खोजी लिच्छविको
नेपालको इतिहासको प्रामाणिक काल हो लिच्छविकाल । ब्राह्मी लिपि र लिच्छवि लिपिकै प्रयोग भएका शिलालेखहरू लिच्छविकालीन इतिहास अध्ययन गर्ने भरपर्दा प्रमाणहरू हुन् । लिच्छविकालका राजा मानदेव प्रथमले विसं ५२१ सालमा चाँगुनारायणमा गाडेको स्तम्भबाट त्यही समयदेखि स्तम्भ लेखन नेपालमा प्रवेश गरेको देखाउँछ । स्तम्भ लेखन नै त्यतिबेलाका लागि आधुनिक सुरुआत थियो, जसलाई भारतबाट भिœयाइएको अनुमान गर्न सकिन्छ । मानंक मुद्रा पनि तिनै राजा मानदेवले सुरु गरेका थिए । कला, साहित्य, वास्तुकला, मूर्तिकलालगायतको विकास लिच्छविकालमै भएको छ । त्यतिखेर नेपालको सम्बन्ध कलिङ, वैशाली, कपिलवस्तु, मगध, तक्षशिला, नालन्दा, काशी, कुशीनगर, रामग्राम, वैशालीलगायत राज्यसँग हुनु भनेको परराष्ट्र सम्बन्ध अर्थात् कूटनीतिक आयाम विशाल हुनुको द्योतक हो । लिच्छविकालमै हो नेपालले तिब्बतसँग वैवाहिक नाता जोडेर बलियो सम्बन्ध कायम गरेको । हाला कि त्यसको तथ्य प्रामाणिकता धेरै प्रश्न अनुत्तरित छन् ।
विद्वान इतिहासकारहरू बालचन्द्र शर्मा, जगदीशचन्द्र रेग्मी र सूर्यविक्रम ज्ञवालीले नै लिच्छविकाललाई स्वर्णकालको संज्ञा दिएका छन् । उनीहरूले त्यसो भन्नुको आधार भनेको त्यतिखेरको सांस्कृतिक वैभव हो । त्यतिबेलाको शिक्षाको स्तर र जनताको आर्थिक अवस्था पनि उच्च तहको हुनाले समेत त्यो समय स्वर्णकाल हुन पुगेको हो । राज्य व्यवस्था त्यतिबेला लोककल्याणकारी थियो । प्रशासनिक व्यवस्था पनि उन्नत मान्नुपर्छ । न्यायिक व्यवस्था राजामा केन्द्रित नभई पाञ्चाली भन्ने इकाइसम्म पुगेको थियो । बौद्ध धर्मले फक्रने मौका पाएको थियो । बौद्ध संघहरू पनि अधिकारसम्पन्न थिए । स्वर्णकालको उपमाका बारेमा पनि अनेक तर्क छन् । दक्षिणतिरका अनेक राज्यको तुलनामा लिच्छवि राज्य कमजोर रहेको तर्क गर्नेहरूले स्वर्णकाल नमाने पनि नेपालकै हकमा भने उन्नति र प्रगतिको समय मान्न हिच्किचाउनु पर्दैन ।
मल्लहरूसँग पराजयपछि पहिचान लुकाएका हुन सक्छन् भन्ने पनि छ । तथ्य के हो भन्ने पत्ता लगाउन आनुवांशिक वैज्ञानिक अनुसन्धान गर्न सकिन्छ वा कुन उपाय हुन्छ । इतिहास भनेको रहस्यमा छाडिदिने र अनुमानका हल्ला रहन दिने होइन तथ्य पत्ता लगाउने विषय हो । लिच्छवि को थिए र कहाँ हराए भन्ने पनि खोजिनुपर्छ ।