गोरखाको साम्दोमा बीओपी स्थापना
गोरखा : उत्तरी गोरखाको साम्दोमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट(बीओपी)स्थापना भएको छ । एक वर्ष लामो तयारीपछि आइतबार बीओपी स्थापना भएको हो । तिब्बतसंगको रुईला नाका नजिकै पर्ने चुमनुब्री गाउँपालिका- १ साम्दोमा बीओपी स्थापना भएको डीएसपी सुमन बोगटीले जानकारी दिए । इन्स्पेक्टरको कमाण्डमा टोलीले काम सुरु गरिसकेको उनले बताए ।
बीओपीमा खटिएका टोलीले सीमा सुरक्षा गर्नेलगायतका काम गर्नेछन् । ‘सीमा सुरक्षाको प्रमुख जिम्मेवारी छ’, डिएसपी बोगटी भन्छन्, ‘सीमानामा हुने अवाञ्छित गतिविधि, अवैध कारोबार नियन्त्रण गर्ने, शान्ति सुरक्षा स्थापना गर्ने, विपद् व्यवस्थापन गर्ने कामहरु मुख्यमुख्य कामहरु हुन् ।’
चुमनुब्री गाउँपालिका-१ रुइला नाका आसपास र वडा नं. ७ को मुलाढाज्यान नाका आसपास दुई ठाउँमा बोर्डर आउटपोस्ट राख्ने सरकारले विगत एक वर्षदेखि तयारी गरेको थियो । रुइला नाका आसपास स्थापना भएपनि मुलाढाज्यान आसपास भने बीओपी स्थापना हुन अझै बाँकी नै रहेको छ ।