असारे विकास नगर्ने वगनासकाली
समय छँदै काम नसक्ने, हतपत र लतपत गर्दै सक्ने प्रवृत्तिले नेपालको विकासमा बाधा पु¥याएकै छ । आर्थिक वर्षको अन्तिम महिना असार जब लाग्छ, तबतब विकासका काम धमाधम गर्न खोजिन्छ वा गरेको जस्तो पारिन्छ र त्यस्तै लतपत भएका कामको भुक्तानी पनि हुन्छ । यस्तो प्रवृत्ति असारे विकासका नाममा बदनामित छ । पाल्पाको वगनासकाली गाउँपालिका यसमा अपवाद देखिएको छ । यो पालिकाले यो वर्ष गर्नुपर्ने जति सबै काम सकेको छ । कुनै योजना बाँकी छैन, जुन हतारहतार असारमा सक्नुपरोस् र भुक्तानी दिनुपरोस् । काम पनि सकिएका छन् र भुक्तानी पनि सबै । सबै योजना पनि जेठमा होइन, वैशाखमै सकिएका हुन् ।
वगनासकालीले कसरी सक्यो त सबै काम ? उपभोक्ताहरूसँग मिलेर सम्पन्न योजनामात्रै चार सय वटा थिए । तिनलाई चैतभित्रै सक्ने सम्झौता जो थियो । ती त्यसैअनुसार फत्तै भए । ठेक्कापट्टामा लगाएका १६ वटा योजना थिए । तिनलाई वैशाख १५ भित्र सक्ने सम्झौता थियो । ती पनि सकिए । सबै वडामा उपभोक्तासँगका काममा प्राविधिक खटाएर पालिकाले बेलैमा काम गर्न सकेको छ । यो एउटा उदाहरण भएको छ कि पालिकाहरूले चाहँदा बेलामा काम गर्न सकिन्छ । ठेक्कापट्टामा पनि म्याद सकिएपछि फेरि समय थप्ने रोग पनि यहाँ लागेन ।
प्रदेश र संघ सरकारहरूका थुप्रै काम भने अझै पनि सकिएका छैनन् । धमाधम जेठ असारतिर आएर मात्रै तात्ने प्रवृत्ति छ । भुक्तानी असारमै धेरै हुन्छ । एउटा पालिकाले काम गर्न सक्छ भने प्रदेश र संघले नसक्ने भन्ने कुरै होइन । र देशभरका अरू पालिकाहरूले पनि गर्न सक्छन् । तर काम गर्ने तौरतरिका पनि छैन र अन्तिमअन्तिममा आएर काम सक्दा जस्तो गरे पनि हुने अनि भुक्तानी दिने र लिने गर्ने नियत पनि असारे विकासको मुख्य कारण हो । योजनाहरूको बेलामा सम्झौता गर्ने, नियमित अनुगमन गर्ने र काम सक्न ताकेता गर्ने हो भने असम्भव भन्ने हुँदैन । तर धेरैभन्दा धेरै टुक्रे योजना राख्ने, प्राविधिक जाँच गर्नै नभ्याउने आदि कारण पनि असारे विकासका कारण हुन् ।
असारे विकासले वास्तवमा देशको धनको विनाशमात्रै गरेको छ । उपलब्धिमूलक विकास हुन सकेको छैन । विसका र समृद्धिका लागि बेलामा काम गर्ने र गुणस्तरीय काम गर्ने बानीको जरुरी छ । वगनासकाली गाउँपालिकाबाट देशभरका सरकारले सिक्न जरुरी छ ।