नेपालको पहिलो जित
काठमाडौं : नेपालले एटीएफ यू–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) को छाबमा बुधबार जित हात पारेको छ । चार राष्ट्र रहेको समूह ‘बी’ को लिग खेलमा नेपालले भुटानलाई ३–० को सोझो सेटमा पराजित गरी सान्त्वना जित हात पार्यो । यसअघि नेपाल श्रीलंका र पाकिस्तानसँग चुकेको थियो । यो नतिजासँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो सिंगल्समा नेपालका विश्वविशेष डल्लाकोटीले डुडु तेन्जिङलाई ६–०, ६–३ र निश्चल ज्ञवालीले पेल्थोप छिरिङलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे । डबल्समा नेपालका विश्व र साहनावाज आलमको जोडीले पेल्थोप र मिफाम छिरिङको जोडीलाई ६–०, ६–२ को सेटमा हराए ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको छात्रमै पाकिस्तानले श्रीलंका तथा भारतले बंगलादेशलाई समान ३–० ले पन्छाए । योसँगै छात्रमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारतको भेट श्रीलंकासँग हुनेछ भने पाकिस्तानले बंगलादेशको सामना गर्नेछ ।
छात्रामा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्यो । सिंगल्समा लियङ सानुथी वोङले नेपालीकी सारा पन्तलाई ६–०, ६–० र श्रीलंकाकी दाम्सिलुनी सहन्साले अनुश्री धोजुलाई ६–०, ६–१ को सोझो सेटमा पन्छाए । डबल्समा श्रीलंकाका लियङले हेवासाम पथिराजाको जोडीले अनुश्री र आयुशा जिसीको जोडीलाई ६–४, ६–३ को सेटमा पाखा लगाए । नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपाल बंगलादेश र भारतसँग पराजित भएको थियो ।