धर्म गुरु श्री निवासाचार्य २१ दिनपछि डिस्चार्ज, गोली हान्ने पत्ता लागेनन्
![धर्म गुरु श्री निवासाचार्य २१ दिनपछि डिस्चार्ज, गोली हान्ने पत्ता लागेनन्](https://annapurnapost.prixacdn.net/media/albums/20180429012420_Sree-nibasacharya_QYAEKnRlrp.jpg)
विराटनगरः अज्ञात समूहको गोली प्रहारबाट २१ दिन अघि घाइते भएका हिन्दु धर्म गुरु श्री निवासाचार्य आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
तीन साता सम्मको उपचारपछि विराटनगरको न्युरो अस्पतालले उनलाई डिस्चार्ज दिएको हो । उपचारमा संलग्न चिकित्सक डा. सुदिप खनियाले स्वास्थ्य अवस्थामा सुधार भएपछि अस्पताल बाहिरै बसेर आराम गर्ने गरी डिस्चार्ज दिइएको बताए ।
‘लामो समयको उपचारपछि स्वास्थ्य अवस्था सुधार भएका कारण गुरुलाई डिस्चार्ज दिइएको हो,’ उनले भने, ‘पहिलेकै अवस्थामा फर्कन भने केही समय लाग्ने छ ।’ गुरु स्वास्थ्य अनुकूल वातावरणका लागि भन्दै काठमाडौंतर्फ लागेका छन् ।
धेरै बोल्न नरुचाएका उनले आफूमाथि गोली प्रहार हुँदा दुःख व्यक्त गर्ने र सहयोग गर्ने सम्पूर्ण भक्तजन तथा उपचारमा उल्लेख्य भूमिका खेल्ने अस्पताललाई धन्यवाद दिए ।
डा. खनिया नेत्रृत्वकै चिकित्सक टोलीले उनको उपचार गरेको हो । एक दिन आईसियूमा राखेर ४५ मिनेट सम्म लगाएर गरिएको शल्यक्रिया सफल भएपछि बाँकी उपचार सम्भव भएको डा. खनियाले बताए ।
गुरुले चिकित्सक टोलीलाई सम्मान पनि गरेका छन् । गत चैत्र २५ गते विहान अज्ञात समूहले गोली प्रहार गरेर विराटनगरमा श्री निवासाचार्यलाई घाइते बनाएको थियो । दायाँ छातीमाथि कुम नजिकै लागेर गोली पार भएको थियो ।
धर्मगुरु श्री निवासाचार्यको उपचार खर्च नेपाल सरकारले ब्यहोर्ने भएको छ । विराटनगर स्थित न्युरो अस्पतालमा आइतबार आयोजित पत्रकार सम्मेलनमा गुरुको उपचारमा लागेको सबै खर्च नेपाल सरकारले ब्यहोर्ने जानकारी दिइयो ।
उनको उपचारमा एक लाख ५५ हजार रुपैयाँ लागेको अस्पतालले जनाएको छ । अस्पतालले उपचारका क्रममा एक लाख ३० हजार रुपैयाँ र औषधिमा २५ हजार रुपैयाँ खर्च भएको र सबै खर्च नेपाल सरकारको गृह मन्त्रालयले ब्यहोर्ने प्रतिवद्धता जनाइसकेको बताएको छ ।
गोली प्रहार भएपछि घटनामा संलग्न भएको आशंकामा हालसम्म पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर घटनामा पक्राउ परेकाहरुको संलग्नता भने पुष्टि भएको छैन ।
मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले नियन्त्रणमा लिइएकामध्ये तीनजनालाई छाडिएको बताए । ‘शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिइएको थियो । कुनै पनि कोणबाट घटनामा उनीहरुको संलग्नता नदेखिएपछि तीन जनालाई छाडिएको छ,’ उनले भने, ‘अन्य दुई जनालाई हिरासतमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको छ । घटनामा उनीहरुको पनि संलग्नता पुष्टि भइसकेको छैन ।’
घटनाको अनुसन्धान गर्न र दोषी पत्ता लगाउनका लागि भनेर प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षकको नेत्रृत्वमा चार जनाको टोली समेत खटाएको छ । घटना भए यता टोलीले मोरङमै रहेर काम गरिरहेको भए पनि अहिलेसम्म घटनाको वास्तविकता सम्म प्रहरी पुग्न सकेको छैन भने गोली हान्नेको पनि पहिचान भइसकेको छैन । गोली कसले हानेको हो भनेर घटनाको चुरो सम्म पनि प्रहरी पुग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)