सहकारी ठगी प्रकरण : चितवन अदालतमा रवि लामिछानेको बयान जारी
चितवन : सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मु्द्दामा बयान सुरू भएको छ। जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान सुरू भएको हो। बयान सकिए आजै थुनछेक बहस हुनेछ।
लामिछानेविरुद्ध मंगलबार चितवनको साहारा बहुउद्देश्यीय सहकारीको रकम ठगी कसूरमा अदालतमा मुद्दा दर्ता भएको छ।
साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित थप १५ जनाविरुद्द मुद्दा दायर भएको हो । चितवन जिल्ला अदालतमा मंगलबार पूरक मुद्दा दर्ता गरिएको हो । साहाराको रकम अपचलन र संगठित अपराध कसुरमा कारबाही गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री लामिछाने र तत्कालिन गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्ष समेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीसहित १५ जना पुरकसहित मुद्दा दर्ता भएको हो।
रवि लामिछाने,रामबहादुर खनाल ,रबिना रिमाल , बिशाल तामाङ ,नविन अछामी ,कबिता तामाङ , दिपक लामा ,असरफअलि सिद्दिकी ,भगवति बम्जन,लक्ष्मीप्रसाद पौडेल , विज्ञान राई ,नेत्रपाणी बास्तोला ,शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो ।
हाल पुरक अभियोगमा थप १५ सहित जम्मा ३२ जना प्रतिवादी उपर ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा १,२ तथा सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ३ ९१०९२० ९३० र ५ बिपरितको कसुर कायम गरि अभियोग दर्ता भएको चितवन जिल्ला अदालतको सुचना अधिकारी शाखा अधिकृत अमृत बिश्वकर्माले बताए । उनका अनुसार सोहि ऐन बमोजिम र सङ्गठित अपराधमा दफा ९ ९ क ० र ९ ग० बमोजिम मागदाबी लिएको छ ।
यसअघि असोज ८ गते बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले सहारा सहकारी १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो । अदालतमा पेस गरिएको १ सय ९ पृष्ठको पूरक अभियोगपत्रमा लामिछाने र जोशीलगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारबाही र बिगो माग गरिएको छ ।
अहिलेको १५ जना गरी ३२ जनाबाट ३८ करोड ९ लाख ८९ हजार १७७ रुपैयाँ बिगो दाबी गरिएको छ । कम्पनी तर्फ ६ वटा कम्पनी बाट ४४३ करोड ९४ लाख माग दाबी गरिएको छ । थप अनुसन्धानका क्रममा जोडिएका १५ जना विरुद्ध पुरक मुद्दा दर्ता गरिएको हो।
सरकारी वकिलको कार्यालयले सहकारीको रकम गएको देखिएको गोर्खा मिडिया नेटवर्कको थप अनुन्धान गर्न निर्देशन दिएबमोजिम प्रहरीले पूरक अनुसन्धान गरी प्रतिवेदन बुझाएको हो। साथै आर्थिक लेनदेन देखिएका ६वटा कम्पनीलाई पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको थियो । प्रतिवादीका लागि उपस्थित हुन अदालतले म्याद जारी गरेपछि प्रहरीले हाजिर गराउनेछन्। आरोपी आफै हाजिर भए त्यसै बेलाबाट बयान सुरू हुने चितवन जिल्ला अदालतका स्रेस्तेदार बिष्णुप्रसाद आचार्यले बताएका छन्।
यसअघि असोज ८ मा १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ। सरकारी वकिल कार्यालयले जिवि राई सहित कुमार रम्तेल, सागर केसी, बिर बहादुरर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दिपा न्यौपाने,शिवप्रसाद आचार्य,मनोज गुरुङ,तिर्थराज लामिछाने,शरण विश्वकर्मा,थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । अघिल्लो पटक दर्ता भएका १७ जना को पनि बयान लिइएको छैन ।
मंसिर ५ मा साहारा चितवनका २४ बचतकर्ताले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै रवि लामिछानेसहित थप १० जनाविरुद्ध पूरक उजुरी दिएका थिए। लामिछानेलाई गोर्खा मिडियाको तत्कालीन सेयरधनीरसञ्चालक र प्रबन्ध निर्देशकको हैसियतमा बचतकर्ताले उजुरी दिएका हुन्।
उजुरीकर्ताले गोर्खा मिडियामा नियमविपरीत साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट १० करोड ८० लाख रुपैयाँ गएको दाबी गरेका छन् । सहकारीको रकम अपचलन मुद्दामा लामिछाने कास्की ,रुपन्देही र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छुटेका छन्। कास्कीमा ६५ लाख ,काठमाडौंबाट ६० लाख र रुपन्देहीबाट १ करोड धरौटी बुझाएर उनी रिहा भएका हुन्।
प्रतिक्रिया दिनुहोस !