खण्डहर बन्यो तत्कालीन राजा वीरेन्द्रको क्याम्प
बर्दिया : तराईकै सबैभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वर्गीय राजा वीरेन्द्रले लालमाटी भन्ने स्थानमा निर्माण गर्न लगाएको लालमाटी क्याम्प पछिल्लो समय खण्डहर बन्दै गएको छ ।नेपालको पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मध्य तथा सुदूरपश्चिमको सिमानालाई जोड्ने कर्णाली नदीमा पुल निर्माणका क्रममा स्व. राजा वीरेन्द्रको अनुरोधमा जापानी ठेकेदारले निर्माण गरेको उक्त क्याम्प संरक्षणको अभावमा खण्डहर बनेको हो ।
नेपालमा भएको तत्कालीन द्वन्द्वको समयमा भवनका भौतिक पूर्वाधार चोरीलगायत तोडफोड भएपछि क्याप्प जीर्णसँगै खण्डहर बनेको हो । बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयदेखि १८ किलोमिटर उत्तरपश्चिम, महेन्द्र राजमार्गबाट ५ सय मिटर दक्षिण तथा कर्णाली पुलको ८ किलोमिटर पूर्वदक्षिणमा लालमाटी क्याम्प छ । २०४८ सालतिर जापानको कावासाकी कम्पनीले निर्माण गरेको उक्त क्याम्प ५१ सालमा बर्दिया राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गरिएको हो ।
'कर्णाली नदीमा पुल निर्माण गर्ने समयमा 'स्टाफ' बस्न तथा निर्माण कम्पनीको कार्यालय स्थापनाका लागि भन्दै उक्त स्टेटमेन लालमाटी क्याम्प निर्माण गरिएको हो', बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले भन्नुभयो, 'क्याम्पन निर्माणमा कर्णाली पुल निर्माणअन्तर्गत करोडौं रुपैयाँ खर्च भएको छ ।'
स्व. राजा वीरेन्द्रको अनुरोधमा जापानी ठेकेदारले निर्माण गरेको क्याम्प संरक्षण अभावमा खण्डहर बनेको हो ।
तत्कालीन द्वन्द्वको समयमा क्याम्पका भौतिक संरचना अस्तव्यस्त भएको उहाँले बताउनुभयो । सुरुसुरुमा निकुञ्जले क्षेत्रीय तालिम केन्द्रका रूपमा सञ्चालन गर्न खोजेको थियो । तर चरम द्वन्द्वका कारण सञ्चालन गर्न नसक्दा लालमाटी क्याम्प अहिले खण्डहर बन्दै गएको थापाको भनाइ छ । क्याम्प मर्मतसम्भारमा करोडौं खर्च लाग्ने बताउँदै सुरक्षाका कारण सरकारी कार्यालयबाहेक अरूलाई दिन नमिल्ने भएकाले पनि जैविक विविधता अध्ययन केन्द्रका रूपमा सञ्चालन गर्न सकिने सम्भावना रहेको उहाँले बताउनुभयो ।
पुल निर्माण कम्पनीका लागि सो क्याम्प निर्माण गरिएको बताइए तापनि स्व. राजा वीरेन्द्रलगायत राजपरिवारका सदस्यले प्राकृतिक मनोरम दृश्यावलोकनका लागि बनाइएको स्रोतको दाबी छ । राजपरिवारका सदस्य कर्णाली नदी तटीय क्षेत्रको एकान्त वातावरणमा निर्मित उक्त क्याम्पमा महिनौ बस्ने गर्थे । कर्णाली नदी तटीय लालमाटी क्षेत्र स्व. राजा वीरेन्द्रलाई अत्यधिक मन पर्ने स्थान भएको स्रोतको दाबी छ ।
'जंगलको बीचमा निर्माण गरिएको सुन्दर क्याम्पमा ३२ वटा कोठामध्ये दुईवटा भीआईपीसहित अन्य 'होस्टेल स्टाइल'मा निर्माण गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो । 'निरन्तर १८ घन्टासम्म चल्ने तीनवटा ठूला जेनेरेटर, पानीट्यांकीलगायत भौतिक सामग्री द्वन्द्वकालीन समयमै नासिए', उहाँले भन्नुभयो, 'क्याम्पका लागि चाहिने अन्य सामग्री यत्रतत्र भग्नावशेष अवस्थामा छन् । यहाँ जडित बिजुलीका वायरिङ, कोठाका झ्यालढोका र जलयात्रा गर्ने ठूला डुंगा बिग्रिएका छन् ।'
राज्यले कुनै लगानी एवं चासो नदेखाउँदा निकुञ्जभित्र निर्मित क्याम्प खण्डहर अवस्थामा पुगेको हो । यस्ता महत्वपूर्ण संरचनाको राज्यले संरक्षण गर्नु जरुरी रहेको संरक्षणकर्मीहरू बताउँछन् । लाखौं रकम खर्चेर निर्माण गरिएको लालमाटी क्याम्पको पुनर्निर्माण गरी यहाँ वन्यजन्तु रिसर्च सेन्टर वा कुनै राम्रो रिसोर्ट सञ्चालन गर्न सके पश्चिम नेपालकै पर्यापर्यटनको विकास हुने भएकाले त्यसतर्फ ठोस कदम चाल्न संरक्षणप्रेमीहरूले सुझाएका छन् ।