कृषिमन्त्री चौधरीको दावी : यो वर्ष मल अभाव हुँदैन
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस बर्ष अहिलेसम्मकै बढी परिमाणमा किसानहरुलाई मल उपलव्ध गराइने बताएकी छिन् । बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्री चौधरीले यस बर्ष मलको अभाव नहुने समेत दावी गरिन् ।
चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५८ हजार ५२२ मेट्रिक टन मल आपूर्ति भइसकेको र ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई बिक्री बितरण गरिसकेको उनले बताइन् । उनले गोदाममा रहेको र नेपालमा भित्रिसकेर गोदाममा रेकर्ड राख्न बाँकी समेत गरी हाल १ लाख ३८ हजार ८ सय २ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिइन् ।
मन्त्री चौधरीले चालु आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा कुल ६ लाख मेट्रिक टनको हाराहारीमा कृषकलाई अनुदानमा मल उपलब्ध गराउने उल्लेख गरिन् । मलको अभाव हुन नदिन मन्त्रालयले विभिन्न प्रयास एवं तयारीहरू गरिरहेको भन्दै मन्त्री चौधरीले मल आपूर्तिको सम्झौता गरिसकेका आपूर्तिकर्ताहरूलाई समयमा नै मल आपूर्ति गर्नको लागि ताकेता समेत गरिएको जानकारी दिइन् ।
असार अन्तिमदेखि साउन महिनासम्ममा ९० हजार मेट्रिक टन मल नेपाल भित्रिने अपेक्षा मन्त्रालयले गरेको उनले बताइन् । त्यस्तै उनले भारतसँग जीटुजी खरीद माध्यमबाट ८० हजार मेट्रिक टन मलको खरीद गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त गरी पहिलो चरणमा तीस हजार मेट्रिक टन युरिया, बीस हजार मेट्रिक टन डीएपी खरीद प्रक्रिया सुरु गरिएको जानकारी दिइन् ।
मन्त्री चौधरीले भारतसँग ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी खरिद गर्ने प्रक्रिया पनि अघि बढेको बताइन्। उक्त मल साउन महिनाबाट आउन सुरू गरिने उनको भनाइ छ।
विस्तृत यहाँ पढ्नुस् : ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न भारतको स्वीकृति
प्रतिक्रिया दिनुहोस !