनीले ठेक्का लिएको हो । २ अर्ब ६० करोडको शर्मा शिवशक्तिले १ अर्ब २७ करोडमा ठेक्का पारेको थियो ।

नुमदेखि बेंसी दोभानसम्मको १० किलोमिटर सडक कालोपत्रेको काम भने सन्तोषजनक रहेको आयोजनाले जनाएको छ। सिंह एन्ड ब्रदर्स/विवश/ड्र्यागन जेभीले एक वर्षमा २० प्रतिशतभन्दा बढी काम गरिसकेको छ। २०७९ वैशाखमा निर्माण कार्य सुरु भएको सो सडकखण्ड २०८१ असोजमा काम सम्पन्न गर्नु पर्नेछ। 

सडक हिलाम्मे भएपछि यातायात अवरोध

किमाथांका–रानी सडकको खाँदबारी सडकखण्डमा सडक हिलाम्मे भएपछि स्थानीयले सडक बन्द गरेर यातायात सञ्चालनमा रोक लगाएका छन्। मंगा देवीथानदेखि मानेभन्ज्याङसम्मको सडक हिलाम्मे भई पैदल यात्रीसम्म हिँड्न नसक्ने भएपछि स्थानीयले यस वर्षमात्रै दुई पटक सडक अवरुद्ध गरेका छन्। 

विद्यालय गएका विद्यार्थी सडक पार गर्न नसकेर हिलाम्मे भएपछि बाध्य भएर सडक अवरुद्ध गर्नु परेको स्थानीय राज श्रेष्ठले बताए। स्थानीय श्रेष्ठले भने, ‘विद्यालय गएका विद्यार्थी विद्यालय नै नपुगी घर फर्कनुपर्ने अवस्था भएकाले हामीले सडक बाँस र रूख राखेर सडक अवरुद्ध गरेका हौं। 
पटकपटक सडक मर्मतका लागि अनुरोध गरेपछि अन्तिम विकल्पका रूपमा यातायात रोक्नु परेको उनले बताए। 

सोमबार दिउँसो आक्रोशित स्थानयीवासीले मानेभन्ज्याङमा सडक अवरुद्ध गरी उत्तर–दक्षिण कोसी सडक आयोजनाको कार्यालयमा तालाबन्दी गरे। असार ३२ गते पनि स्थानीयले सडक अवरोध गरेका थिए। सडक अवरुद्धपछि जिल्ला प्रशासनको अगुवाइमा भएको वार्तामा आयोजना र निर्माण कम्पनी शर्मा–शिवशक्ति जेभीले तत्काल यातायात सञ्चालन हुने गरी सडक मर्मत र निर्माण गर्ने प्रतिबद्धता पछि अवरोध खुलेको थियो। तीन दिन सडक मर्मत गर्ने निर्णय भएको थियो। सहमतिलाई बेवास्ता गरेको भन्दै पुनः सोमबार स्थानीयले सडकमा अवरोध गरी यातायात सञ्चालनमा रोक लागएका हुन्।

मंगलबार साना गाडी सञ्चालनमा रोक लगाए पनि ठूला गाडी सञ्चालनमा स्थानीयले अवरोध गरेका छन्। निर्माण कम्पनीले सडक मर्मतको काम थालेकाले बुधबार सडक खुल्ला गरेको स्थानीय इन्द्र तामाङले बताए। सडक हिलाम्मे भएकाले दुर्घटनासमेत बढ्न सक्ने तामाङ बताउँछन्। 

पहिरोले उत्तर दक्षिण सडकखण्ड अवरुद्ध 

संखुवासभामा अविरल वर्षासँगै आएको बाढीले पहिरोले उत्तर दक्षिण कोसी राजमार्ग अवरुद्ध भएको छ। लगातारको वर्षाले उत्तर दक्षिण कोसी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको हो। वर्षासँगै आएको बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी–किमाथांका सडक ठप्प भएको छ। 

सोमबार राति वर्षासँगै आएको पहिरोले उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको उत्तर–दक्षिण कोसी सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले जानकारी दिए। उत्तर–दक्षिण कोसी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ।

मकालु गाउँपालिका–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ। मकालु गाउँपालिका–५ मा पहिरो हटाउन थालिएको सडक कार्यालयले जनाएको छ। मकालु–३ मा वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने आयोजनाका सूचना अधिकारीले जानकारी दिए। लगातारको वर्षाले उत्तर–दक्षिण सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ। पहिरोका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने गाडीहरू बीच बाटैमा अलपत्र परेका छन्। 

कहिले पाउला आयोजनाले प्राथमिकता ?

त्रिदेशीय लिंक रोड किमाथांका–जोगबनी निर्माणले अझै गति लिन सकेको छैन। यस सडकमा चार अर्ब रुपैयाँभन्दा बढी खर्च भए पनि सवारी सञ्चालनमा समस्या उस्तै छ। सरकारले किमाथांका–जोगबनी सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिए पनि सडक निर्माणकार्य भने सुस्त गतिमा रहेको छ। राष्ट्रिय गौरवको आयोजना निर्माणले नै गति पाउन नसक्दा स्थानीय निराश छन्।

खाँदबारी–किमाथांका १ सय ६२ किलोमिटरअन्तर्गतको करिब ३ किलोमिटर ट्र्याक खुल्न बाँकी छ। खाँदबारीदेखि वरुणसम्मको ८० किलोमिटर क्षेत्रमा हिउँदको समयमा यातायात सञ्चालन भए पनि बर्खाको समयमा सडक सञ्चालनमा सकस हुने गरेको छ । भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको १४ किलोमिटर ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.