ब्राजिललाई फुटबलमा पहिलो स्वर्ण 

ब्राजिललाई फुटबलमा पहिलो स्वर्ण 

रियो दी जेनेरियोः पाँच पटक सिनियर विश्वकप फुटबलको उपाधि जितेको ब्राजिलले पहिलो पटक ओलम्पिक फुटबलमा पनि स्वर्ण पदक हात पारेको छ । जारी रियो ओलम्पिकअन्तर्गत शनिबार राति भएको पुरुष फुटबलको फाइनलमा घरेलु टोलीले जर्मनीलाई टाइब्रेकरमा ५-४ गोलले हरायो । ब्राजिलमै दुई वर्षअघि आयोजित सिनियर विश्वकपको सेमिफाइनलमा जर्मनीले ब्राजिललाई ७-१ गोलको विशालअन्तरले हराएको थियो । त्यतिबेला जर्मनीले विश्वकपको उपाधिसमेत चुमेको थियो ।

चोटका कारण उक्त विश्वकप खेल्न नसकेका चर्चित स्ट्राइकर नेमारकै प्रेरणामा ब्राजिलले ओलम्पिक फुटबलमा स्वर्ण हात पारेको हो । टाइब्रेकरमा उनकै प्रहार निर्णायक बन्यो । टोलीका लागि पाँचौं प्रहार गर्न आएका नेमार चुकेनन् ।

त्यसअघि दुवै टोलीले सुरुका चारचार प्रहारमा गोल गरेका थिए । तर पाँचौं तथा अन्तिम प्रहारमा जर्मनीका निल्स पिटर्सन गोल गर्नबाट चुकेका थिए । पिटर्सनको प्रहारलाई ब्राजिलका गोलरक्षक वेभर्टनले विफल पारेका थिए ।

त्यसपछि नेमारले गोल गर्दै ब्राजिललाई स्वर्ण पदक दिलाए । ‘निकै लामो प्रतीक्षापछि अन्ततः ओलम्पिकको स्वर्ण पदक हाम्रो भएको छ । यो स्वर्ण भगवान्को हो । भगवान्ले नेमारलाई माया गर्छन्, जसरी नेमारले टिमका सबै सदस्यलाई गर्छन्’, आफ्नो टोलीले उपाधि जितेपछि ब्राजिलका गोलरक्षक वेभर्टनले भने । नेमारले स्वर्ण सफलता आफ्नो जीवनकै अविस्मरणीय क्षण भएको बताए । ओलम्पिकमा यू-२३ राष्ट्रिय टोलीले खेल्ने गर्छ, जसमा अधिकतम तीनजना खेलाडी २३ वर्षभन्दा बढी उमेरका सहभागी गराउन पाइन्छ ।

ब्राजिलले महिला र पुरुष दुवैतर्फ ओलम्पिक फुटबलमा स्वर्ण जित्न सकेको थिएन । यसअघि पुरुषतर्फ तीन पटक फाइनलमा पुगे पनि ब्राजिल रजत पदकमै सीमित भएको थियो । सन् २०१२ को लन्डन ओलम्पिकमा पनि ब्राजिल फाइनलमा पुगेको थियो । तर उपाधि भिडन्तमा ब्राजिललाई मेक्सिकोले हराएको थियो । त्यति बेलादेखि नै चर्चाको शिखरमा रहेका नेमारमाथि ब्राजिलले ठूलो अपेक्षा गरेको थियो ।

यसअघि नेमारले कुनै पनि स्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय टोलीका लागि उपाधि जित्न भने सकेका थिएनन् । स्पेनिस क्लब बार्सिलोनाले कोपा अमेरिका र ओलम्पिकमध्ये एउटा प्रतियोगितामा मात्र नेमारलाई खेलाउन ब्राजिललाई आग्रह गरेपछि उनलाई ओलम्पिक टोलीमा मात्र समावेश गरिएको थियो । नेमारले यसपटक समूहगत चरणमा गोल नगरे पनि क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल तीनवटै चरणमा गोल गरे ।

ब्राजिलले जर्मनीसँग दुई वर्षअघि घरेलु मैदानमा व्यहोरोको नमीठो हारको बदला घरेलु मैदानमै लियो । ब्राजिलको राष्ट्रिय रंगशाला माराकानामा कप्तानसमेत रहेका नेमारले २६ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । करिब ७० हजार दर्शकअघि खेलिएको उक्त खेलमा नेमारले फ्रिकिकमार्फत २५ यार्ड टाढाबाट गोल गरेका थिए । तर जर्मनीले ५९ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो । जर्मनीका लागि म्याक्स मेयरले गोल गरेका थिए ।

टाइब्रेकरमा ब्राजिलका रेनाटो अगुस्टो, माक्र्विनहोस, रफिन्हा र लुवानले गोल गरे । जर्मनीका म्याथियास गिन्टर, सर्ज नाब्री, जुलियान ब्राट र निकलास सुलले गोल गरे । पहिलो हाफमा तीनवटा प्रहार बारमा लागेपछि जर्मनी पटकपटक चुकचुकाएको थियो । जर्मनीले ओलम्पिक फुटबलमा हालसम्म स्वर्ण पदक जित्न सकेको छैन । नेमारले सिनियर राष्ट्रिय टोलीका लागि ७० खेलमा ४६ गोल र यू-२३ राष्ट्रिय टोलीका लागि १४ खेलमा आठ गोल गरेका छन् ।

नाइजेरियाले कांस्य जितेको छ । तेस्रो स्थानका लागि भएको खेलमा नाइजेरियाले होन्डुरसलाई ३-२ गोलले हरायो । जारी ओलम्पिक खेलकुदमा नाइजेरियाले जितेको यो पहिलो पदक हो । नाइजेरियाले खेलमा ३-० गोलको अग्रता लिएर पनि पछि दुई गोल व्यहोरेको थियो । ‘मलाई टोलीप्रति गर्व छ किनभने खेलाडीले धेरै मेहनत गरे । नाइजेरियामा फुटबल धेरै लोकप्रिय भएकाले हामीलाई अतिरिक्त दबाब थियो ।

तर हामीले आफ्ना लागि, परिवारका लागि र राष्ट्रका लागि पदक जित्न सफल भयौं’, नाइजेरियाका कप्तान जोन ओबी मिकेलले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.