बोट छ ठूलो पीपलको त्यो
गुम्बाको प्राङ्गणमा झैं
सुन्दर, शीतल, कति शान्त
हेर्दै गर्दा पनि त्यो वृक्ष
लाग्दछ बुद्धै हेर्दै छु
पातै मात्रै पनि देख्दा ती
लाग्दछ धर्मै देख्दै छु
देखें मैले त्यै बोटमुनि
यौटा भिक्षु त शान्तसित
हातैमा ली लामो झाडु
भुइँका पात बढार्दै छन
हेर्दै अति सुन्दर त्यो दृश्य
मनमा झुल्क्यो क्यै सोच
वरिपरि फोहोर त हुँदो र’ैछ
बोधी भए पनि त्यो बोट
झर्दो रैछ त शुष्क भएपछि
पत्र भए पनि ज्ञानैको
अन्तिममा त्यै बन्दछ कारक
धर्मस्थलकै फोहरको
जसरी त्यो भिक्षु बढार्दै छ
ध्यानैपूर्वक सुक्खा पात
त्यसरी नै नबढारे हुन्छ
धर्मैमा पनि फोहर बास
झार्छन् तरुले निष्प्रभ पात
सुक्नै लाग्दा नै पहिले
तब नै ताजा पात उमार्छन्
जति छन् जीवित रुखैले ।
प्रतिक्रिया दिनुहोस !