संस्कृत भाषाको पुनर्जागरण !
![संस्कृत भाषाको पुनर्जागरण !](https://annapurnapost.prixacdn.net/media/albums/sanskrit_wp9UE5yxBZ_wP3Zxrdw4s.jpg)
संस्कृत भाषाका अनगिन्ती मन्त्र तथा श्लोकहरू मानव शरीर, मानव मस्तिष्क र कस्मिक ऊर्जालाई एकाकार गर्न सक्ने अद्भुत क्षमताहरू रहेको अनुसन्धानले देखाएको छ।
२१औं शताब्दी लागेपछि पश्चिमा राष्ट्रहरूमा ध्यान, योग, सनातनी भजन र दर्शनहरूको लोकप्रियता निक्कै बढेको पाइन्छ। यसका पछाडि संस्कृत भाषा र पूर्वीय दर्शनको ठूलो भूमिका रहेको पाइन्छ। अनुसन्धानको महत्त्वपूर्ण पाटोको रूपमा पनि विकसित भएको छ। वास्तवमा संस्कृत भाषाका यी ग्रन्थमा के के छन् त ?
भारत वर्षमा ऋषिहरूले सधैं सबै कला, विज्ञान र पेसाहरूलाई पवित्र मानेका थिए। अर्थात्, शास्त्रहरूद्वारा निर्देशित हाम्रा गतिविधि पूरा गरेर अनन्तदेखि अनन्तसम्म अब्बल मानव जीवन र ईश्वरीय प्रेमलाई सिद्ध गर्न योग्य पर्याप्त लय, शास्त्र र दर्शनहरू समेटिएका छन्। एस्ट्रोज्योतिका स्वामी शिवानन्दका अनुसार यी शास्त्रभित्र ज्ञानका १४ क्षेत्रमा ४ वेद (ऋग, यजुर, साम, अथर्व), ६ वेदांग (छन्द, व्युत्पत्ति, ध्वन्यात्मक, व्याकरण, ज्योतिष–खगोलशास्त्र र अनुष्ठान) तथा सामाजिक आचरण दर्शाउन ४ उपांग (तर्क, अन्वेषण, पवित्र इतिहास र संहिता)हरू छन्।
वेदका चार पूरकहरू चिकित्सा, राजनीति–अर्थशास्त्र, युद्ध र ललित कला हुन्। महाभारत, रामायण, साथै सांख्य, पतन्जल, पशुपत र वैष्णवहरू धर्मशास्त्रका अंश हुन्। सबै शास्त्रलाई ६ वर्गमा वर्गीकरण गर्न सकिन्छ। ती हुन्ः ईश्वरीय रूपमा प्रकट गरिएका धर्मशास्त्रहरू, रचना गरिएका शास्त्रहरू, पवित्र महाकाव्यहरू, पवित्र किंवदन्ती र इतिहास, ईश्वरीय उपासनाको पुस्तिका र दार्शनिक प्रणालीहरू।
ईश्वरीय रूपमा प्रकट गरिएको शास्त्र श्रुति हो जसको अर्थ सुनेको अथवा कालान्तरबाट सुनिआएको हुन्छ। श्रुतिहरूलाई प्रभु–संहिताहरू पनि भनिन्छ। तिनीहरूले चार वेदलाई मात्र उल्लेख गर्छन्। सनातन धर्मग्रन्थमा बाहेक सबै धर्म (पन्थ)हरूले आफ्ना धर्मग्रन्थहरूलाई ईश्वरले एकल चुनेको सन्देशवाहक दूतलाई दिएको प्रकटीकरणमा पेस गर्छन्। वेद शब्द आफैं संस्कृत मूल ‘विद्’बाट आएको हो, जस्को अर्थ ‘जान्नु अर्थात् ज्ञात हुनु’ हुन्छ।
वेद कुनै एक सन्देशवाहकलाई प्रकट गरिएको थिएन। तिनीहरू सृष्टि सुरु हुनुअघि सूक्ष्म रूपमा अवस्थित थिए र बिस्तारै धेरै (केही गणनाअनुसार ८ सयभन्दा बढी) ऋषि वा ऋषिहरूको ध्यानको गहिराइमा प्रकट गरियो। प्रत्येक वैदिक मन्त्र एक विशेष देवतालाई समर्पित छ। १९ सम्भावित छन्दमध्ये एकमा सेट गरिएको छ। चार वेदमा २० हजार ५ सयभन्दा बढी मन्त्र छन्।
वेदमा पहिलो ऋग्वेदलाई १० पुस्तक (मण्डल)मा विभाजित छ, जसमा १ हजार २८ भजन (सुक्त), कुल १० हजार ५ सय ५२ मन्त्र छन्। ऋग्वेदमा सुरुमा २१ शाखा थिए, जसमध्ये पाँच मात्र विद्यमान छन्। यसमा देवता, आत्मा, सामाजिक जीवनका भजनहरू छन्। यसमा ऐतरेय र कौशीतकी उपनिषद् छन्। दोस्रो यजुर्वेद ४० भाग (स्कन्द)मा विभाजित छ, जसमा कुल १ हजार ९ सय ७५ मन्त्र छन्। यसलाई दुई भागमा विभाजित गरिएको छ।
पहिलो कृष्ण यजुर्वेद पुस्तक (सबैभन्दा पुरानो) र दोस्रो, शुक्ल यजुर्वेद पुस्तक छन्। यजुर्वेदमा सुरुमा १ सय २ शाखा थिए (कृष्णका लागि ८५, शुक्लका लागि १७) कृष्णमध्ये ४ र शुक्लका २ वटा विद्यमान छन्। यो अनुष्ठान र बलिदानमा समर्पित पुस्तिका हो। कृष्णमा तैत्तिरिया र कथा उपनिषदहरू छन् भने शुक्लमा ईशा र बृहदारण्यक उपनिषद्हरू छन्।
तेस्रो सामवेद हो। यसमा पूर्वार्चिका, ४ भाग (स्कन्द) मिलेर बनेको, जसमा ५ सय ८५ मन्त्र छन् भने उत्तरार्चिका, २१ भागहरू (स्कन्द) मिलेर बनेको छ, जसमा ९ सय ६४ मन्त्र छन्। कुल १ हजार ५ सय ४९ मन्त्रमध्ये ७५ बाहेक सबै ऋग्वेदबाट आएका हुन्। सामवेदमा सुरुमा एक हजार शाखा थिए, जसमध्ये तीनमात्र आजपर्यन्त छन्। यसमा भजन, संगीत, शान्तिका लागि प्रार्थना समावेश छ। यसमा छान्दोग्य र केना उपनिषद् छन्।
चौथो अथर्व वेद हो। यसमा पूर्वाधा (पहिलो आधा), विभिन्न प्रवचनबाट बनेको र उत्तराद्र्ध (दोस्रो आधा), अनुष्ठान आदिको आलोचनात्मक प्रशंसा समावेश छ। अथर्ववेद चारवटा पुस्तकमा विभाजित छ। कुल २० अध्याय (स्कन्द) र ६ हजार ७७ मन्त्र छन्। यो सुरुमा ९ शाखा थिए, जसमध्ये आज दुई छन्। यसमा देवताहरूको भजन, सृष्टि कथाहरू, दुष्ट र शत्रुहरूबाट जोगाउने मन्त्रहरू, जादु र तन्त्रहरू छन्। अथर्व वेदमा कुल ९३ उपनिषद्हरू पाइन्छ, जसमध्ये प्रसिद्ध प्रस, मुण्डक र मण्डुक्य उपनिषद् छन्।
चार वेदका अलावा थप चार उपवेद (सहायक वेद) छन्। यिनीहरू स्मृतिका रूपमा आएका हुन्। यी मानव रचनाका माध्यमिक शास्त्रहरू हुन्। जसभित्र पहिलो ऋग्वेदसँग सम्बन्धित आयुर्वेद (जीवन र स्वास्थ्यको विज्ञान), दोस्रो यजुर्वेदसँग सम्बन्धित धनुर्वेद (सैन्य विज्ञान), तेस्रो सामवेदसँग सम्बन्धित गन्धर्ववेद (संगीत, नृत्य र कलाको विज्ञान) र चौथो अथर्व वेदसँग सम्बन्धित अर्थशास्त्र (राजनीति, अर्थ, यान्त्रिक र निर्माणको विज्ञान) समेटिएको छ।
अर्थशास्त्र धार्मिक माध्यमबाट धनजस्ता भौतिक वस्तुको प्राप्तिसँग सम्बन्धित छ। जसमा नीतिशास्त्र, शिल्पशास्त्र, ६४ कला र अन्य भौतिक र आधिभौतिक विषय समावेश छन्। परम्पराअनुसार वेदको अध्ययन गर्नुअघि यी ६ वेदांग (वेदका अंग) को ज्ञान हासिल गर्नुपर्छ। ती ६ मा शिक्षा, व्याकरण, निरुक्त, छन्द, ज्योतिष शास्त्र (ग्रह तथा खगोल अध्ययन) र कल्प पर्छन्।
वामकेश्वर तन्त्रका अनुसार वेद उपवेदबाहेक कला भनिने ६४ पुस्तक छन्। जसमा ६४ कला तथा पेसागत व्यवसायहरूका विभिन्न सूची छन्। कौटिल्य अर्थशास्त्र तथा चाणक्य नीति पनि महŒवपूर्ण ग्रन्थ सनातन शास्त्रभित्र समाविष्ट छन्। यज्ञ प्रदर्शनका लागि श्रौतकल्प, बलिदान क्षेत्रको लागि सुल्ब कल्प र नैतिकताका लागि धर्मकल्प ग्रन्थहरू छन्।
सनातन ग्रन्थ शास्त्रभित्र विभिन्न नियम संग्रृहीत छन्। सत्ययुगका लागि मनुस्मृति, द्वापर युगका लागि शंख–लिखिता धर्म सूत्र, त्रेतायुगका लागि याज्ञवल्क्य स्मृति र कलियुगका लागि परासर स्मृति उल्लेख गरिएको छ। यसका अलावा विभिन्न नियम गौतम धर्म सूत्र, आपस्तम्ब धर्म सूत्र, वशिष्ठ धर्म सूत्र, सौनाका धर्म सूत्र, विष्णु धर्म सूत्र, दक्ष धर्म सूत्र, सम्वर्त धर्म सूत्र, व्यास धर्म सूत्र, हरिता धर्म सूत्र, सततप धर्म सूत्र, यम धर्म सूत्र, देवला धर्म सूत्र, उसाना धर्म सूत्र, अत्रि धर्म सूत्र र गृह्य कल्पजस्ता घरेलु जीवनका लागि विधि समेटिएका छन्।
संस्कृतमा भएका ग्रन्थमध्ये सुहृत–संहिताहरू इतिहासको रूपमा विभिन्न चार महाकाव्य छन्। जसमा रामायण, महाभारत, हरिवंश र योग वशिष्ठ पर्छन्। यी महाकाव्यले वेदका रहस्यहरू खोल्ने र उपनिषद्हरूको सार समावेश गर्छन्। यिनीहरूले इतिहास, पुराणहरू, ज्योतिष, नीति, नैतिकता, जीवन विज्ञान, विज्ञान, चिकित्सा, दान र उदारताजस्ता व्यावहारिक ज्ञानको वर्णन गर्छन्। पवित्र कथा र इतिहासलाई समेट्ने सनातनी संस्कृत ग्रन्थभित्र पुराणहरू पर्छन्। जसले वेदका भित्री रहस्यहरूलाई उजागर गर्छन्।
परिभाषाअनुसार, पुराणहरूले पाँच विषय (पञ्च–लक्षण) सञ्चार गरेका हुन्छन्। ती पञ्च लक्षणभित्र इतिहास, ब्रह्माण्ड विज्ञान, माध्यमिक सिर्जना, राजपाठ र विश्व–चक्र समेटेका हुन्छन्। त्यहाँ १८ मुख्य पुराण र १८ वटै सहायक पुराण (उपपुराण) छन्। १८ मुख्य पुराणहरूमा प्रत्येक ६–६ पुराणको तीन समूहमा विभाजित छन्ः जसले सात्विक पुराणहरूमा भगवान् विष्णुको महिमा, राजसिक पुराणहरूमा भगवान् ब्रह्माको महिमा र तामसिक पुराणहरूमा भगवान् शिवको महिमा वर्णन गरिएको छ।
१८ मुख्य पुराणमा भागवत पुराण, विष्णु पुराण, नारद पुराण, गरुड (सुपर्ण) पुराण, पद्म पुराण, वराह पुराण, ब्रह्म पुराण, ब्रह्माण्ड पुराण, ब्रह्मवैवर्त पुराण, मार्कण्डेय पुराण, भविष्य पुराण, वामन पुराण, मत्स्य पुराण, कुर्म पुराण, लिंग पुराण, शिव पुराण, स्कन्द पुराण र अग्नि पुराण छन्। उपपुराणहरूमा सनतकुमार, नरसिंह, बृहन्नारदिया, शिवरहस्य, दुर्वाशा, कपिला, वामन, भार्गव, वरुण, कालिका, साम्बा, नन्दी, सूर्य, परासर, वशिष्ठ, देवी–भागवत, गणेश र हम्सा पर्छन्। यसका अलावा भगवान् शिवको महिमा गर्ने चारवटा तमिल पुराण शिव पुराण, पेरिया पुराण, शिव पराक्रम र तिरुविलयादल पुराण पनि छन्।
संस्कृतमा भएका अन्य ग्रन्थमध्ये आगम (ईश्वरीय उपासनाको विधि) पर्छन्। तिनीहरूले पूजाको चारवटा विधि ज्ञान, योग, क्रिया र चार्यलाई अनुसरण गर्छन्। आगमहरूलाई तीन वर्गमा विभाजन गरिएको छ। वैष्णव आगम वा पञ्चरात्र आगम (विष्णुको पूजा), शैव अगम (शिवको उपासना) र शाक्त आगम वा (तन्त्र वा शक्तिको पूजा) यसभित्र पर्छन्। वैष्णव आगममा २ सय १५ अलग अलग संहिता छन् भने शैव अगम २८ वटा र शाक्त आगममा २७ तन्त्र छन्। प्रत्येक अगाममा उप–आगमहरू हुन्छन्।
वैदिक दर्शनभित्र षड्दर्शन अथवा वेदका कुनै पनि चिजलाई हेर्ने ६ वटा तरिका वा दर्शनहरू छन्। जसलाई उपवेदाङ पनि भनिन्छ। जसभित्र न्याय दर्शन, वैसेशिका (सृष्टिको भौतिक अभौतिक पक्ष) दर्शन, सांख्य (पुरुष र प्रकृतिको सम्बन्ध) दर्शन, पूर्व (कर्म अनुष्ठान मीमांशा सूत्रहरू) दर्शन, योग (आफैंभित्रको) अभ्यास, र उत्तरा (शारीरिक) मीमांशा तथा वेदान्तहरू पर्छन्।
संस्कृतका ग्रन्थहरूका वेदान्तमा आफैंलाई सत्यको अनुभूति गराउने अत्यन्तै महŒवपूर्ण अतिरिक्त ग्रन्थहरूमा उपनिषद्हरू पर्छन्। वेदहरूको सम्पूर्ण दर्शन प्राप्त गर्नुपूर्व उपनिषद्हरूको राम्रो ज्ञान आवश्यक पर्छ। हालसम्म १ सय ८ आधिकारिक उपनिषद् छन्। सम्पूर्ण उपनिषद् यति महŒवपूर्ण छन् कि भगवद् गीता महाभारतभित्रको भीष्म पर्वको पनि अंश हो, जसलाई एक उपनिषद्को रूपमा लिइन्छ।
अन्य आचरण (धर्मशास्त्र)मा विभिन्न गीता पर्छन्। गीताभित्र श्रीमद्भगवद् गीता, अष्टावक्र गीता, अनु गीता, अवधुत गीता, राम गीता, पिंगला गीता, ईश्वर गीता, हरि गीता, ब्रह्म गीता, भिक्षु गीता, हरिता गीता, उत्तर गीता, पाण्डव गीता, परासर गीता, मनकी गीता, कपिला गीता, गणेश गीता, देवी गीता, हम्सा गीता, ब्राह्मण गीता, बोध गीता, रमण गीता, शिव गीता, शिव सम्पक गीता, सूर्य गीता, सुत गीता, वृत्त गीत, यम गीता, उत्तर गीता, व्यास गीता, विकिख्यु गीता तथा उद्धव गीता रहेका छन्।
शाण्डिल्य भक्ति सूत्र, नारद भक्ति सूत्र, देवी महात्म्यम, चण्डी वा दुर्गा शप्तसती, श्री चक्र, सौन्दराय लहरी, शाक्त उपनिषद, अध्यात्म रामायण, त्रिपुरा रहस्य, तुलसीदासको रामायण, बुद्धि कथा (सुभाषित), शताब्दी श्लोक सुभाषिता–रत्न–भण्डार, कथा–सरित–सागर, बृहत्–कथा–मञ्जरी, पञ्चतन्त्र, हितोपदेशलगायत अनगिन्ती कविता (काव्य)हरू, नाटक (नाटक)हरू, अलंकारहरूलगायतका सहस्र ज्ञानको असीम भण्डार संस्कृत भाषाभित्र लुकेर बसेका छन्।
दक्षिण एसियाली अध्ययता युरोपियन महान् दार्शनिक डा. म्याक्स मुलरको भनाइ सापटी लिनु सान्दर्भिक हुन्छ– सनातन धर्म (अनन्त धर्म) कुनै प्रतिस्पर्धाबिना नै ‘धर्म शास्त्रको विश्व च्याम्पियन हो’ किनकि संस्कृत भाषाका सनातनी ग्रन्थहरूमा १८ विधामा फैलिएका ज्ञान भण्डारका दायरा र गहिराइ कुनै पनि अन्य भाषा, धर्मशास्त्र र सभ्यतासँग अतुलनीय छ। उनी थप्छन्, यदि मलाई कसैले मानव बुद्धिको सबैभन्दा गहिरो विकास भएको क्षेत्रको बारेमा सोधपुछ गर्छ भने मेरो जवाफ यो विशाल आकाशमुनि मानव दिमागले सबैभन्दा उत्तम र अद्वितीय उपहारहरू पूर्ण रूपमा विकास गरेको छ। जीवनको सबैभन्दा ठूलो समस्याहरूमा गहिरो रूपमा सोचेको छ। दिगो समाधान फेला पारेको छ; जुन प्लेटो र केन्टका समेत अध्ययन स्रोत बने। त्यो हो भारतीय प्रायद्वीपको संस्कृत भाषामा लेखिएका ग्रन्थहरू।
यहाँ हामीले बुझ्नुपर्ने मुख्य कुरा के छ भने भारत भन्नाले १५ अगस्ट १९४७ मा स्थापना भएको भारत होइन; पश्चिममा इरानको हिन्दुकुशबाट पूर्वमा चीनको सिचुवान प्रान्तसम्म फैलिएको हिमालयको दक्षिण हिन्द महासागरसम्म फैलिएको समस्त भूभागलाई बुझ्नुपर्छ किनकि अहिलेको भारतको स्थापना हुनुभन्दा ४७ बर्ष पहिला नै स्वर्गवासी मुलरले ऊबेला भारत शब्द प्रयोग गरेका थिए समग्र क्षेत्रलाई लक्षित गरेर। अझ उनी थप्छन्, युरोपमा हामीले मुख्यतया ग्रिक, रोमानी र यहुदी परम्पराको दर्शनमा पोषित गरेका साहित्य र दर्शनबाट हाम्रो वर्तमान जीवनलाई थप पूर्ण, समावेशी, र प्रमाणिक रूपमा मानव बनाउँदै सबैभन्दा समृद्ध सुधारात्मक रहेको फेला पार्न सक्छौं। तर हाम्रो मानव जीवन, समग्र प्राणीजगत् र यो धरती वर्तमानमा मात्र सीमित छैन, अनन्त कालसम्म जीवन्त रहनुपर्छ।
सबै तथ्यले के पुष्टि गर्छ भने हामीले संस्कृत भाषाको महत्तव बुझ्न नसक्नु हाम्रो पुस्ताको ठूलो भूल हुनेछ भने पुस्तौं पुस्ताका निम्ति ठूलो क्षति हुनेछ। संस्कृत भाषा र ग्रन्थहरूले पनि सबै कुरा पूरा गर्छन् भन्ने बिल्कुल होइन। विश्व समाजलाई संस्कृत भाषा र वैदिक ग्रन्थमा भएका समाजोपयोगी गुणहरूले विश्व समाज निर्माण गर्न सक्यौं भने नेपाली समाजको विश्व सभ्यतामा दमदार उपस्थिति हुनेछ।
हाम्रो जीवनको भित्री रहस्यलाई अझ उत्तम, अधिक व्यापक, अधिक विश्वव्यापी, वास्तवमा अझ साँच्चै यो मानव जीवनका लागिमात्र होइन, तर रूपान्तरित र अनन्त जीवन बनाउन सबैभन्दा विशिष्ट ज्ञान चाहिन्छ। फेरि पनि यसको उत्तर र समाधान त्यतैतर्फ लैजान्छु– भारतीय प्रायद्वीपको संस्कृत भाषामा लेखिएका ग्रन्थहरू। मुलरले सन् १८४३ मा नै विद्यावारिधि गरिसकेका थिए भने संस्कृत भाषा र ग्रन्थहरूभित्र लुकेका अथाह ज्ञानको पहिचान गरेका थिए तर पहिचान गर्न सकेका छैनौं।
सन् २०१५ मा स्नायु विज्ञ (न्युरोलजिस्ट) डा. जेम्स फ्रान्सिस हार्टजेलको आठजनाको समूहले अत्यन्तै महŒवपूर्ण खोज ‘भाषा प्रशोधनमा संलग्न हुने हाम्रो दिमागको हिप्पोक्याम्पल र पाश्र्व–टेम्पोरल क्षेत्रहरूको संरचनात्मक बनावट र मौखिक उच्चरणको संस्मरण शक्तिसँग सम्बन्धित छ कि छैन’ विषयमा अनुसन्धान गरे। भाषा, दिमागको विकास र संस्मरण शक्तिको सम्बन्ध निर्धारण गर्न एउटा संस्कृत वाचक समूहको गहन अध्ययन गरे। तिनीहरूको अध्ययन प्राचीन र सावधानीपूर्वक संरचित वैदिक परम्परालाई कायम राखेको शिक्षामा संस्कृत भाषाका ग्रन्थहरू मौखिक वाचन गरी कण्ठ गर्ने र सुनाउनेमा केन्द्रित गरिएको थियो। भारतका व्यावसायिक वैदिक संस्कृत पण्डितहरूले बाल्यकालदेखि नै १० वर्षसम्म पुरातन परम्परामा आधारित ४० हजारदेखि एक लाख शब्दहरूको श्लोकहरू मौखिक संस्कृत पाठ सहजै कण्ठ गर्न सक्ने अद्भुत अभ्यस्त पाठकको सटिक उच्चारण र अपरिवर्तनीय सामग्रीमा निपुणता हासिल गरेको तथ्यहरू फेला पारेका छन्। उनीहरू आफ्नो अनुसन्धान रिपोर्टमा लेख्छन् कि हामीले हाम्रो दिमागको मिल्दो नियन्त्रणको सापेक्ष खैरो पदार्थको घनत्व, कोर्टिकल मोटाइ, स्थानीय जिरिफिकेसन र सेतो पदार्थ संरचनाको संरचनात्मक विश्लेषण ग¥र्यौं।
हामीले पण्डितको दिमागमा भाषा, संस्मरण र दृश्य प्रणालीमा ठूलो ग्रे–पदार्थको घनत्व र कोर्टिकल मोटाइ बढेको भेट्टायौं जसमा द्विपक्षीय पाश्र्व टेम्पोरल कोर्टिस, अग्रगामी सिङ्गुुलेट कोर्टेक्स र हिप्पोक्याम्पल, लामो र छोटो अवधिको मेमोरीसँग सम्बन्धित क्षेत्रहरूको गम्भीर अध्ययन गरेका छौं। हिप्पोक्याम्पल मोर्फोमेट्रीमा भिन्नताहरू विशेषज्ञ स्थानिक नेभिगेटरहरू र राम्रो मौखिक काम गर्ने मेमोरी भएका व्यक्तिका लागि पहिले दस्तावेज गरिएका तŒवसँग पूर्णरूपमा मेल खान्छन्।
हाम्रा निष्कर्षहरूले संस्कृत भाषाको प्राचीन औपचारिक मौखिक ज्ञान प्रणालीहरू लागू गर्ने शिक्षा मस्तिष्क संगठनमा अद्वितीय अन्तरदृष्टि प्रदान गर्न सक्ने विशिष्ट क्षमता भएको र अत्यन्तै वैज्ञानिक रहेको प्रमाणित गरेको छ। डा. हर्डी पाञ्चोली आफ्नो ‘संस्कृत भाषाको वैज्ञानिक प्रभाव’ नामक अनुसन्धानको नतिजामा गहन खोज अनुसन्धानपश्चात् लेख्छिन् कि संस्कृत एक धेरै सटिक र वैज्ञानिक भाषा रहेछ। जसको व्याकरण प्रकृति अत्यन्तै वैज्ञानिक रहेछ अनि जसले आर्टिफिसियल इन्टेलिजेन्सको कोडिङ ढाँचालाई उजागर गर्छ। हिजोआज संस्कृत भाषा र सूचना प्रविधिको बीच ठूलो सहकार्य भइरहेछ। यसका लागि संस्कृत भाषामा धेरै सफ्टवेयर विकसित भएका र थप हुने क्रममा छन्।
संस्कृत भाषा अद्वितीय छ किनभने यसमा कम से कम शब्दहरूमा अर्थ प्रकट गर्ने सर्वोत्कृष्ट क्षमता छ। उच्चारण र शब्द ढाँचाहरू समरूपीय छन्, जसले सञ्चार समस्याहरू सहजै कम गर्छन्। यो अन्य भाषाभन्दा प्रारूप र ध्वनि कम्पनहरूबीचको नजिकको सम्बन्ध रहने क्षमता राख्छ। त्यसैले, अर्थ प्रस्ट बनाउने प्रक्रिया सजिलो हुनेछ। ‘ॐ’ को उच्चारण जपले मानव शरीरमा प्रभावकारी नतिजा दिएको कुरा विज्ञानले प्रमाणित गरेको छ; जसले शरीरको ऊर्जा स्तरलाई बढाउँछ र विश्वव्यापी ऊर्जासँग समाहित गर्छ।
यसैगरी, संस्कृत भाषाका अनगिन्ती मन्त्र तथा श्लोकहरू वाकस्पष्टता, मानव शरीर, मानव मस्तिष्क र कस्मिक ऊर्जालाई एकाकार गर्न सक्ने अद्भुत क्षमताहरू रहेको अनुसन्धानले देखाएको छ। संस्कृत भाषाको आफ्नै सुन्दरता, मिठास तथा प्रत्येक शब्द र वाक्यको कोमल प्रभावकारी अर्थ हुन्छ। स्नायु विज्ञान (न्युरो साइन्स) र संस्कृत भाषामा विभिन्न अनुसन्धान अध्ययनहरू भएका छन् जसले श्लोक जप गर्दा मानव मस्तिष्कमा सकारात्मक प्रभाव परेको देखाएको छ। यस अध्ययनले यी सबै कुरालाई संस्कृत भाषामा प्रयोग गरेर वास्तविक व्यावहारिक क्षेत्रमा लागू गर्दा त्यस्ता वैज्ञानिक प्रभावहरूलाई उजागर गरेको पाइयो। संस्कृत भाषा एक मात्र भाषा हो जसमा अन्य भाषाहरूले भन्दा धेरै वैज्ञानिक र ऊर्जाप्रदायक रहेको पाइन्छ।
‘ॐ’को उच्चारण जपले मानव शरीरमा प्रभावकारी नतिजा दिएको कुरा विज्ञानले प्रमाणित गरेको छ; जसले शरीरको ऊर्जा स्तरलाई बढाउँछ र विश्वव्यापी ऊर्जासँग समाहित गर्छ। संस्कृत भाषा अद्वितीय छ किनभने यसमा कम से कम शब्दहरूमा अर्थ प्रकट गर्ने सर्वोत्कृष्ट क्षमता छ।
सन् १९८५ मा नासाका वैज्ञानिक रिक ब्रिग्सले एउटा अनुसन्धानपत्र प्रकाशित गरेका थिए जसमा उनको तर्क थियो कि ३५ सय वर्ष पुरानो संस्कृत भाषा यसको कठोर व्याकरण नियमहरूको पालनाको कारण कृत्रिम बुद्धिमत्ता टेक्नोलोजी प्रोग्रामिङका लागि उत्तम निर्विकल्प रहेछ। कोलिन विलियम आफ्नो अनुसन्धान आर्टिकल ‘एक्सप्लोरेसन इन क्वान्टम कम्प्युटिङ’को रिपोर्टमा लेख्छन् कि वर्तमान कम्प्युटर भाषा बाइनरी कोडमा आधारित छ जबकि संस्कृत दैवभाषा तीन प्यारामिटरसँग ट्राइनरी कोडबाट उत्पन्न भएछ। यसलाई सत, रज र तम वा शिव, शक्ति र नाद भनिन्छ जसले कम्प्युटर प्रणालीलाई उत्कृष्ट नतिजा निकाल्न प्रभावकारी बनाउने विशिष्ट क्षमता राख्छ।
यसैगरी तोम गोल्डेनवर्ग आफ्नो लेखमा व्यक्त गर्छन् कि अंग्रेजी व्याकरण लगभग दुई पृष्ठको छ र यसको वजन ५ पाउन्ड छ जबकि पाणिनीको व्याकरण सूत्रहरू यसको लगभग एक प्रतिशत अर्थात् लगभग २० पृष्ठमा मात्र सीमित छन्। अझ सूत्र र कवितात्मक प्रस्तुतिका कारण कण्ठ गर्न र सदाका लागि स्मरण गर्न सकिन्छ यद्यपि अंग्रेजीमा भन्दा अधिक नियमहरूलाई आबद्ध गर्न सम्भव बनाएका रहेछन्। डा. राजवली पाण्डे लेख्छन्– संस्कृत वा दैवभाषा विश्वमा एकमात्र यस्तो भाषा हो जसले ब्रह्माण्डको सृष्टिदेखि विनाश र फेरि सृष्टिसम्मको वेद, तंत्र, मंत्र, यन्त्र र तर्क ग्रन्थहरूले संरचनात्मक वर्णन गर्छन्; जुन कुरा आजसम्मको विज्ञानले काट्न सकेको छैन।
यी सबै तथ्यले के पुष्टि गर्छ भने हामीले संस्कृत भाषाको महŒव बुझ्न नसक्नु हाम्रो पुस्तको ठूलो भूल हुनेछ भने पुस्तौं पुस्ताका निम्ति ठूलो क्षति हुनेछ। आजको जमानामा कुनै एउटा चिज या भाषाले सबै आवश्यकता पूरा गर्छ भन्ने होइन। संस्कृत भाषा र ग्रन्थहरूले पनि सबै कुरा पूरा गर्छन् भन्ने विल्कुल होइन। विश्व समाजलाई संस्कृत भाषा र वैदिक ग्रन्थमा भएका समाजोपयोगी गुणहरूले विश्व समाज निर्माणमा कुनै एउटा दिवाल भर्न या छानो लगाउन मद्दत गर्न सक्यो भने हामी नेपाली समाजको विश्व सभ्यतामा एउटा दमदार परिस्थिति हुनेछ।
नेपाली समाजको पुस्ताको पृष्ठभूमि प्रत्यक्ष तथा परोक्ष रूपमा संस्कृत भाषा र वैदिक सभ्यताबाट विकसित भएको कुरामा विवाद गर्नु जरुरी छैन। संसारबाटै लोप हुन लागेको भाषा र ग्रन्थहरूलाई विश्व समाजले बडो महŒवको साथ खोजको विषय बनाएको छ। विश्व समाजका विविध आयाममा महŒवपूर्ण भूमिका खेलेको अनुसन्धानहरूले प्रमाणित गरेका छन् भने त्यसको नेतृत्व हामीले नै लिन पाउनु र सक्नु गौरव गर्नुपर्ने विषय हो। एक त तुलनात्मक रूपमा खोज्न, सिक्न, बोल्न, बुझ्न र लेख्न हामीलाई नै सजिलो हुन्छ र अर्काे पक्ष नेपालीका छुट्टै मौलिक पहिचान, संस्कृति र सभ्यतामा चट्टान झैं बलियो उपस्थिति विश्वसमाज निर्माणमा महŒवपूर्ण योगदान पुग्न सक्छ।
हाम्रै पूर्वजहरूका योगदान र विरासतलाई पुनरोत्थान र पुनर्जागरण गर्न हाम्रो शिक्षा विकास नीति र आधुनिक विज्ञान तथा प्रविधिसँगै जोडेर समस्त नेपालीलाई नै संस्कृत भाषा, सनातन ग्रन्थ र दर्शनले थप मजबुद बनाउन सकिन्छ। यस भाषाको ग्रन्थ र दर्शनलाई अपहेलना गर्नुभन्दा प्राथमिकतामा राख्दा नै घाटाभन्दा फाइदा बढी हुने देखिन्छ, सम्बन्धित निकायले समयमै गम्भीरताका साथ काम गर्नु श्रेष्यकर देखिन्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)