नक्कली बमले केहीबेर त्रास
जाजरकोट : भेरी नगरपालिका–१ पिपेमा बमजस्तै देखिने शंकास्पद वस्तु माटो रहेको खुलेको छ। जिल्ला सुरक्षा व्यवस्थापन टोली शंकास्पद वस्तु डिस्पोज गर्दा कपडा भित्र माटो राखिएको पाइएको हो। सडकमा मुढा तेस्राएर खतरा लेखिएको शंकास्पद वस्तु भेटिएपछि बम भन्दै केही समय स्थानीयमा त्रासको अवस्था सिर्जना भएको थियो।
स्थानीय बासिन्दाले शंकास्पद वस्तु देखेपछि तत्काल सुरक्षाकर्मीलाई जानकारी गराएका थिए। सूचनापछि नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोली घटनास्थलमा पुगेर चेकजाँच गर्दा माटो रहेको पुष्टि भएको सुरक्षा निकायले जनाएको छ।
सुरक्षा जाँचका क्रममा शंकास्पद वस्तुको माथिल्लो भागमा ‘खतरा छ, नेपाल बन्द सफल पारौं। इमान्दारीसँग एक दिनको बन्दमा सवारी साधन बन्द गरौं। गो ब्याक, अगाडि खतरा छ। यो ३ ठाउँमा राखिएको छ। नेकपा बहुमत जाजरकोट’ लेखिएको कागज समेत फेला परेको थियो।
नेकपा माओवादी बहुमतले मंगलबार नेपाल बन्दको आयोजना गरेको र उक्त बन्द सफल बनाउन नक्कली बम राखेर त्रास फैलाउन खोजेको सुरक्षाकर्मीको विश्लेषण छ। प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार प्रारम्भिक जाँचका क्रममा उक्त वस्तु आधिकारिक बम नभएको पुष्टि भएको बताए उनले भने, ‘पिपेमा फेला परेको शंकास्पद वस्तु सुरक्षित रूपमा डिस्पोज गरिएको छ। जाँचका क्रममा त्यो वास्तविक बम नभएको र कपडामा माटो राखिएको अवस्थामा रहेको खुलेको छ। हाल अवस्था सामान्य छ र सर्वसाधारणलाई नआत्तिनू आग्रह गर्छु।’
घटनापछि सुरक्षाका कारण केही समय क्षेत्र खाली गराइए पनि अहिले आवतजावत सामान्य भइसकेको प्रशासनले जनाएको छ। नेपाल बन्दका कारण केही निजी विद्यालय र सामुदायिक विद्यालय बन्द भएपनि अवस्था सामान्य रहेको छ।
प्रतिक्रिया दिनुहोस !