रेडबुल फुटसल लिगः किक अफको अग्रता
![रेडबुल फुटसल लिगः किक अफको अग्रता](https://annapurnapost.prixacdn.net/media/albums/kik-off-584b8f7c10a325.23176911_HxbW46GAel.jpg)
काठमाडौः रेडबुल फुटसल लिगअन्तर्गत शुक्रबार भएको खेलमा किक अफ फुटसल र सामाखुसी फुटसल विजयी भएका छन् । समूह ‘ए’ अन्तर्गतको खेलमा किक अफले रजनी फुटसललाई ८-१ गोलले हरायो । घरेलु मैदानमा उत्रिएको किक अफका लागि रजिन पाण्डे र उमिद क्षेत्रीले दुईदुई गोल गरे । प्रवेश जोशी, राजेश कुँवर, आशीष तामाङ र अरुज सिंहले पनि एकएक गोल गरे ।
पहिलो हाफमै ४-० गोलले अगाडि रहेको किक अफले दोस्रो हाफमा चार गोल थपेको थियो । रजनीका अविन थापाले दोस्रो हाफमा एक गोल फर्काएका थिए । किक अफका उमिद क्षेत्री प्लेयर अफ दी म्याच घोषित भए । समूहमा १३ खेलबाट ३१ अंक जोडेको किक अफ तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बानेश्वर रिक्रिएसनल सेन्टरको पनि १२ खेलबाट २८ अंक छ । १२ खेलपछि ढुकु फुटसल हब २३ अंक जोडेर तेस्रो स्थानमा छ ।
समूह ‘बी’ अन्तर्गत भएको खेलमा सामाखुसी फुटसलले कुमारी फुटसललाई ८-४ गोलले हरायो । घरेलु मैदानमा उत्रिएको सामाखुसीका लागि सन्तोष तामाङले तीन, नवीन लामाले दुई तथा सौरभ राखल मगर र श्याम नेपालीले एकएक गोल गरे । कुमारीका सुभेत लामाबाट एक गोल आत्मघाती रूपमा भएको थियो । कुमारीका अभिषेक रिजालले दुई तथा रुपेश क्षेत्री र डिगेस खड्गीले एकएक गोल गरे ।
पहिलो हाफमा ६-१ गोलको अग्रता लिँदै सामाखुसीले जितको सम्भावना बलियो बनाएको थियो । कुमारीका रूपेश क्षेत्री प्लेयर अफ दी म्याच घोषित भए । समूह ‘बी’ मा १३ खेलबाट २५ अंक जोडेको सामाखुसी तेस्रो स्थानमा छ ।
तालिकाको शीर्ष स्थानमा आसीन शंखमूल फुटसलको भने १२ खेलबाट २८ अंक छ । १२ खेलबाट २६ अंक बटुलेको कुमारी फुटसल दोस्रो स्थानमा छ । १३ खेलबाट २५ अंक जोडेको ताहाचल फुटसल चौथो स्थानमा छ । हरेक समूहमा आठआठ टोली सहभागी छन् । प्रतियोगिता एएमए इभेन्ट्सले आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)