नेपाली क्रिकेटमा ब्याटिङले दिएको तनाव

नेपाली क्रिकेटमा  ब्याटिङले दिएको तनाव

काठमाडौं : कीर्तिपुर मैदानमा सोमबार यू-१९ राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान एकै ओभरमा २० रनको लक्ष्य पार गर्ने प्रयास गर्दै थिए । उनीहरूका लागि दोस्रो ओभरमा लक्ष्य अर्कै हुन्थ्यो । दिनभरको अभ्यासमा उनीहरूले प्रत्येक दुई÷चार ओभरमा फरक लक्ष्य पछ्याउनु परेको थियो । युवा ब्याट्सम्यानका लागि ती लक्ष्य पार गर्न मानसिक र शारीरिक रूपमा तत्काल तयार हुनुपर्ने चुनौती थपिएको थियो ।

गत जुलाईको अन्तिम साता सिंगापुरमा सम्पन्न आईसीसी यू-१९ विश्वकपको एसियाली छनोटमा कमजोर ब्याटिङ प्रदर्शनकै कारण ठूलो क्षति बेहोरेको नेपाली टोली अहिले त्यसकै सुधारमा लागेको छ । त्यो खराब प्रदर्शनको करिब डेढ महिनापछि यही शुक्रबारबाट सुरु हुने एसिया कप छनोट (एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता)को अन्तिम तयारीमा व्यस्त रहेको नेपाली टोलीलाई मुख्य प्रशिक्षक विनोद दास र ब्याटिङ परामर्शदाता प्रशिक्षक मोन्टी देसाईले फरक शैलीमा प्रशिक्षण दिँदै आएका छन् ।

 

ब्याट्सम्यानले तुरुन्तै परिवर्तन भएको 'सिनारियो'मा देखाएको हाउभाउ र त्यसलाई पार गर्न प्रयोग गरेको तरिकालाई प्रशिक्षकद्वय दास र देसाईले नजिक बसेर अवलोकन गरिरहेका थिए । लक्ष्य भेट्टाउन उनीहरूले गरेको कमजोरीमा प्रशिक्षकहरू तत्काल उपाय पनि सुझाउँथे । प्रशिक्षक दासका अनुसार नेपाली टोलीले पछिल्लो तीन साताको तयारीमा सबैभन्दा बढी ब्याटिङ सुधारमै समय खर्चिएको छ । ब्याटिङमा पनि खेलका क्रममा आईपर्ने फरकफरक अवस्थाको कृत्रिम लक्ष्य बनाई खेलाडीलाई अभ्यस्त बनाउने प्रयास गरिएको छ ।

'विश्वकप छनोटमा ब्याटिङको कुरा गर्ने हो भने हामी पूर्ण रूपमा असफल हुँदै आएका छौं । खेलाडीमा राम्रो खेल्न सक्ने क्षमता छ । प्रतियोगिताअघि भारतमा भएको अभ्यासका क्रममा खेलिएका सबै खेलमा हाम्रा खेलाडीले सशक्त प्रदर्शन गरेका थिए', प्रशिक्षक दासले अन्नपूर्णसँग भने, 'त्यो प्रदर्शनबाट हामीले खेलाडीलाई मानसिक रूपमा बलियो बनाउनुपर्छ भन्ने बुझ्यौ । त्यसैले अहिले खेलका क्रममा आउने फरकफरक अवस्थाको कृत्रिम लक्ष्य दिएर उनीहरूलाई त्यसमा राम्रो प्रदर्शन गर्न अभ्यस्त बनाउँदै छौं ।'

_MG_8294

विश्वकप छनोटमा नेपाली टोलीले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा भने निकै कमजोर प्रदर्शन गरेको थियो । बलिङतर्फ कप्तान सन्दीप लामिछाने प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी बन्दा ब्याटिङतर्फ भने अनुभवी र सिनियर खेलाडीले समेत गतिलो प्रदर्शन दिन सकेका थिएनन् । त्यसैले नेपाली टोलीले एसिया कप छनोटका लागि भने ब्याटिङ सुधारमा बढी ध्यान केन्द्रित गर्दै परामर्शदाता प्रशिक्षक नै झिकाएर तयारी गरिरहेको छ ।

'अहिले मेरो जिम्मेवारी ब्याटिङमा मात्रै छ । पछिल्लो एक सातायता म टोलीका नौजना ब्याट्सम्यानलाई उनीहरूको प्रदर्शनमा कसरी सुधार ल्याउन सकिन्छ भनेर प्रयास गरिरहेको छु', देसाई भन्छन्, 'केही ब्याट्सम्यानमा निकै राम्रो सुधार पनि देखिएको छ । केही ब्याट्सम्यानले धेरै रन बनाउन नसके पनि भनेको कुरालाई खेलमा उतार्ने प्रयास गरेका छन् । अहिलेसम्मको प्रयासमा राम्रो संकेत देखिएको छ ।'

ब्याटिङ समस्याकै कारण विश्वकप छनोटपछिको नेपाली टोलीमा केही महत्वपूर्ण परिवर्तन पनि गरिएको छ । टोलीका केही खेलाडी फेरबदल भएका छन् भने कप्तानसमेत परिवर्तन गरिएको छ । सन्दीप लामिछानेको स्थानमा यसपटक दीपेन्द्रसिंह ऐरीले टोलीको कप्तानको जिम्मेवारी पाएका छन् । नेपाली टोली प्रतियोगितामा सहभागी हुन शुक्रबार मलेसियातर्फ प्रस्थान गर्दैछ ।

एसियाको पूर्व क्षेत्रका आठ टोली सम्मिलित प्रतियोगिताको विजेता एक टोली अर्को वर्ष मलेसियामै हुने तय भएको यू-१९ एसिया कपका लागि छनोट हुनेछ । प्रतियोगिताको समूह 'ए'मा परेको नेपाली टोलीले पनि विजेता बन्दै प्रतियोगिताका लागि छनोट हुने लक्ष्य राखेको छ ।
'यू-१९ स्तरमा प्रायः सबै टोली उस्तै हुन्छन् । त्यसैले त्यति सहज नहुन सक्छ', नेपाली टोलीका प्रशिक्षक दास भन्छन्, 'यद्यपि हामी उपाधिका दाबेदार टोली हौं । प्रतियोगिको शीर्ष स्थानमा रहेर एसिया कपका लागि छनोट हुनेछौं ।' प्रतियोगिताअन्तर्गत नेपालको समूहमा सिंगापुर थाइल्यान्ड र भुटान छन् । यस्तै अर्को समूहमा मलेसिया, हङकङ, चीन र म्यानमार छन् ।

ब्याटिङमा सुधार देखिएको छ : मोन्टी देसाई

म छोटो अवधिका लागि केही विशेष जिम्मेवारीसहित नेपाल आएको हुँ । यति बेला मेरो सम्पूर्ण ध्यान नेपाली टोलीको ब्याटिङ सुधारमा केन्द्रित छ । हामीले पछिल्लो साता दिनको प्रशिक्षणमा खेलाडीलाई स्पिन बलिङमा कसरी खेल्ने ? फुट वर्कको कला सिकाउने, स्ट्राइक रोटेड कसरी गर्ने ? क्रिकेटको अधिकतम प्रयोग गरी कसरी रन जोड्न सकिन्छ भन्ने लगायतका विषयमा केन्द्रित रहेर अभ्यास गराइरहेका छौं ।

मैले टोलीमा ब्याट्सम्यानको मात्रै जिम्मेवारी लिएको छु । व्यक्तिगत रूपमा प्रत्येक ब्याट्सम्यानको खेल हेरेर उनीहरूको स्तरमा कसरी सुधार ल्याउन सकिन्छ भनेर प्रयास गरिहेको छु । यो अवधिमा केही ब्याट्सम्यानमा निकै राम्रो सुधार पनि देखिएको छ । केही ब्याट्सम्यानले धेरै रन जोड्न सकेका छैनन् । यद्यपि उनीहरूले सिकाएको कुरालाई आफ्नो खेलमा प्रयोग गर्ने प्रयास गरेका छन् । आठदस दिनको अवधिमै कुनै पनि प्रशिक्षकले धेरै सुधार ल्याउन सक्दैन । अहिलेसम्मको अवस्थामा निकै राम्रो सुधार देखिएको छ ।

नेपाली युवा ब्याट्सम्यानमा क्षमता छ । यद्यपि उनीहरूलाई आफ्नो भूमिकाबारे पनि राम्रोसँग ज्ञान दिलाउन सक्नुपर्छ । हामीले अहिलेसम्म खेलाडीलाई उनीहरूको अर्डरअनुसारको भूमिकाका बारेमा पनि ज्ञान दिलाएका छौं । उनीहरूले त्यसलाई बुझ्ने प्रयास पनि गरेका छन् । विश्वकप छनोटमा ब्याट्सम्यानहरूले राम्रो गर्न सकेनन् । त्यो उनीहरूलाई पनि महसुस भएको छ ।

अहिलेको अवस्थामा उनीहरूले निकै मेहनत गरिरहेका छन् । मेहनतको दृष्टिबाट कुनै पनि खेलाडीले गुनासो गर्ने ठाउँ दिएका छैनन् । हाम्रो अपेक्षा र खेलाडीको अवस्था कहिलेकाहीँ मेल खाँदैन । खेलाडीलाई मानसिक रूपमा केन्द्रीकृत गर्न सकियो भने राम्रो प्रदर्शन आउँछ । विनोद र मैले मिलेर खेलाडीलाई आफ्नो जिम्मेवारीमा बढी केन्द्रित हुन जोड दिइरहेका छौं ।
(देसाई नेपाली यू-१९ टोलीका ब्याटिङ परामर्शदाता प्रशिक्षक हुन् ।)

'कप्तान परिवर्तनले असर गर्दैन'

विश्वकप छनोटमा सन्दिप (लामिछाने)ले खेलाडीको हैसियतमा पनि निकै राम्रो प्रदर्शन गरे । कप्तानको जिम्मेवारी पनि राम्ररी पूरा गरेका छन् । त्यसमा कुनै दुविधा छैन । टोलीमा रहेकामध्ये सन्दिप र दीपेन्द्र सिंह (ऐरी) दुवैले राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन् ।

त्यसैले यसपटक कप्तान परिवर्तन गरी हेरौं भनेर यसो गरिएको हो । हामीले कुनै ठूलो निर्णयभन्दा पनि जिम्मेवारी परिवर्तन गरी हेरौं भन्ने उद्देश्यले गरेका हौं । हामीले यस विषयमा सन्दीपसँग पनि कुरा ग¥यौं । सन्दिपले पनि यो कुरालाई निकै सहज रूपमा लिए । कप्तान परिवर्तनको प्रक्रिया निकै सहज रूपमा भएको हो । त्यसैले यही कारणले टोलीको प्रदर्शनमा कुनै नकारात्मक असर पर्दैन । अहिलेसम्म पनि सबै खेलाडीले एकअर्कालाई सहयोग गरेर तयारी गरिरहेका छन् । प्रतियोगितामा पनि यस्तै सहकार्य जारी रहनेछ ।

नेपाली टोली
१, दीपेन्द्रसिंह ऐरी (कप्तान)
२, सन्दिप लामिछाने
३, मोहम्मद आसिफ सेख
४, सन्दिप सुनार
५, प्रनित थापामगर
६, अनिलकुमार शाह
७, पवन सर्राफ
८, रोहितकुमार पौडेल
९, किशोर महतो
१०, शहब आलम
११, नन्दन यादव
१२, विक्रमकुमार भुसाल
१३, सन्दिप जोरा
१४, सुमित महर्जन


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.