‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
काठमाडौं : नेपालमा ‘रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव नरहेता पनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मङ्गलबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहनेछ।
बंगालको खाडीमा विकसित भएको न्यून-चापीय प्रणाली यही १२ गते साँझ चक्रवातमा परिणत भई हाल शक्तिशाली चक्रवातका रुपमा रहेको छ। उक्त चक्रवातको नाम ‘रेमल’ नामांकन गरिएको छ। उक्त चक्रवात भारतको पश्चिम बंगाल तथा बंगलादेशको तटीय क्षेत्रीयतर्फ अगाडि बढिरहेको देखिन्छ।
उत्तरी बंगालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवात आज राति बंगलादेश र पश्चिम बंगाल आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, तराईका भूभागमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ। मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ।
त्यस्तै, वाग्मती प्रदेशको थोरै स्थान मेघगर्जन/चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।गण्डकी प्रदेशको केही स्थान मेघगर्जन/चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ।