मालिका पहुँचमार्ग सडकको काममा ढिलाइ

मालिका पहुँचमार्ग सडकको काममा ढिलाइ
सुन्नुहोस्

गुल्मी: मालिका पहुँचमार्गअन्तर्गत सिलादी, घमिर अर्खावाङ सडकको स्तरोन्नति तथा ग्राभेलको काममा ढिलाइ भएको छ। जिल्लाको मालिका गाउँपालिका-७ सिलादी घमिर हुँदै अर्खाबाङ पुग्ने सडक निर्माण व्यवसायीको चरम लापरबाहीका कारण हालसम्म सडकको काम सम्पन्न हुन नसकेको हो।

सडकको स्तरोन्नति र ग्राभेलको काम गुर्नपर्ने भए पनि निर्माण व्यवसायीले गरेको ढिलासुस्तीका कारण यहाँका नागरिकले सास्ती खेप्नु परेको छ। मालिका पहुँचमार्ग अन्तर्गतको सडक हुँदै दैनिक दर्जनौं साना तथा ठुला सवारी जिल्लाको सदरमुकाम आउजाउ गर्दछन्। 

वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा यहाँका नागरिकलाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। निर्माण व्यवसायीले विभिन्न बहाना बनाएर सडकको काममा ढिलाइ गरेको नागरिक बताउँछन्। निर्माण व्यवसायीले अहिले सडकमा अव्यवस्थित रुपमा निर्माण सामग्री राखेका थप समस्या भएको स्थानीय गुणनिधि लम्सालले बताए।

‘वषौंदेखि हामी हिउँमा धूलो र बर्खामा हिलो खेप्न बाध्य छौं। निर्माण व्यवसायीले काम सुरु गरेपछि केही खुशी पलाएको थियो। तर अहिले सडकको काम देख्दा सबै आश मरे। सडकमा व्यवस्थित नाली नहुँदा गाउँका केही घर र खेतबारी नै जोखिममा परेका छन्। सडकको केही ठाउँमा गरिएको ग्राभेल गरेका ठाउँमा उक्किएर हामीलाई यात्रामा निकै समस्या परेको छ’, उनले भने। 

निर्माण व्यवसायीले सडकमा प्रयोग गरेका सामाग्री गुणस्तरहीन भएको अर्का स्थानीय तेजेन्द्र अर्यालले आरोप लगाए। उनी सवारी चालक समेत हुन्। अर्यालले दैनिक त्यही सडक हुँदै जिल्लाको सदरमुकाम तम्घास आवतजावत गर्ने गर्दछन्। निर्माण व्यवसायीले पहिले ग्राभेल गरेको सडकको केही भाग अहिले भत्कन थालेको उनले बताए। ‘निर्माण व्यवसायीले पहुँचको भरमा ठेक्का पार्छन् तर मन दिएर काम गर्दैनन्’, अर्यालले भने, ‘त्यसका प्रत्यक्ष मार हामीले खेप्नु परेको छ।’

सरकारले करोडौं लगानी गरे पनि सडकमा गुणस्तरीय सामग्रीको प्रयोग र काममा ढिलाइ हुँदा यस पटकको बर्खायाम पनि हिलाम्मे सडकमै यात्रा गर्नु बाहेकको अरू विकल्प नरहेको उनी बताउँछन्। सडक पूर्वाधार कार्यालयसँग २०७९ माघ २६ गते काम सम्पन्न गर्ने गरी सूर्य कन्टक्सन र चम्फेश्वर शुसान जेभी काठमाडौंले २०७७ माघ २८ गते योजना सम्झौता गरेको थियो। कामको सम्झौता मिति सकिँदा समेत निर्माण कम्पनीले काम सम्पन्न नगरेपछि पुन म्याद थप गरेको छ। 

३० असोज २०८१ सम्म काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले म्याद थप गरेको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ। उक्त निर्माण कम्पनीले भ्याट सहित १० करोड ५७ लाख ७८ हजार ६६८ रुपैयाँमा १५ किलोमिटर सडक ग्राभेलको जिम्मा लिएको थियो। हालसम्म मालिका पहुँचमार्ग सडकको ८५ प्रतिशत भौतिक र ६९.५ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। निर्माण कम्पनीले कार्यालयबाट ७ करोड ३४ लाख ८८ हजार ३६९ रुपैयाँ ७८ पैसा भुक्तानी लागेको छ।

सडक ग्राभेलमा निर्माण कम्पनीले गरेको ढिलासुस्ती र बेवास्ताले सडकका कतै नाली कतै फुटेका छन् कति साँघुरिएका छन्। सडक निर्माणको क्रममा समयमै नाली निर्माण नगरिदिँदा बर्खायाममा घरजग्गामा भेल पस्ने त्रासमा स्थानीय छन्। २ वर्ष पहिले वैशाखमा भएको वर्षातका कारण कैयौं घर र बारी डुवानमा परेर क्षति पुर्‍याएको थियो।  

सडकको कामले गति नलिँदा हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको सवारी चालक वेद थापाले गुनासो गरे। मालिका गाउँपालिकाको केन्द्र अर्खावाङ पुग्न यो सडक छिटो छरितो मानिन्छ। कयौंपटक सडक स्तरोन्नतिको प्रलोभन देखाएर स्थानीय तहदेखि केन्द्रसम्म नेताले निर्वाचन जितेका छन्। चुनावी समयमा जनतालाई नेताले दिएका प्रतिवद्धता नारामै सीमित छन्। निर्वाचन जितेर गएपछि आफ्ना प्रतिवद्धता पुरा गर्न नेताले नै चासो नदिएको स्थानीय गुनासो छ। 

सडक ग्राभेलको काम छिटो छरितो गर्न गाउँपालिकाले पटक पटक कार्यालय र मन्त्रालयलाई पत्राचार गरेको मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालले बताए। निर्माण कम्पनीलाई सडक कामका लागि गाउँपालिकाले ताकेता गरे पनि सम्झौता समयमा काम नभएको उनको भनाइ छ। बजेट र काम गर्ने वातावरण हुँदा हुँदै पनि निर्माण व्यवसायीले काममै  गरेको ढिलाइका कारण नागरिक समस्यामा परेको गाउँपालिका अध्यक्ष अर्यालले बताए। 

काम अलपत्र पारेपछि कार्यालयले कयौं पटक निर्माण व्यवसायीलाई पत्र काटेको थियो। निर्माण व्यवसायीले सडक निर्माण ढिलाई गरेको स्वीकार गर्दै सडक पूर्वाधार विकास कार्यालय गुल्मीका सूचना अधिकारी भक्तराज गिरीले पछिल्लो समयमा सडक मेसिनरी वाल र ग्याविन वालको काम सकिनै लागेको बताए। 

सडकमा ३ किलोमिटर ग्राभेल र १ किलोमिटर पक्की नाली बनाउने काम बाँकी रहेको उनले बताए। जेठ अन्तिमसम्म काम सम्पन्न गर्न निर्माण कम्पनीले जनाएको छ। बजेट हुँदासम्म भुक्तानी आएको तर अहिले बजेट अभावमा भुक्तानी नभएको निर्माण व्यवसायीको गुनासो छ। आउँदो असारसम्म सबै काम सम्पन्न गर्ने योजना सहित सडकको बाँकी काम तीव्र पारिएको निर्माण व्यवसायीको दाबी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.