‘संगीत ईश्वरभन्दा रहस्यमय छ'

‘संगीत ईश्वरभन्दा रहस्यमय छ'

नेपाली संगीतमा विशिष्ट छवि बनाएका आभास प्रांगारिक स्वाद भएका संगीतकार तथा संगीत समीक्षक हुन् । ‘पलापला', ल्याम्पपोस्ट', ‘फत्तेमान सत्तरीमा', ‘ती फूलहरू' उनका एल्बम हुन् । ‘पलेँटी साँझ'का संयोजकसमेत रहेका आभासले हालै चलचित्र ‘दोख'मा श्रवण मुकारुङका शब्दहरूलाई संगीत दिएका छन् । आभाससँग संगीतका विविध आयामबारे दीपक सापकोटाले गरेको कुराकानीः

दाइ, आजकल कस्तो खाले संगीत सुन्दै हुनुहुन्छ ?

–दीपक भाइ ! म संगीतको अराजक श्रोता हुँ । समसामयिक मानसिक सोच र रुचिअनुसार संगीत सुन्छु । कहिलेकाहीँ त लामो समय अरूका सांगीतिक रचना पनि सुन्दिनँ । मेरो कामै संगीतमा रल्लिरहनु हो । म धेरैजसो आफ्नै सांगीतिक सिर्जनामा अल्मलिन्छु ।

तर, अलमलबीच पनि कानलाई फुर्सद प्राप्त भयो भने राम्रो संगीत सुन्छु । अहिले एसियादेखि युरोपसम्मका रचना, जे सुन्न चाहे पनि नेटमा सहज उपलब्ध छन् । रुचिअनुसार खोज्छु र सुन्छु, जसमा बाख, मोजार्ट, कोड्डाले, रवीन्द्रनाथ या भर्खरको नेपाली लोकआधुनिक कसैको सिर्जना पनि हुनसक्छ ।

अचेल बजारमा आइरहेको कुनै गीत सुनेर ‘वाह क्या छ' भन्नुभएको छ ?

–अहिले मन खोलेर त्यस्तो भन्ने अवसर प्राप्त भएको छैन । संक्रमणकाल राजनीतिमा मात्र होइन संगीतमा पनि हावी छ भन्ने मलाई लाग्छ । यो संक्रमणकाल छिटै अन्त्य होस् र मैले दिल खोलेर ‘वाह, वाह !' भन्न पाऊँ भन्ने प्रतीक्षामा छु ।

अहिलेको नेपाली सांगीतिक कर्मलाई कसरी हेरिरहनुभएको छ ? संगीतमा नयाँ पुस्ता धेरै नै आइरहेका छन् । कस्तो ट्रेन्ड स्थापित भइरहेको छ ?

–हाम्रो मौलिकता अथवा सिर्जनशीलताले बाटो पहिल्याउन खोजिरहेको छ । तर, चौबाटोमा कता जाने कता अलमलमा छ । लोकगीत दोहोरीको नाम धारण गरेर सहर र युट्युबभित्र पसेको छ । आधुनिक संगीत मुम्बईजस्तो गुञ्जेर बजार खोज्दैछ । यस्तो बेला सिर्जनशीलता जगाउने भनेकै नयाँ पुस्ताको अध्ययन–अनुसन्धानले हो ।

हाम्रो देश यति विविधताले भरिएको छ, त्यसभित्रको सांगीतिक विविधता विछट्टै अद्भुत छ । त्यसलाई पर्गेल्न स्वअध्ययन, औपचारिक अध्ययन र गुरुकुलहरू क्रियाशील हुनु जरुरी छ । नयाँ पुस्ता आफ्नै स्वेच्छाले संगीतमा क्रियाशील छ । त्यसलाई राज्य र समाजले देखिने र महसुस हुने गरी अभिप्रेरित गर्नु जरुरी छ । यसका निम्ति संगीत रमाइलोको विषयमात्रै होइन, गहन अध्ययनको विषय पनि हो भन्ने बुझ्नु जरुरी छ ।

सांगीतिक क्षेत्रमा सामाजिक–राजनीतिक सचेतता कस्तो छ ?

–संगीतबारे पहिलेभन्दा चेतनास्तर बढेको छ । तर, अहिले हाम्रो सामाजिक चेतना विभिन्न रूपमा बाँडिएको छ, चोइटिएको छ । चोइटाउने पक्षहरूले अनेकौं बहानाको आयात गरेका छन् । हामीलाई जोड्ने कलाकारिता चाहिन्छ भन्ने बुझ्दाबुझ्दै पनि बुझ पचाउनेहरूको यहाँ कमी छैन ।

यस्तो अवस्थामा पनि जुनकुनै स्वरूपमा होस् नेपाली भाषा र संगीत जीवित छ । संगीत जीवन्त कला पनि हो । त्यसैले यसको उतारचढावलाई अंगीकार गर्दै जानुपर्छ । जीवन्त कलालाई जुनैकुनै रूप पनि प्रदान गर्न सकिन्छ । हाम्रो रूप कुन हो ? हामी आफैंले पहिल्याउने या पछ्याउने कुरा हो । हाम्रो गायनको ढर्रा हाम्रै लोक परम्पराबाट प्रेरित हुनु जरुरी छ ।

नेपालमा गीतबारे छिटफुट रूपमा लेख्ने ‘समीक्षक' भए पनि संगीतमाथि गम्भीर भएर लेख्ने समीक्षकको जन्म किन हुन सकेन ? संगीतको भाषा अप्ठ्यारो भएर हो ?

–संगीत साहित्य या चित्रकारिताजस्तो सुस्पष्ट पढिने र देखिने कलाकारिता होइन । यसमा निहित दर्शन र विचारको तह पनि त्यति सहजै बुझ्ने खालको र व्याख्या गर्ने खालको नहुन पनि सक्छ । त्यसैले संगीतको समीक्षा गर्नु जोखिमकै काम हो । हाम्रोमा संगीतको भन्दा संगीतकर्मीको व्यक्तिगत जीवनबारे बढी टिप्पणी हुने गर्छन् ।

यसले संगीतलाई अध्ययनको विषय नभई हलुका टिप्पणी र रमाइलोको विषयमात्रै हो भन्ने मान्यतालाई स्थापित गरिरहेको छ । मेरो विचारमा, अब आउने नयाँ पुस्ताले यस्ता मनगढन्ते गफास्टकलाई किनारा लगाउने गरी सांगीतिक ज्ञान आर्जन गर्नेछ र संगीत समीक्षाको नयाँ क्षितिज उघार्नेछ ।

अनि तपाईंहरूको ‘पलेँटी' आजकाल सुस्ताएको हो ? पलेँटीमार्फत कस्ता संगीतलाई उजागर गर्न खोज्नुभएको हो, तपाईंहरूको उद्देश्य पूरा भयो त ?

–विगत डेढ वर्षदेखि देशको अवस्था साँझको सांगीतिक माहोलको निम्ति अनुकूल रहेन । भूकम्प र नाकाबन्दीले सबै क्षेत्र प्रभावित भए । त्यसैले पनि पलेँटी पहिलेझैं सञ्चालन हुन सकेन । म पनि केही मौलिक सिर्जनामा केन्द्रित भएकाले पलेँटीको संयोजनतिर समय दिन भ्याइनँ ।

भर्खर बालबालिकाका निम्ति मैले करिब ४० बालगीत तयार गरेको छु । हामी फेरि ‘पलेँटी' सञ्चालनको तयारीमा छौं । पलेँटीको उद्देश्य छायामा परेका सबैखाले कलाकारलाई इज्जतिलो मञ्च उपलब्ध गराउनुसम्म हो । यसमा विचारको बन्देज छैन भन्ने कुरा स्थापित भइसकेको छ । हाम्रो उद्देश्य संगीतकर्मलाई निरन्तरता दिने वातावरण तयार होस् भन्ने हो ।

संगीत विषयमा तपाईंले चाहेर पनि गर्न बाँकी रहेका काम के के हुन् ?

–हाम्रो नेपाली सांगीतिक जगत्मा धेरै क्षेत्र भर्जिन छन् । एकै जुनीमा चाहेका सबै काम गर्न कहाँ सकिन्छ र ? प्रयत्नसम्म गर्ने हो । काम गर्दै जाँदा मन र बाटोमा के आइपर्छन् ती सबै गर्दै जाने प्रयत्न हो ।

तपाईंले त कविताहरूमा धुन पनि भर्नुभएको छ । संगीत र साहित्य कत्तिको जोडिन्छन् ?

–यो रुचिमा भर पर्ने कुरा हो । पिज्जा पाउने ठाउँमा गुन्द्रुक र भात रोज्ने व्यक्ति भेटियो भने उसलाई खिल्ली उडाउनु हुँदैन । त्यो वैयक्तिक रुचिको विषय हो । मलाई भने साहित्यिक र अन्तरमनको अनुभूति बोकेका रचना मन पर्छन् । सिर्जनशील साहित्य मेरो अर्को वैकल्पक रुचि हो ।

त्यसैले गीतले पनि बुझ्न सकिने सरल तर गहन साहित्य अँगालोस् भन्ने मान्यता राख्छु । साह्रै हलुका र यौनलाई मात्र संकेत गर्ने रचनामा मेरो रुचि छँदै छैन । कतै राम्रो अभिव्यक्ति समेटिएको रचना भेटे रवर छन्दका कवितामा पनि धुन भर्छु म, भरेको पनि छु ।

अलिकति पुराना कुरा गरौं न, पुराना गीतमा स्वर वा शब्द केले छुन्छ ?

–चलचित्रको स्क्रिप्टजस्तै हो शब्दरचना । कम्पोजर त निर्देशक पनि हो । गीति संगीतमा गायक चाहिँ अभिनेता हो । अभिनेताले अभिनय राम्रो गरिदिएन भने लेखक र निर्देशकको केही लाग्दैन । समग्रमा भन्नुपर्दा तीनवटै पाटा– शब्द, संगीत र गायनको तालमेल नमिलेको रचना आकर्षक हुँदैन । यी तीनवटैको तालमेल मिलेपछि छुइने हो, सुन्नेहरूको मन ।

 

संगीतकार अम्बर गुरुङको त तपाईं शिष्य पनि हो । अम्बरलाई कसरी बुझ्नुपर्छ ?

–अम्बर गुरुङ आफ्नै प्रयत्नले निर्माण भएको व्यक्तित्व हो । तर, त्यो व्यक्तित्व तयार हुनमा तत्कालीन समाज र नेपालको राज्यले योगदानै पुर्‌याएन भनियो भने पनि कृतघ्नता हुन जान्छ । दार्जिलिङको सामाजिक र राजनीतिक परिवेशले उनको सांगीतिक जीवनलाई त्यहाँको समाजका निम्ति उभ्यायो । उनी उताका नेपालीको भाषा र पहिचानको अभियानमा जोडिन पुगे । त्यताको यात्राले उनलाई घुमीफिरी राजा महेन्द्रसम्म ल्याइपुर्‌यायो ।

त्यसलाई वर्तमान परिस्थितिसित होइन उहिलेकै बेलासित जोडेर हेर्नु ठीक हुन्छ । यता आएपछि उनको सांगीतिक र साहित्यिक परिवेश झन् फराकिलो भयो । पछि उनको व्यक्तित्व नै संस्थाजस्तो बन्न पुग्यो ।

अम्बर गुरुङको बिर्सनै नहुने योगदान कुन हो ?

–अम्बर गुरुङका माध्यमबाट नेपाली संगीतमा विभिन्न खाले प्रयोग भित्रिएको यथार्थलाई भुल्नु हुँदैन । कतिले अम्बर गुरुङ पश्चिमा प्रभावको संगीतकार हो भनेको पनि सुनिन्छ । तर, अम्बरको सांगीतिक यात्रालाई मिहिन पाराले निहार्‌यो भने ती सिर्जनामा नेपाली लोकभाकाहरूको ठाडो होइन, सिर्जनशील प्रयोग प्रचुर मात्रामा भएको पाइन्छ । अम्बरबाट सिर्जना भएका व्याले, क्यान्टारे, कोयर प्राविधिक नामका हिसाबले पश्चिमा लाग्लान् तर ती रचनाभित्रको भाकाको आत्मामा नेपालीपन छ ।

अनि नारायणगोपाललाई कसरी हेर्नुहुन्छ ?

–नेपाली गायनमा नारायणगोपाल अद्वितीय स्वर भएका गायक हुन् । नारायणगोपाल र उनको पुस्ताको गायनले नेपाली भाषाको दायरालाई विशाल बनाएको छ । हामी नेपालीलाई भाषाका माध्यमबाट एक ठाउँमा बाँध्न उनको गायनले अतुलनीय योगदान पुर्‌याएको छ । उनी आफ्नो कलाकारितामा त उम्दा थिए नै । भाषा र नेपालीत्वप्रति पनि प्रतिबद्ध थिए । साथै उनको सांगीतिक लगनशीलता र स्वाभिमानलाई पनि हामीले बिर्सनु हुँदैन ।

झलकमान गन्धर्व नि ! के हामीले उनलाई न्याय गर्न सक्यौं ?

–झलकमानलाई काठमाडौं भित्र्याएर धर्मराज थापाले नेपाली संगीतमाथि ठूलो गुन लगाउनुभयो । तर, त्यसयता नेपाली संगीतको चंख क्षेत्रले गन्धर्वहरूलाई ठगी गरिरह्यो । त्यो क्रम अहिले पनि निरन्तर छ । गन्धर्वहरू नयाँ धुन सिर्जना गर्नमा पोख्त थिए, अहिले पनि छन् । तर, तिनको धुनलाई बजारमा बेच्ने अगुवाहरू अरू नै हुने गरे, हुँदै गरेका छन् । हाम्रो विगतको सामाजिक संरचनामा धेरै कमजोरी थिए ।

जस्तोः गन्धर्वलाई पनि अछूत मानियो, सामाजिक सम्मान दिइएन । तर तिनको संगीतलाई समाजले मनै लगाएर सुन्यो पनि । थोरै नै सही, तिनले केही पुन्की पाए र पेट पाले । अब त त्यो बेला पनि घर्किसक्यो । अहिले गन्धर्वहरू संगीतबाट विमुख हुँदैछन् । तिनको कलाकारितालाई समय सुहाउँदो इज्जत र सम्मान दिन हाम्रो समाज र राज्य दुवै चुकिसके । गन्धर्व संगीतलाई हाम्रो समाज र राज्यले बेवास्ता र अन्याय गरिरहेको छ ।

राजनीतिक गीत नि ! कत्तिको सुन्नुहुन्छ ?

–नाराजस्तै लाग्ने राजनीतिक गीतहरू अब मन पर्न छाडे । मलाई गोपालप्रसाद रिमालको ‘एक जुगमा एक दिन एक चोटि आउँछ' भन्ने गीत भने सधैं मन पर्छ । यो राजनीतिक गीत भएर पनि शास्वत र सदाबहार लाग्छ । परिवर्तनशीलताको पक्षधर लाग्छ । यो गीत रामकृष्ण दुवालको संगीतमा गुञ्जेको छ ।

संगीत पनि गीत सुहाउँदो पाराले बनेको छ । यस्तो क्याटागोरीमा पर्ने अरू पनि गीत छन् । श्याम तमोटको ‘गाउँगाउँबाट', अम्बर गुरुङको ‘होशियार यस बखत समयको मुखलाई चिन' र सायद अरू पनि छन् । अँ ! भन्ने अनुमति दिनुहुन्छ भने, आफ्नै एउटा गीत पनि उल्लेख गर्छु है– ‘गोधूलिमा हिँड्ने एउटा जिउँदो मान्छे, संसारलाई फेर्छु भन्थ्यो आफैं फेरिएछ !'

रामेश–रायन वा मञ्जुलको नेपाली संगीतप्रतिको योगदानलाई कसरी लिनुपर्छ ? उनीहरू ओभररेटेड हुन् कि अन्डरएस्टिमेटेड ?

–तपाईंले रामेश–रायनपछि ‘वा मञ्जुल' भन्नुभयो । म त रामेश–मञ्जुललाई जोडेरै सुन्ने बानी पर्दै आएको मान्छे हुँ । यसको मतलब रायनको योगदानलाई कम मूल्यांकन गर्न खोजेको भने पक्कै होइन । विगतको यथार्थ सम्झाउन खोजेको मात्रै हुँ । यसलाई अन्य अर्थमा नलिईदिन विनम्र अनुरोध गर्छु !

नेपाली वामपन्थी आन्दोलनमा यी संगीतकर्मीको फरक ढंगको योगदान छ । यिनीहरूले नेपालमा कम्युनिस्टहरूको लोकप्रियता बढाउन ठूलो योगदान गरे । त्यतिमात्र होइन, नेपाली समाजको राजनीतिक चेतना उकास्न पनि यिनको योगदान अतुलनीय रह्यो ।

तर, यिनीहरूको योगदानलाई पार्टीहरूले चाहिँ अन्डरएस्टिमेटेड र एकखालको जनमानसले ओभररेटेड गर्‌यो कि भन्ने लाग्छ । मैले यसो किन भनेँ भने यिनको सिर्जनात्मक विकासक्रम एउटा चरणमा पुगेपछि निष्क्रिय बन्न पुग्यो । यो जमातले आफ्नो विषयगत ज्ञानको विकासक्रमलाई अनायासै स्थगन गर्‌यो ।

त्यसको कारक यिनको कलाकारितालाई पार्टीहरूले गर्ने गरेको अवमूल्यन र जनमानसले गर्ने गरेको लगानीबेगरको प्रशंसा हो कि भन्ने अनुभूत हुन्छ मलाई । मैले यहाँ ‘अनुभूत' शब्द किन प्रयोग गरेँ भने म पनि त्यही पृष्ठभूमिबाट गुज्रेको सामान्य कलाकार हुँ । म रामेश, मञ्जुल, रायन र अरिमले भोगेको लामो र कठिन यात्राको साक्षी त होइन तर छोटो समयको कान्छो अनुयायी र सहयात्री भने पक्कै हुँ ।

त्यसैले पनि यी कलाकारहरूका सम्बन्धमा अभिव्यक्त हुने आधिकारिकता मलाइ छ । त्यही आधारमा भन्छु– राल्फादेखि प्रारम्भ भएको रामेश, मञ्जुल, रायनहरूको योगदान पछिल्लो चरणमा आइपुग्दा राजनीतिको छायामा अलमलियो । मलाई लागेको कुरा ठाडै भनेको हुँ, बडप्पन नठानियोस् ।

दाइ, थोरै व्यक्तिगत कुरा गरौं । संगीतमा लागेर कहिल्यै निराशा भोग्नु पर्‌यो ?

–संगीतले प्राप्ति र अभाव दुइटै भोगेको छु । संगीतमा नलागेको भए पनि जीवनले भोग्नुपर्ने यी भोगाइबाट मुक्ति त पाइँदैनथ्यो होला । तर हेर्नुस् ! कुरो के भने, हाम्रो समाज र समय सांगीतिक रूपले हुनुपर्ने जति सौन्दर्यचेतले सम्पन्न भएको छैन । त्यसैले बेलाबखत निराश हुने घटना भएका छन् । तपाईंलाई एउटा संस्मरण सुनाउन मन लाग्यो—

निकै वर्षपहिले म डिल्लीबजारको कुनै घरमा डेरा गरी बस्थेँ । बिहान उठेर रियाज गर्ने बानी थियो । रियाज त गर्नैपथ्र्यो । मैले रियाज सुरु गरेपछि छिमेकीको झ्याल खुल्ने र बन्द हुने प्रक्रिया चलेको प्रस्ट थाहा पाउँथेँ । तर, त्यतातिर त्यति ध्यान दिन्नथेँ । केही समयको अन्तरालमा छिमेकीको झ्याल झोकपूर्ण आवेगमा बन्द हुन थालेको चाल पाएँ । त्यसपछि मेरो ध्यान झ्यालतिर झनै आकर्षित भयो र मैले छिमेकको झ्यालमै दृष्टि पर्ने गरी रियाज गर्न थालेँ । सुस्तरी झ्याल खोल्नेचाहिँ सुन्दरी युवती हुने रैछिन् र आवेगमा झ्याल बन्द गर्ने ती युवतीकी आमा ।

त्यसको केही समयपछि केही महिनाका निम्ति म पश्चिम बंगालको सिलगढीमा बस्न पुगेँ । ‘आजभोलि' दैनिकको सम्पादक भएर त्यहाँ पुगेको म पञ्जाबीपाडामा रहेको बंगालीको घरमा डेरा गरेँ । त्यति बेलासम्म रियाज त मेरो जीवनशैली भइसकेको थियो । त्यहाँ पनि सबेरै उसै गरी रियाज सुरु गर्न थालेँ । तर, मैले त्यहाँ काठमाडौंमा अनुभव गरेभन्दा ठीक विपरीत प्रतिक्रिया महसुस गर्न पाएँ ।

मेरो रियाज सुरु भएपछि बंगालीबस्तीका झ्यालहरू सुस्तरी खुल्न थाले । झ्याल खोल्नेहरूको सजगता यति सौम्य हुन्थ्यो नि ! भनी साध्य छैन । यस्तो लाग्थ्यो– झ्याल खोल्नेहरू संगीतको मधुर गुञ्जन आफ्नो छिमेकमै आइपुगेकोमा साह्रै अनुग्रहित भएका छन् । झ्याल खोल्दा झ्याल चुइँकेला र रियाजको नियमिततालाई खलबलाउला भन्नेमा तिनीहरू पूर्ण रूपले सचेत बनेका देखिन्थे ।

एक बिहान रियाज सकेर सुस्ताइरहेको थिएँ । मेरो कोठाको ढोका कसैले ढक्ढकायो । खोलेर हेर्दा पाँचसातजना बंगाली सँघारसामु थिए । मन ढक्क फुल्यो । मेरो अनुमान उल्टो भयो कि भन्ठानेँ । सामुन्नेमा उभिएकी अधबैंसे बंगालीले भनिन्, ‘आपनार बाडी कोथाइ ? ' बंगालीमै जवाफ फर्काउन प्रयास गरेँ ।

भनेँ, ‘आमी काठमान्डु, नेपाल थेके !' मेरो मुहारको असहजता देखेर होला एकजना अधबैंसे अगाडि सरिन् र भनिन्, ‘ए भाइ ! तपाईं नेपाली हो ? ' ‘हजुर', मैले भनेँ । ती अधबैंसेले मेरो सशंकित मन शान्त पारिन् । खासमा उनीहरू आफ्नो टोलमा कुनै संगीतकार आएकोमा उत्साहित भएर मलाई भेट्न हूल बाँधेर आएका रहेछन् । उनीहरूले तिनका नानीहरूलाई संगीत सिकाउन अनुरोध गरे ।

त्यस बेला त्यो समाजको सौन्दर्यचेत र आफ्नो समाजको सौन्दर्यचेत दाँज्दा म निराश भएको थिएँ । त्यसयता आकाशमा धेरै खेप सूर्यले ओहोरदोहोर गरिसक्यो । म अहिले पनि काठमाडौं सहरमा डेरामै बस्छु । तर, अहिले हाम्रो समाज बिस्तारै परिमार्जित र सचेत हुँदैछ । म अहिले जहाँ र जुन घरमा बस्छु मेरा घरपति भर्‌याङ झर्दा पनि मेरो सांगीतिक माहोल बिग्रेला कि भनी सचेत हुन्छन् । यो कम्ता आशलाग्दो विषय होइन !

संगीतबाट मोक्षमा पुगिन्छ भन्ने अवधारणामा कति विश्वास गर्नुहुन्छ ?

–मोक्ष मेरोनिम्ति निकै उपल्लो तहको दार्शनिक विषय भयो । मोक्षको बारेमा मेरो त्यस्तो गहिरो धारणा बनिसकेको छैन । तर, यति चैं म भन्न सक्छु– संगीत सानो र चानचुने विषय भने होइन । संगीतले मनको भित्री तहलाई असोचनीय पाराले प्रभावित गर्नसक्छ र त्यही प्रभावको गहिराइमा पुगेको अनुभूतिलाई कसैले मोक्ष ठान्दो हो त कसैले आत्मरञ्जन ! म भने संगीतलाई गहिरो आनन्दको स्रोत भन्ठान्छु । तर, आत्मरञ्जित आनन्दको मोहले मान्छेलाई मोक्षतर्फ उन्मुख गर्छ या सांसारिक मोहमै अल्झाइराख्छ ? म यसै भन्न सक्दिनँ ।

ईश्वरले तपाईंलाई मोक्ष र संगीतमा एउटा छान्न भने कुन छान्नुहुन्छ ?

–ईश्वर मान्छेकै एउटा रहस्यमय सिर्जना हो कि भन्ठान्छु म । तर, मान्छेले रचेको त्यो अद्भुत सिर्जनाप्रतिको मान्छेकै मोह भने निकै रमाइलो लाग्छ मलाई । कुनै दिन त्यो मानव सिर्जित ईश्वरसित मेरो जम्काभेट भयो भने र उसले मलाई मोक्ष र संगीतमध्ये कुनै एकलाई रोज् भन्यो भने म भन्नेछु, ‘मलाई संगीतको भित्री मूच्र्छना नै मन पर्छ ।' किनभने संगीतको भित्री मूच्र्छना ईश्वरभन्दा कम रहस्यमय छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.