के गर्दै छ, नागरिक समाज ?
नेपाल अहिले अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको छ । किनकि अहिले जेन—जी युवाहरूको शहादतले प्राप्त परिवर्तन संस्थागत गर्ने वा पुरानै शक्तिहरूले पुन: पहिलेकै अवस्थामा फर्किने भन्नेबीचको द्वन्द्व झन् बढेको छ । जसका कारण अहिलेका उपलब्धिहरू समेत गुम्ने त होइन भन्ने चिन्ता थपेको छ ।
प्रजातन्त्र र गणतन्त्रको नाममा देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा निराशाका कारण जेन—जी आन्दोलन भएको हो भन्नेमा कुनै द्विविधा छैन । तर यत्रो ऐतिहासिक परिवर्तन फेरि खेर जाने हो भने यसले देश र समाजलाई केही वर्षपछाडि धकेल्नेमात्र होइन अकल्पनीय क्षति पुर्याउनेछ । कामको सिलसिलामा पंक्तिकारले अफ्रिकाका विभिन्न मुलुकहरूमा घुम्ने मौका पाएको छ । द्वन्द्व र हिंसाले कसरी पुस्तौंसम्म असर पार्दछ भन्ने कुरा प्रत्यक्ष अनुभव गर्ने मौका मिलेको छ । यस अनुभवका आधारमा भन्नु पर्दा अहिलेको नेपालको द्वन्द्वले मुलुकलाई कतै अनन्तकालसम्म हिंसाको चक्रमा लैजान नदिनको लागि सरोकारवाला सबै पक्षहरू अत्यन्त संवेदनशील बन्नुपर्ने आवश्यकता छ ।
जेन–जी आन्दोलनपछि नागरिक समाजको भूमिका बढेको थियो। त्यो भूमिकामा नागरिक समाज प्रभावकारी देखिन नसक्नु अत्यन्त दुर्भाग्यपूर्ण छ।
भदौ २३ र २४ गतेको घटनापछि अफ्रिकामा म कार्यरत कार्यालयका धेरै साथीहरूले प्रश्न थियो, तिम्रो देशमा के भइरहेको छ ? तिम्रो परिवारलाई ठीक छ ? यो प्रश्नको जवाफ दिने प्रयत्न गरिरहँदा देशको अवस्थाले मलाई लज्जाबोध गराइरहेको थियो । हो, अफ्रिकामा धेरैजसो मानिसहरू अत्यन्त असल छन् तर केही अराजक व्यक्तिहरूको कारण उनीहरूले पुस्तौंसम्म गरिबी र द्वन्द्वको दुष्चक्रमा परिरहेका छन् । पहिलोपटक अन्तर्राष्ट्रिय जागिरको कारण युगाण्डा पुग्दा मलाई मेरो कार्यालयको सुरक्षाविज्ञले युगाण्डामा सुरक्षाको अवस्था राम्रो छ तिमी डराउनु पर्दैन भन्दा मैले तीन चार पटक साँच्चै हो ? भनेर सोधेको थिएँ । उस्ले तिमीले टेलिभिजनमा हेरे जस्तो छैन युगाण्डा भनिरहेका थिए । केही समय युगाण्डामा बसेर अफ्रिकाका अन्य केही देशमा काम गरेपछि मलाई लाग्यो यदि अफ्रिका नआएको भए मेरो जीवनको ठूलो सिकाइ अपूरो हुने रहेछ । देशको अर्थतन्त्र पर्यटनमा समेत आश्रित छ । हत्या र हिंसाका घटनाहरू सार्वजनिक भइरहँदा मेरो देश घुम्न जाने योजना बनाइरहेको पर्यटकले के निर्णय गर्ला ? भन्ने चिन्ताले सताइरह्यो ।
अहिलेको विश्व डिजिटल विश्व हो । डिजिटल मिडिया तथा मूलधारका मिडियाहरूमा लगातार देशको प्रमुख प्रशासनिक केन्द्र, सर्वोच्च न्यायालय, मुख्य व्यापारिक केन्द्रहरू तथा चारतारे होटलहरू जलिरहेको दृश्य देखिरहँदा पर्यटकहरूले कसरी नेपाल आउने हिम्मत जुटाउँलान् ? लगानीकर्ताहरूले कसरी सुरक्षित महसुस गर्लान् ? अनि विद्यालयको पोसाकमा कलिला नानीहरूको छातीमा गोली दाग्न आदेश दिनेहरूले हुँकार गरिरहँदा र केही व्यक्तिहरू उनीहरूलाई देवत्वकरण गरिरहँदा कसरी कुनै अभिभावकले आफ्ना छोराछोरीलाई विदेश नजाउ वा विदेशबाट फर्क भन्ने ? यो कुराले मन अमिलो बनिरह्यो ।
प्रतिष्ठित व्यवसायी उपेन्द्र महतोले आफू जति धनी भए पनि देशको विकास नभएसम्म त्यसको महत्त्व नहुने बताउने गरेका थिए । उच्च प्रतिफल दिने विदेशमा भन्दा नेपालमा लगानी गर्नुभएकोमा सायद अहिले पश्चाताप भइरहेको होला । त्यस्तै अर्का प्रतिष्ठित व्यवसायी मीनबहादुर गुरुङका आँसुले नेपालको भविष्यलाई अझ अन्धकारतिर लैजाने निश्चित छ । धेरै वर्षपहिले स्वर्गीय माधवप्रसाद घिमिरेले नेपाली हामी रहौंला कहाँ नेपाली नरहे भन्ने गीतको माध्यमबाट सजग बनाएका थिए । तर अहिलेका केही बुद्धिजीवी भनिएकाहरूले द्वन्द्वको अवस्थाबाट देशलाई निकाल्नुको साटो व्यक्तिगत स्वार्थ पूरा नभएको रिसमा देशलाई झन् द्वन्द्व र मुठभेडको बाटोमा लैजाउन उद्यत् भइरहेका छन् । यो दु:खद् छ ।
नेपालीहरू जो अत्यन्त सहनशील भनेर विश्वले प्रशंसा गरिरहेको अवस्थामा भदौ २३ र २४ गतेको घटनाले नेपाली माथिको विश्वास र भरोषामा प्रश्न थपेको छ । जसले गर्दा वैदेशिक रोजगारीमा रहेका लाखौं मजदुरको रोजगारीमा असर पर्न सक्नेछ । स्वघोषित बौद्धिक व्यक्तिहरूलाई यो बारेमा केही चिन्ता छैन किनकि उनीहरूलाई भविष्यमा कुनै पद पाउनको लागि आफ्ना मालिकहरूको चाकडी गर्नुछ । अहिले उनीहरूको रोदनमा सरकारमा जान नपाएको अथवा कुनै नियुक्ति नपाएको आक्रोश प्रस्ट देखिन्छ । आज यति धेरै विद्यालय पोसाकमा ज्यान गुमाएका बालबालिकाहरूको बलिदानीबाट आएको परिवर्तनलाई अस्वीकार गर्न संविधानका धारा खोज्ने स्वघोषित वरिष्ठहरूलाई प्रश्न गर्न मन लाग्छ, हिजो १७ हजार जनताको हत्या गरेको माओवादी कुन धाराबाट संसद्मा आएको थियो ? र, राजाले पुनस्र्थापना गरेको संसद्ले राजतन्त्र फाल्ने निर्णय संविधानको कुन धारामा लेखिएको थियो ? हो, नागरिक समाज र मानवअधिकार क्षेत्रले देशका विभिन्न कालखण्डमा महत्त्वपूर्ण भूमिका खेलेको छ । र, म स्वयं पनि यही क्षेत्रको एक प्रतिनिधि हुँ । तर जेन–जीको आन्दोलनपछि नागरिक समाजले जुन भूमिका बढेको थियो । तर, त्यो भूमिकामा नागरिक समाज प्रभावकारी देखिन नसक्नु अत्यन्त दुर्भाग्यपूर्ण हो ।
अहिले देश एकदमै संकटको घडीमा छ । यस्तो समयमा राजनीतिक दल तथा नागरिक समाज मिलेर विगतमा गरेको गल्तीको पश्चाताप गर्दै युवाहरूको चाहनाबमोजिम अगाडि बढ्नुपर्नेमा दलहरू उल्टो बाटोमा हिँड्न लागेको देखिन्छ । जसले उनीहरूलाई थप क्षतिबाहेक केही हुने छैन भने यसको मार देशले धेरै लामो समयसम्म भोग्नुपर्ने देखिन्छ । नागरिक समाज र आम सर्वसाधारणहरूले अहिले युवाहरूको नाममा लुटपाट मच्चाउने समूहलाई कारबाही गर्नको लागि सहयोग गर्नुपर्छ । यसका साथै समाजको आत्मबल कमजोर भएको बेलामा सबै पक्षमा सहिष्णुता तथा आत्मबल बढाउन सहयोग गर्नु पर्ने हुन्छ । अन्यथा हामिले संरचनाहरू त बनाउँला आत्मबल बढाउन सकेनौं भने ती संरचनाहरू केवल खण्डहर बन्नेछन् । अहिलेको समयमा संरचनाको क्षतिभन्दा जुन हाम्रो मूल्य, मान्यता र नैतिकताको क्षति कैयांै गुणा ठूलो हो । किनकि गाउँघरमा हिँड्दा रात पर्यो भने नचिनेको घरमा समेत पाहुना भनेका भगवान् हुन् भनेर नि:शुल्क बास दिने समाजका हामीहरू हौं । आज प्रतिष्ठित व्यक्तिहरूले समेत लुटपाटमा संलग्न भएको देशका महत्त्वपूर्ण संरचना जलाउन लागिपरेको देखिनु अत्यन्त पीडादायक हो ।
हिजो हाम्रो मूल्य मान्यताका कारण हामीलाई माया गर्ने व्यक्तिहरूले यी घटनापछि हामीलाई घृणा गर्न थाल्नेछन् । सामाजिक सञ्जालमा भ्युज बढाउने, टेलिभिजनमा मुख देखाउने निहुँमा मिथ्या सूचना फैलाउँदा यसको असर दीर्घकालसम्म पर्ने र यसले हामी सबैलाई असर पर्ने भएकोले अबको अभियान सकारात्मकता पैmलाउने, हाम्रो भाइचाराको जुन संस्कार छ त्यसलाई थप सुदृढ गर्नुपर्ने देखिन्छ । अन्यथा पछाडिबाट गन्दा टप १० भित्रपर्ने हाम्रो पासपोर्ट अब नम्बर एकमा पुग्नेछ । र, यसको मार तपाईं हामीमात्र नभएर आगामी पुस्ताहरूले समेत भोग्नु पर्नेछ भने तपाईंहरूले आर्जन गर्नु भएको धन र पदको कुनै अर्थ हुने छैन ।
प्रतिक्रिया दिनुहोस !