देश विकासको एउटा बहस
एकातिर जनता देश विकास भएन भनिराखेका छन् । त्यत्रो आन्दोलन गरेर त्यत्रा १६÷१७ हजार जनताको बाँच्न पाउने अधिकार खोसेर ल्याएको गणतन्त्रले खै के नाप्यो ? भन्नुमा तुक छ पनि । अनि कति जनता भोकमरीमा छन् ।
पहिला मुखियाले १० प्रतिशतभन्दा बढी ब्याज लिएर जनतालाई शोषण गर्यो भनेर कालोमोसो दलेर जुत्ताको माला लगाएर सहर घुमाउँथे । अहिले तिनैले विभिन्न वित्तीय संस्था खोलेर पाँच लाख ऋण लिएको ठाउँमा २८ लाख तिरिसक्यो, अझै ४५ लाख तिर्नु छ भनेर तराईबाट २३ दिन लाएर हिँडेर काठमाडौं आई आन्दोलन गरिरहेको अवस्था छ । यो एउटा विचारणीय कुरा छ ।
यो त वास्तवमा अतिचार नै हो । ती सीधासादा जनतालाई कति ठगेको ? तिनले पनि आनन्दसँग बाँच्न पाउने अधिकार छ नि । छैन र ! खै त अझ केही दिनअगाडि तराईमै हो– एउटाले सारा गाउँलेको लालपुर्जा ल्याएर बैंकमा धितो राखे र पैसा लिए । अरूको लालपुर्जा राखेर पैसा लिएको छ अब उसलाई केको मतलव हुन्थ्यो ?
यसरी पैसा तिरेन अनि पछि गएर पैसा तिरेन भनेर सारा गाउँलेलाई लगेर थुन्न लगायो । होइन, अन्याय पनि कति गर्न सकेको ? यस्ताको भोट लिएर आएका मधेसका नेताहरू के हेर्छन् ? के ती गरिब जनताको वकालत गर्छन् ? यस्तो पनि हुन्छ ? ती नेताहरू देश विकास गर्छौं भनेर आएका छन् ।
कसरी पत्याउनु ? कति मान्छे मधेसमै दाइजो पाइएन भनेर आफ्नै पत्नीलाई मट्टीतेल खन्याउँछन् र आगो लगाउँछन् । ज्यानभन्दा धन ठूलो मान्नेको बुद्धि कहिले पलाउला ? कति बोक्सीका नाउँमा मलमूत्र खुवाउँछन् ।
खै यत्रो गणतन्त्र आइसकेपछि त यस्ता प्रथा हटाउन पर्दैन ? खाली जनता ठग्ने र खानेभन्दाबाहेक कतै कुनै काम भएको पाइँदैन । चिनी मिल स्थापना गरिएको छ । किसानको उखु समयमा लिइँदैन । उखु सुकिसकेपछि ‘उखुलियो’ भन्ने र पैसा नदिने अनि नेपालका चिनी मिल बन्द गराएर चीन, भारतबाट चिनी ल्याउने । यो देशमा अत्याचार पनि कति हुन सकेको ? कति अन्याय, अत्याचार गर्न सकेको ? के हाम्रो देशको विकास यही हो ?
सर्वसाधारण जनताको थाप्लोमा कर थुपारेर उठ्नै नसक्ने गराइएको छ । सरकारमा जानेहरू हामी आए यो गर्छौं र त्यो गर्छौं भनेर नारा दिन्छन् । जनतालाई प्रलोभनमा पारेर भोट जितेर सरकारमा गएपछि कसरी सरकार बनाउने र गिराउने भन्नेमै दिन बिताउँछन् । अहिले जनताको हक अधिकार भएको गणतन्त्र भनिन्छ । भनेर के गर्नु ? झन् तिनै सीधासादा जनताका थाप्लोमा तिर्नै नसक्ने ऋणको भार थुपारिएको छ । महँगी चरमचुलीमा नाघेको छ ।
यति मात्रै हो र ! सरकारमा बस्नेहरू नै कुनै सुन तस्करीमा लागेका छन् त कुनै मानव बेचबिखन गर्नमा तल्लीन छन् । कुनै सरकारी जग्गा हडपेर बेचिरहेछन् त कोही भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । यस्तालाई भोट दिएर जिताएर पठाउने हामी कस्ता नागरिक ? यो झनै विचारणीय कुरा छ । अझै हामी नै यस्ताको वकालत गर्दै हिँडेका छौं ।
यसरी देश विकास किमार्थ हुँदैन । जनताको कल्याण हुने छैन । देश विकास गर्ने हो र जनताको कल्याण गर्ने हो भने सबै सुध्रिन आवश्यक छ । सबै आआफ्ना ठाउँमा नबसेसम्म कुनै कतै केही हुनेवाला छैन । आखिरमा सबका सबले दुःख पाउने मात्रै हो । स्वार्थको घेराबाट माथि उठेर देश र जनताको हितमा ध्यान राखेर काम गरे मात्रै देश र जनताको उन्नति हुनेछ । हामी सबै कस्तो व्यक्ति भयौं भने खाली अरूलाई मात्रै दोष लगाउने । उसले यसो गर्न नहुने, त्यसले त्यसो गर्न नहुने मात्रै भन्छौं । खाली स्वार्थ हेरेर कुरा गर्छौं । आफू नै ठीक भन्छौं ।
अधिकार खोज्नेले कर्तव्य पनि पालना गर्नुपर्छ तर यहाँ भएन र त सबैतिर बिग्रिएको छ । अधिकार खोज्नेले कर्तव्य पनि पालना गर्नुपर्छ । यस्ता कार्य सोचेर समाजमा सबैले योगदान दिएको खण्डमा मात्रै हामी सबैको कल्याण हुन्छ । जब यो होइन, यस्तो हुनै सक्दैन भन्छौं भने सबै खल्बलिएर जानेछ । यसरी, समाज सबैले दुःख पाउने बन्छ किनकि एकापसमा द्वन्द्व मच्चिने कारण नै यिनै हुन्छन् ।
अब हामी सबै जागरूक हुनैपर्छ । अब पनि हामीले कति दुःख पाउने ? एक्काईसौं शताब्दी व्यतीत हुन लागिसक्यो । देशमा गणतन्त्र आइसक्यो । सुख पाउन अब के आउन बाँकी छ र ? अब यो देशका तमाम बुद्धिजीवी, नागरिक समाज, साहित्यकार, पत्रकार, न्यायकर्मी, कलाकार, डाक्टर, इन्जिनियर, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विशेषज्ञहरू झिकाएर यहाँको हावापानी र भूगोल हेरेर विकासको बीज रोप्नुपर्छ ।
व्यापक मात्रामा बहस गराएर सरकारले विकास व्यवस्थापन गराउनुपर्छ अनि मात्रै केही हुन सक्छ । ढुंगाबालुवाले भरिएको मरुभूमि इजरायलमा अन्यत्रबाट माटो लगेर अत्यधिक मात्रामा उब्जनी गराएको छ । हाम्रो तराईमा भने अत्यधिक उब्जनी हुने जग्गा र पहाडका सारा जग्गा बाँझै छन् ।
अनि हामी भने अन्यत्रबाट धान, मकै, कोदोजस्ता अन्नबाली साथै तरकारी ल्याएर खाइरहेका छौं । देशमा उद्योगधन्दा केही छैनन्, भएका पनि अनेक स्वार्थले बन्द भए, हुँदैछन् । युवा शक्ति देशबाहिर गइरहेका छन् । तिनलाई स्वदेशमै अवसर दिएको भए नेपाल एउटा स्वर्गभूमि बन्न सक्थ्यो ।
यतापट्टि न हाम्रो ध्यान छ, न त सरकारको । कता भ्रष्टाचार गर्न सकिन्छ । कसरी सरकारी जग्गा हडप्न सकिन्छ । कसरी मानव तस्करी गर्न सकिन्छ । कसरी सुन ल्याएर अन्यत्र पैठारी गर्न सकिन्छ । कसरी सत्ता हत्याउन सकिन्छ । यस्तैमा बिते सबैजसो सरकारमा पुग्ने राजनीतिक दलका नेताका दिन र महिना । त्यही भएर राजनीति स्थिर हुन सकेन र त वर्षौंवर्ष एउटै दल र नेता सत्तामा टिक्न सकेनन् । अब त बुद्धि पलाउँछ कि ? हेरौं ।