बलले आँखा फुटायो, ‘पावर’ले क्षतिपूर्ति रोक्यो

बलले आँखा फुटायो, ‘पावर’ले क्षतिपूर्ति रोक्यो
रामभरोस महतो

डाक्टर भन्छन्, ‘तपाईंको आँखाको ज्योति फर्काउन सकिन्न, आँखामा लेन्स हाल्नै नसकिने गरी क्षति भएको छ।’

ढल्केवर (धनुषा) : धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका ५१ वर्षीय रामभरोस महतो बेचैन छन्। रंगरोगनको काम गरेर गुजारा गर्ने रामभरोसले तीन महिनादेखि हातमा पेन्टब्रस समाएका छैनन्। गत फागुन ११ गते धनुषाको ढल्केवर चोकमा हक्की खेलाडीले प्रहार गरेको बल लागेर देब्रे आँखा गुमाएका रामभरोसलाई अहिले हातमुख जोड्नै धौधौ भएको छ। आफू कमाएर सिंगो परिवारलाई पाल्ने एकल सहारा रहेका उनी अशक्त भएपछि घरका सबै सदस्य पिरोलिएका छन्।

अति व्यस्त चोकको सडकमा हक्की अभ्यासका क्रममा बल प्रहार गर्ने खेलाडी थिइन्, मदन भण्डारी स्पोर्टस् एकेडेमी टिमका १४ वर्षीया जागृति यादव। घटनालगत्तै पीडितले प्रहरीमा उपचार र क्षतिपूर्तिका लागि निवेदन दिएपछि खेलाडीका नेतृत्व अर्थात् मदन भण्डारी स्पोर्टस् एकेडेमीका तर्फबाट सचिवालय सदस्य नन्दु काउचाले प्रहरीसमक्ष उपचार गराइदिने सहमति गरेका थिए। 
उक्त सहमतिको साक्षीमा हस्ताक्षर गरेका छन्, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य र स्थानीय हिमालय युवा क्लबका संरक्षक अरुणकुमार महतो। तर पीडित पक्षसँग सहमति गरेका एकेडेमीका पदाधिकारीहरूले आलटाल गर्दा देब्रे आँखा गुमाएका रामभरोसको अहिले बिल्लीबाठ भएको छ। एउटा आँखाले मात्रै तिर्मिराएर हेर्न सकिरहेका उनी अहिले न्यायका लागि भौंतारिरहेका छन्।

ढल्केवर, जनकपुर, लाहानदेखि काठमाडौंंको आँखा अस्पतालसम्म धाएका रामभरोसले आँखाको उपचारमा ४० हजारभन्दा बढी खर्चिसकेका छन्। उनले उपचारका लागि पुगेका सबै अस्पतालका चिकित्सकले दिएको एउटै जवाफ हो, ‘तपाईंको आँखाको ज्योति फर्काउन सकिन्न। आँखामा लेन्स हाल्नै नसकिने गरी क्षति भएको छ।’ तर रामभरोसले उपचारका लागि हालसम्म जम्माजम्मी ८ हजार रुपैयाँ पाएका छन्। ‘त्यति नै पैसा दिएर उहाँहरू पन्छिरहनु भएको छ। मलाई क्षतिपूर्ति पनि चाहिँदैन। मेरो आँखा पहिलाको जस्तै बनाइदेओस्,’ रामभरोस भन्छन्, ‘हैन भने मेरो आँखा फुटाउनेलाई कानुनबमोजिमको कारबाही हुनुपर्छ। कानुनले तोकेबमोजिमको क्षतिपूर्ति तिनुपर्छ। उनीहरूलाई सडकमा हक्की खेल्ने अधिकार कसले दियो ?’ 

खेलाडीहरू फागुन १४ गतेदेखि धनुषाको महेन्द्रनगरमा सञ्चालन भएको प्रथम मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगितामा सहभागिता जनाउन आएका थिए। ती खेलाडीहरू ढल्केवरको श्रीराम होटलमा बसेका थिए। मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो।

यस्तो छ कानुन

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १४ कुटपिट वा अंगभंगसम्बन्धी कसुरअन्तर्गत १९१ नम्बरको बुँदामा कुटपिट गर्न नहुनेसम्बन्धी भएको व्यवस्थामा कसैले कसैलाई कुटपिट गर्न नहुने उल्लेख छ। त्यसैको दफा २ मा कसैले कसैलाई कुनै किसिमको शारीरिक पीडा पुर्‍याएमा निजले कुटपिट गरेको मानिने स्पष्ट लेखिएको छ। त्यसको दफा ३ मा यस्ता कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ।

परिच्छेद १४ कै १९२ नम्बरको बुँदामा अंगभंग गर्न नहुनेसम्बन्धी भएको व्यवस्थाको दफा १ मा कसैले कसैको अंगभंग गर्न वा गराउन हुँदैन भनेर उल्लेख छ। त्यसको दफा २ मा कसैले कसैलाई जानीजानी कुटपिट गर्दा आँखाको हेर्ने शक्तिहीन गरी वा आँखा फोरी दृष्टिविहीन बनाइदिएमा अंगभंगको कसुर गरेको मानिने भनेर लेखिएको छ। दफा (३)मा कुटपिटबाट तत्काल अंगभंग नभए तापनि सोही कामको परिणामस्वरूप पछि उपदफा (२) बमोजिमको परिणाम निस्केमा पनि अंगभंग भएको मानिने उल्लेख छ।

त्यसको दफा (४) मा त्यस्ता कसुर गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुने स्पष्ट व्यवस्था गरिएको छ। त्यसैको दफा (५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि एउटै किसिमको काम दिने एउटाभन्दा बढी अंग हुनेमा त्यसमध्ये एउटा अंग मात्र बेकम्मा पारिदिएको भए सो उपदफामा लेखिएको सजायको आधा सजाय हुनेछ र अंगभंग भएको खत निको भई काम लाग्ने भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुनेछ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साह पीडित पक्षसँग गरेको सहमति कार्यान्वयन नगरे पीडकलाई झिकाएर मुद्दा चलाउने बताउँछन्। ‘पहिला सहमति गरेकाहरूसँग बुझ्दैछु। सहमतिबाट पछि हटे कानुनबमोजिम हुन्छ,’ प्रहरी निरीक्षक साह भन्छन्।

परिवार पाल्न सकस

मिथिला नगरपालिका— ६ का रामभरोसको आर्थिक अवस्था निकै कमजोर छ। घर बनाए जतिको घडेरीमात्रै रहेका उनले रंगपेन्टको काम गरेर दैनिक गुजारा गरिरहेका थिए। तीन वर्षअघि छोरीको विवाह गर्दा उनलाई ९ लाख रुपैयाँ ऋण लागेको छ। ती सबै पैसा उनले मिटरब्याजमा उठाएका हुन्।

आर्थिक विपन्नताको चपेटामा परेका उनीमाथि बज्रपात परेको छ। फागुन ११ गतेको बिहानीले उनको एउटा आँखाको दृष्टिलाई अँध्यारो बनाइदिएको छ। ‘अहिले घर परिवारको आर्थिक अवस्था तहसनहस भएको छ। दुई महिनादेखि चामल, दाल सबै उधारोमा ल्याएर पेट पालिरहेको छु। अब धान्न सकिने अवस्था छैन,’ भावविह्वल बनेका रामभरोसले दुःखेसो पोखे।

यस्तो अवस्थामा कसैले काम पनि दिन नमानेको उनी बताउँछन्। ‘हिँड्न पनि कठिनाइ हुन्छ। एउटा आँखाले हेर्ने बानी छैन। आँखाले धोका दिइरहेको छ। कसैले काम पनि दिइरहेका छैनन्’, मलिन अनुहारमा उनले भने, ‘अब हिम्मत टुटिरहेको छ।’

रामभरोसको घरमा अहिले श्रीमती र दुई छोरा छन्। उनी घरमा कमाउने एक्लो पिलर थिए। उनको जेठो छोरा रविनले यसै वर्ष १२ कक्षा पास गरेका छन्। कान्छो सुरज १० कक्षामा सरकारी विद्यालयमा पढिरहेका छन्। ‘पैसाको कारण जेठो छोराको पढाइ रुक्यो। छोरोलाई जसरी पनि ब्याचलर पढाउँछु भनेको थिएँ। अहिलेको अवस्थाले बर्बाद बनाइदियो। सोचले राति निद्रा पनि आउँदैन। चैनले सुत्न पनि सकिरहेको छुँइन्,’ आँसु झार्दै रामभरोसले भने।

यता पीडितसँग सहमति गरेका मदन भण्डारी स्पोर्टस् एकेडेमीका सचिवालय सदस्य नन्दु काउचाले उल्लेख गराएका नम्बरमा सम्पर्क हुन सकेन। त्यही सहमतिको साक्षीमा हस्ताक्षर गरेका एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले घटनाका विषयमा अनभिज्ञता प्रकट गरे। ‘घटना कहाँ र कसरी भएको हो भन्ने विषय अझै बुझिसकेको छुइनँ। मैले सत्यतथ्य बुझ्नुपर्छ। खेलाडी हाम्रो आयोजक टिमको भए पनि त्यसको जिम्मा बाबुराम सरको थियो। म त्यो खेलाडीलाई चिन्दिनँ पनि,’ गैरजिम्मेवार शैलीमा प्रतिक्रिया दिएका आचार्यले भने, ‘तपाईं बाबुराम सरसँग बुझ्नुस्– के हो कुरो ? यो घटनालाई कानुनभन्दा पनि व्यावहारिक रूपमा मिलाउनुपर्छ भन्ने मेरो मान्यता हो। क्षतिपूर्ति जायज माग हो। हाम्रो केन्द्रीय कमिटीको बैठकमा यस विषयमा गम्भीर छलफल हुन्छ।’

तर पीडित रामभरोस एकेडेमीका पदाधिकारीहरूले फेरिरहेको बोलीले सशंकित छन्। ‘उहाँहरू दुई महिनादेखि बैठकका नाममा ढाँटिरहेको छ। विश्वास गर्ने आधार सकिसक्यो। आँखाको पीडामा रहेको मलाई उहाँहरूले झन् पीडा दिइरहेको छ। अब कानुनी उपचार खोज्छु,’ रामभरोस भन्छन्।

  •     धनुषाको ढल्केवर चोकमा हक्की खेलाडीले प्रहार गरेको बल लागेर रामभरोसले देब्रे आँखा गुमाएका हुन्।
  •     रामभरोस भन्छन्, ‘मेरो आँखा फुटाउनेलाई कानुनबमोजिमको कारबाही हुनुपर्छ। कानुनले तोकेबमोजिमको क्षतिपूर्ति तिनुपर्छ। उनीहरूलाई सडकमा हक्की खेल्ने अधिकार कसले दियो ?’
  •     ढल्केवर, जनकपुर, लाहानदेखि काठमाडौंको आँखा अस्पतालसम्म धाएका रामभरोसले आँखाको उपचारमा धेरै खर्च गरिसकेका छन्। 
  •     रामभरोसले उपचारका लागि हालसम्म ८ हजार रुपैयाँ मात्रै पाएका छन्।
  •     ‘अब यो आँखाबाट हेर्न सक्छु भनेर आस मरिसक्यो। संसार देखाइदिने एउटा आँखा उनीहरूले ख्यालख्यालमै लुटे।’

यस्तो छ घटना 
फागुन ११ गते शुक्रबार बिहान ६ बजे अन्य दिनजस्तै रामभरोस दूध पुर्‍याउन निस्केका थिए। साइकल डोर्‍याउँदै हिँडेका उनलाई ढल्केवरस्थित एक होटलको अगाडि अभ्यास गरिरहेका हक्की खेलाडीले प्रहार गरेको बल देबे्र आँखामा जोडले लाग्यो। उनको आँखाबाट रगतै निस्कियो। 

‘एकछिन त होसै हरायो। त्यतिबेला त म बाँच्दिन कि जसो लाग्या थियो,’ घटनास्थलको अवस्था सम्झिँदै आँखा रसाएका रामभरोसले भने।

आँखाबाट रगत निस्केपछि उनले आफूलाई अस्पताल लग्न हारगुहार गरे। खेलाडी टिमका व्यक्तिले उनलाई ढल्केवरस्थित आँखा अस्पताल पुर्‍याए। चिकित्सकले उनलाई त्यहाँँबाट लाहान आँखा अस्पतालका लागि रिफर गरिदियो। तिनै व्यक्तिले रामभरोसलाई मोटरसाइकलमै लाहान पुर्‍याए। त्यहाँँका चिकित्सकले आँखा पूरै सुन्निसकेकोले तत्काल केही औषधि दिएर बिहानपल्ट आउन सुझाए। 

अर्को दिन पुगेका रामभरोसलाई डाक्टरले चेकजाँचपछि दिएको जवाफले उनी त्यहाँँ केही बोल्नै सकेनन्। त्यतिबेला लाहानका डाक्टरले भनेको रिपोर्ट सुनाउँदै रामभरोसले भने, ‘आँखा ड्यामेज भयो। यो आँखाले हेर्न सक्नुहुन्न। यसको उपचार सम्भव छैन।’ त्यसपछि रामभरोसले खेलाडीलाई कारबाही गरी आफूलाई क्षतिपूर्ति दिलाइदिन इलाका प्रहरी कार्यालय ढल्केवरमा जाहेरी दिए। जाहेरीपछि प्रहरीमा पुगेका मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यसहितका टोलीले ठूलो अस्पतालको ढाडस दिँदै उपचार गराइदिने लिखित सहमति गरे। आचार्यले तत्काल पाँच हजार रुपैयाँ थमाएर ठूलो अस्पताल भन्दै काठमाडौंंको नेपाल नेसनल हस्पिटलमा जँचाउन सुझाव दिए। रामभरोस एक जना साथी लिएर काठमाडौंं पुगे। 

‘ध्रुव सरले भनेकै अस्पतालमा जचाएँ। चिकित्सकले एक सातामा आउन भन्यो। अर्कोपटक पुगेर डाक्टरले जाँच्दा आँखाको ज्योति फर्काउन नसकिने जवाफ दिनुभयो,’ त्यहाँँको रिपोर्टपछि निराश बनेका रामभरोस भन्छन्, ‘काठमाडौंंमा गएर ध्रुव सरलाई कयौंपटक फोन गरेँ। तर उहाँले प्रत्यक्ष भेट्न मान्नु भएन। अहिले आएर उल्टोपुल्टो कुरा गरिरहेको छ।’

तीलगंगाको अस्पतालमा आँखाको ठूलो डाक्टर हुन्छ भनेर सुनेका रामभरोस त्यहाँँ पनि गए। तर त्यहाँँको चिकित्सकले दिएको रिपोर्ट पनि फरक भएन। आँखा सुम्सुमाउँदै रामभरोसले भने, ‘अब यो आँखाबाट हेर्न सक्छु भनेर आस मरिसक्यो। संसार देखाइदिने एउटा आँखा उनीहरूले (खेलाडीहरू) ख्यालख्यालमै लुटे।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.