फूलमालाको भारी राजनीति

फूलमालाको भारी राजनीति

हामी यस्तो देशमा छौं– जहाँ कर्तव्य पूरा हुनु नै एउटा ‘अद्भुत घटना’ जस्तो मनाइन्छ, र सामान्य प्रणाली चल्नु नै ‘उपलब्धि’को उत्सव बन्छ। बिरामी निको हुँदा डाक्टरलाई फूलमाला, नागरिकता पाएपछि सीडीओलाई फूलमाला, चोर पक्राउ पर्दा प्रहरीलाई फूलमाला, अनि विद्यार्थीले राम्रो अंक ल्याउँदा शिक्षकलाई फूलमाला !

दृश्य हेर्दा लाग्छ, यहाँ राज्य होइन, एउटा ठूलो ‘कृपा वितरण केन्द्र’ चलिरहेको छ। तर प्रश्न गम्भीर छ– जब सबैले आफ्नो तोकिएको काम गरिरहेका हुन्छन्, तब हामी किन यसरी कृतज्ञतामा ढल्छौं ? यो कर्तव्यलाई कृपामा रूपान्तरण गर्ने सामाजिक प्रवृत्ति हो। हाम्रो समाजको सबैभन्दा ठूलो व्यंग्य नै यही हो– यहाँ कर्तव्यलाई कर्तव्यका रूपमा बुझिँदैन। हामी यस्तो चेतबाट ग्रस्त छौं जहाँ  : –
डाक्टरले उपचार गर्नु चमत्कार हो,

सीडीओले नागरिकता दिनु उपकार हो,
प्रहरीले अपराधी समात्नु बहादुरी हो,
शिक्षकले पढाउनु त्याग हो।

यस्तो लाग्छ, यहाँ प्रणाली होइन व्यक्तिको ‘दया’ चलिरहेको छ। यही सोचले नागरिकलाई अधिकारबाट विमुख गराएर कृतज्ञताको भारीभित्र थन्क्याइदिन्छ। फूलमाला यहाँ केवल सम्मान होइन, एक प्रकारको ‘राजनीतिक भाषा’ बनेको छ। जहाँ प्रश्न उठ्नुपर्ने हो, त्यहाँ फूलमाला चढाइन्छ; जहाँ जवाफदेहिता मागिनुपर्ने हो, त्यहाँ फोटो खिचिन्छ; र जहाँ सुधार खोजिनुपर्ने हो, त्यहाँ ताली बजाइन्छ। यो संस्कृतिले सत्ता र शक्तिलाई सहज बनाइदिन्छ, किनकि कृतज्ञ जनता कहिल्यै प्रश्न गर्ने जनता हुँदैनन्।

डाक्टरले बिरामी निको पार्नु उसको पेसागत धर्म हो। प्रहरीले अपराधी समात्नु उसको जिम्मेवारी हो। शिक्षकले राम्रो पढाउनु उसको दायित्व हो। तर हामी यस्तो मानसिकतामा फसिसकेका छौं कि कर्तव्य पूरा हुँदा पनि हामी नतमस्तक हुन्छौं, मानौं हामीलाई कुनै विशेष ‘दैवीय कृपा’ प्राप्त भयो।

यो मानसिकता किन जन्मियो ? किनकि हामीले राज्यलाई ‘उत्तरदायी संरचना’ होइन, ‘कृपालु संरचना’ बनाइदियौं। जहाँ सेवा लिनु अधिकार होइन, सिफारिस र भाग्यको खेल बन्छ। जहाँ अस्पतालमा उपचार पाउनु सौभाग्य, प्रहरीबाट न्याय पाउनु आश्चर्य र विद्यालयमा गुणस्तरीय शिक्षा पाउनु अपवाद मानिन्छ। नबिर्सौं, यी सबै काम गरेबापत कर्मचारीहरूले तपाईं–हामीले नै तिरेको करबाट तलब, सुविधा र निवृत्तिभरण (पेन्सन) समेत प्राप्त गर्छन्। राज्य सेवा दिने संरचना हो भन्ने आधारभूत सिद्धान्त बिस्तारै हराउँदै गएको छ। यहाँ राज्यले दिनुपर्ने सेवा ‘अनुग्रह’ जस्तो देखाइन्छ र नागरिकले पाउनुपर्ने हक ‘सौभाग्य’ जस्तो। नागरिकता अधिकार हो कि उपहार ? उपचार सुविधा हो कि दया ? यदि उत्तर ‘दया’ जस्तो लाग्छ भने बुझ्नुपर्छ— समस्या सेवामा होइन, हाम्रो सोचमा छ।

सबैभन्दा ठूलो विडम्बना त यो छ कि हामी आफैं ‘स्वैच्छिक दासत्व’ बाँचिरहेका छौं। यो व्यवस्थाको सबैभन्दा ठूलो शक्ति नेता वा कर्मचारी होइनन्, बरु हाम्रो मौनता र अन्धभक्ति हो। हामी प्रश्न गर्नुभन्दा धन्यवाद दिन सजिलो ठान्छौं। अधिकार माग्नुभन्दा फोटो खिच्न रुचाउँछौं। सुधार खोज्नुभन्दा उत्सव मनाउन रमाउँछौं। त्यसैले प्रणालीले पनि यही सिक्यो— ‘काम राम्रो गर्नु आवश्यक छैन, काम गरेको देखाउनु पर्याप्त छ।’

प्रश्न ‘फूलमाला खराब कि ठीक’ भन्ने होइन। सम्मान आवश्यक छ, तर सम्मान तबमात्र अर्थपूर्ण हुन्छ जब काम ‘विशेष’ हुन्छ, ‘नियमित कर्तव्य’मात्र होइन। समाज बदल्न फूलमाला हटाउनु पर्दैन, तर फूलमालासँगै एउटा प्रश्न पनि सोध्न सिक्नुपर्छ— ‘यो त तपाईंको काम थियो, अब अझ राम्रो के गर्न सकिन्छ ?’ प्रशंसा गरौं, तर अन्धभक्ति नगरौं। सम्मान गरौं, तर कर्तव्यलाई देवत्वमा रूपान्तरण नगरौं। जब नागरिक सचेत हुन्छ, तबमात्र राज्य उत्तरदायी बन्छ। नत्र, हामी सधैं फूलमाला बोकेर उभिरहनेछौं र हाम्रा अधिकारहरू चुपचाप कसैको ‘उपकार’ बनिरहनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.