परिवर्तनसँग डराइरहेको कांग्रेस
नेपालको राजनीति एउटा संक्रमणकालीन मोडमा उभिएको छ। प्रमुख लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस विभिन्न धारमा उभिएको छ । अगुवाले बाटो देखाउन सकेका छैनन् । कांग्रेसका युवा नेताले पनि सबैलाई समेट्न नसक्दा राष्ट्रिय राजनीतिमा त्यसको बाछिटा परिरहेको छ । संसार कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, डेटा (आधारित शासन र प्रविधिमैत्री नेतृत्वतर्फ दौडिरहेको बेला कांग्रेस अझै पनि पुरानै शैली, पुरानै सोच र पुरानै शक्ति) सन्तुलनको घेराभित्र अल्झिएको देखिन्छ। प्रश्न उठ्छ— समय बदलियो, समाज बदलियो, प्रविधि बदलियो, तर किन राजनीतिक सोच बदलिन सकेन ? कुनै समय लोकतन्त्रको पर्याय बनेको कांग्रेस अहिले आफ्नै इतिहासको भार बोकेर हिँडिरहेको जस्तो देखिन्छ।
पार्टीभित्र अझै पनि नेतृत्वभन्दा ‘गुट’, विचारभन्दा ‘व्यक्ति’ र भविष्यभन्दा ‘विगत’ बलियो देखिन्छ। युवा पुस्ताले डिजिटल युगको राजनीति खोजिरहेको छ, तर नेतृत्व अझै भाषण, शक्ति समीकरण र पदको अंकगणितमै सीमित छ। आजको पुस्ता सूचना प्रविधिको युगमा हुर्किएको पुस्ता हो। उनीहरू फेसबुकको स्टाटसमात्र होइन, सरकारको डेटा पनि हेर्छन् । भाषणमात्र होइन, नतिजा पनि खोज्छन्। उनीहरू भावनाले भन्दा बढी तथ्यले प्रभावित हुन्छन्। तर पुराना नेताहरू अझै ‘हामीले लोकतन्त्र ल्यायौं’ भन्ने ऐतिहासिक योगदानलाई वर्तमानको कार्यक्षमताको विकल्प ठानिरहेका छन्। इतिहास सम्मानको विषय हो, तर भविष्य निर्माणको आधार वर्तमान क्षमता हुनुपर्छ।
कांग्रेसले साँच्चै आफूलाई समयानुकूल बनाउन चाहन्छ भने उसले तीनवटा मूलभूत कुरा स्वीकार्नैपर्छ— पहिलो, नेतृत्व पुस्तान्तरण अब विकल्प होइन, आवश्यकता हो। दोस्रो, डिजिटल युगको राजनीति केवल प्रचार होइन, दक्ष शासन प्रणालीसँग जोडिएको विषय हो। तेस्रो, इतिहासको गौरवले मात्र भविष्य सुरक्षित हुँदैन।
विश्वका विकसित लोकतन्त्रहरूमा राजनीतिक दलहरूले प्रविधिलाई शासनसँग जोडिरहेका छन्। नीति निर्माणमा डेटा एनालिटिक्स, नागरिक सहभागितामा डिजिटल प्लेटफर्म र प्रशासनमा कृत्रिम बुद्धिमत्ताको प्रयोग बढिरहेको छ। तर नेपालमा अझै पनि धेरै नेता इमेलभन्दा भेटघाटलाई, प्रणालीभन्दा पहुँचलाई र संस्थाभन्दा व्यक्तिगत प्रभावलाई प्राथमिकता दिन्छन्। जबकि युवा पुस्ता यो प्रवृत्ति देखेर आजित छन् । परिवर्तन नभएको देखेर छक्क छन् । पुरानो यही मानसिकता विकासको सबैभन्दा ठूलो अवरोध बनेको छ।
नेपाली कांग्रेसको अर्को समस्या भनेको नेतृत्व हस्तान्तरणप्रतिको असहजता हो। पार्टीभित्र नयाँ पुस्तालाई ठाउँ दिनुभन्दा नियन्त्रणमा राख्ने प्रवृत्ति बलियो देखिन्छ। युवालाई ‘भविष्यका नेता’ भनेर प्रशंसा गरिन्छ, तर वर्तमानको निर्णय प्रक्रियामा उनीहरूको भूमिका न्यून हुन्छ। फलस्वरूप पार्टीमा ऊर्जाभन्दा निराशा बढिरहेको छ।
राजनीतिमा अनुभव आवश्यक हुन्छ, तर अनुभव तबसम्म उपयोगी हुन्छ जबसम्म त्यो समयअनुकूल हुन्छ। समयसँगै अद्यावधिक हुन नसक्ने अनुभव अन्ततः जडता बन्छ। आजको राजनीति केवल आन्दोलनको स्मृतिले चल्दैन । यसलाई व्यवस्थापन क्षमता, प्रविधि बुझ्ने दृष्टि, विश्व राजनीति र अर्थतन्त्रको ज्ञान र तीव्र निर्णय क्षमताले चलाउँछ।
नेपालको युवा पुस्ता आज विश्वसँग प्रत्यक्ष जोडिएको छ। उनीहरूले सिंगापुरको प्रशासन, एस्टोनियाको डिजिटल शासन, दक्षिण कोरियाको प्रविधिमैत्री विकास र युरोपेली लोकतन्त्रको पारदर्शिता देखिरहेका छन्। त्यसैले उनीहरू अब केवल नारा होइन, परिणाम चाहन्छन्। यही कारण पुराना शैलीका नेताहरू र नयाँ पुस्ताबीच मानसिक दूरी बढ्दै गएको छ। विडम्बना के छ भने, परिवर्तनको भाषा बोल्ने धेरै पुराना नेताहरू व्यवहारमा परिवर्तनसँग डराइरहेका देखिन्छन्। उनीहरूलाई प्रविधिले पारदर्शिता ल्याउँछ भन्ने थाहा छ। पारदर्शिताले परम्परागत शक्ति संरचनालाई चुनौती दिन्छ भन्ने पनि थाहा छ। त्यसैले परिवर्तनको भाषण त सुनिन्छ, तर संरचनागत परिवर्तनको इच्छाशक्ति देखिँदैन।
यदि कांग्रेसले साँच्चै आफूलाई समयानुकूल बनाउन चाहन्छ भने उसले तीनवटा मूलभूत कुरा स्वीकार्नैपर्छ— पहिलो, नेतृत्व पुस्तान्तरण अब विकल्प होइन, आवश्यकता हो। दोस्रो, डिजिटल युगको राजनीति केवल प्रचार होइन, दक्ष शासन प्रणालीसँग जोडिएको विषय हो। तेस्रो, इतिहासको गौरवले मात्र भविष्य सुरक्षित हुँदैन। राजनीति अब केवल भिड जम्मा गर्ने कला होइन । यो सूचना व्यवस्थापन, नीति नवप्रवर्तन र विश्व प्रतिस्पर्धा बुझ्ने क्षमता पनि हो। जो दल र नेता समयको गति बुझ्न सक्दैनन्, उनीहरू अन्ततः इतिहासका संग्रहालयमा सीमित हुन्छन्। समय कसैको प्रतीक्षा गर्दैन। प्रविधि त झन् अझ निर्दयी हुन्छ—जो अनुकूल हुन सक्दैन, उसलाई पछाडि छोडिदिन्छ। नेपालको राजनीति अहिले यही कठोर सत्यको सामना गरिरहेको छ। अरूले जस्तै नेपाली कांग्रेसका सबै तहका नेतृत्वले समेत यी कुरा बुझ्न सकून् ।
प्रतिक्रिया दिनुहोस !