जुनीचाँदे गाउँपालिकामा आइतबार पनि पढाइ
जाजरकोट : जाजरकोटको जुनीचाँदे गाउँपालिकामा आइतबार पनि पठनपाठन हुने भएको छ। शनिबार सबै शैक्षिक संस्थामा बिदा दिँदै आएको संघीय सरकारले केही समयअघि आइतबार र शनिबार दुई दिन बिदा दिने निर्णय गरेको थियो।
संघीय सरकारको निर्णय अवज्ञा गर्दै गाउँपालिकाले अबदेखि शनिबार मात्र विद्यालय बन्द गर्ने र अन्य दिन पठनपाठन गर्ने निर्णय गरेको हो। गत २० वैशाखमा बसेको कार्यपालिकाको बैठकले आइतबार पठनपाठन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले जानकारी दिए।
संविधानले १२ कक्षासम्मको विद्यालय सम्बन्धी सबै अधिकार स्थानीय तहलाई दिएकाले गाउँपालिकाले पठनपाठन थप व्यवस्थित गर्न यस्तो निर्णय गरिएको उनले बताए। संघीय सरकारले इन्धनको खपत घटाउन र विद्यार्थीको पढाइको बोझ घटाउन भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो।
जुनीचाँदेमा विद्यार्थीहरू पैदलै विद्यालय आउने र इन्धनको आवश्यक नपर्ने भएकाले आइतबार विद्यालय खोल्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर शाहीले बताए। आइतबार बिदा गर्दा विद्यार्थीहरूको पठनपाठन अव्यवस्थित हुने, कोर्स नसकिने र विद्यार्थी झन् बरालिने समस्या देखिएपछि हप्तामा एक दिन मात्र बिदा दिने निर्णय गरिएको अध्यक्ष शाहीले बताए।
प्रतिक्रिया दिनुहोस !